
काठमाडौँ — अमेरिकासँगको वार्तालाई लिएर इरान गम्भीर नरहेको आरोप अमेरिकी उपराष्ट्रपति जेडी भान्सले लगाएका छन् । १० बुँदे वार्ता प्रस्तावका तीन फरक भर्सन इरानले पठाएको उनले बताए ।
त्यसमध्ये पहिलो प्रस्ताव च्याट जीपिटीबाट लेखिएको हुनसक्ने आरोप लगाए । यसले वार्तामा दुविधा सिर्जना गरेको उनले बताए ।
‘पहिलो १० बुँदै प्रस्ताव च्याट जीपिटीबाट तयार गरेर पठाइएजस्तो हामीलाई लागेको छ । यो प्रस्ताव स्टिभ विटकोफ र जरेद कुश्नरलाई बुझाइएको थियो । हामीले प्राप्त हुनासाथ यसलाई रद्दीको टोकरीमा मिल्काइदियौं,’ उनले भने,‘ दोस्रो प्रस्ताव केही तर्कसंगत थियो । हिजो राष्ट्रपतिले ट्रुथमा यही प्रस्तावको उल्लेख गर्नुभएको हो ।’
तेस्रो संस्करणको प्रस्ताव पहिलोभन्दा पनि अतिवादी देखिएको उनले बताए । उनले यस प्रस्तावबारे आफुले सामाजिक सञ्जालबाट थाहा पाएको दाबी गरे ।
इजरायलले लेबनानमाथि गरेको आक्रमणलाई आधार मानेर इरानले युद्धविराम भंग गर्न नहुने उनले बताए ।
‘इरानीहरुलाई लेवनानमा पनि युद्धविराम भएको भन्ने लाग्यो । तर त्यो सत्य होइन । हामीले कुनै वाचा गरेका थिएनौं,’ हंगेरीबाट फर्कने क्रममा उनले भने ।
हंगेरीमा प्रधानमन्त्री भिक्टोर अर्बनको पक्षमा चुनावी सभामा समर्थन गर्नका लागि भान्स गएका थिए । ‘लेबनानको कारण देखाएर यो सहमतिलाई इरानले उल्लंघन गर्छ भने हामीले उनीहरुलाई केही भन्नु छैन ।
हामीले लेबनानको विषय युद्धविराममा छ भनेर कहिल्यै भनेनौं । त्यो अन्ततः उनीहरुको निर्णय हो,’ उनले भने ।
प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

प्रतिक्रिया