काठमाडौं । निखिल उप्रेती, निशा अधिकारी र वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको फिल्म ‘कस्तुरी’ को छायांकन टुंगिएको छ । छायांकन सुरु भएको ३५ दिनमा इन्ड-क्ल्याप भएको जनाइएको छ ।

निर्देशक ऋत बोहोराले गाउँका केही दृश्य र गीतबाहेकको फिल्म छायांकन सकिएको जनाए । काठमाडौं आसपासमा खिचिएको फिल्ममा रहस्य र अपराधका कथावस्तु समेटिएको छ । यो फिल्ममा ‘मिसन पैसा’ जोडी निखिल र निशालाई पनि देख्न सकिन्छ । डेढ दशकपछि यी दुईजना कलाकार एकसाथ पर्दामा देखिन लागेका हुन् । हालैको प्रतिनिधिसभा चुनाव सकिएलगत्तै निशा छायांकनमा पुगेकी थिइन् ।

फिल्ममा शेखर चापागाईं, निर्मल शर्मा, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बम्जन, मीरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतमको अभिनय छ ।

टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा फिल्म निर्माण भएको हो । निर्माता धीरज अग्रवाल हुन् । सह-निर्मातामा अञ्जली चौधरी छिन् । आलोक शुक्लाले खिचेको फिल्ममा प्रमुख सह-निर्देशकको रुपमा ललित विष्ट छन् । संगीत प्रशान्त शिवाकोटीको छ भने निर्माण व्यवस्थापन दिलीप पन्तले गरेका छन् । निर्देशक बोहोराले यस फिल्मको प्रदर्शन मिति केहि दिनपछि घोषणा गर्ने बताए ।

प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com