४-फागुन काठमाडौं इलामको रोङ गाउँपालिकामा रहेको पाथीभरा मन्दिरमा तीन वर्ष एक महिनामा ४ करोडभन्दा बढी भेटी र ८ तोला सुन संकलन भएको छ। सानो पाथीभरा मन्दिरको नामले परिचित यो मन्दिरमा भक्तजनले चडाएको भेटीबापत चार करोड ६४ लाख २५ हजार ७८२ रुपैयाँ भेटी संकलन भएको हो।
यस्तै, यो अवधिमा ८ तोला १२ आना १ लाल सुन पनि संकलन भएको रोङ गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोले जानकारी दिए । यस्तै, ३०७ तोला चाँदी, एक हजार ३७ केजी काँसको घण्टी, ५३२ केजी तामाको त्रिशूल, १०६ केजी तामाको लोटी, २९१ केजी तामाको दियो, १११ केजी तामाको माना-पाथी, २२ केजी पित्तलको थाली/प्लेट/बत्ती र २८ केजी झर्के थाल/लोटा संकलन भएको अध्यक्ष स्याङ्बोले बताए। १ फागुन ०७९ बाट रोङ गाउँपालिकाले पाथीभरा मन्दिरको सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ । पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ बनाएर गाउँपालिकाले यो मन्दिर सञ्चालन गर्दै आएको छ । उक्त मन्दिरबाट संकलन भएको भेटी गाउँपालिकाको आन्तरिक राजस्व खातामा जम्मा हुँदै आएको अध्यक्ष स्याङ्बोले बताए । उक्त आम्दानी र त्यसमा गाउँपालिकाबो बजेटबाट थप गरेर गाउँपालिकाबाट वार्षिक बजेट तथा कार्यक्रममार्फत पूर्वाधार, विकास र संरक्षणमा लगानी गर्दै आएको उनले बताए ।

रोङ गाउँपालिका
यो मन्दिर ०७९ अघि गैरसरकारी संस्थाबाट सञ्चालन हुँदै आएको थियो । उक्त समयमा मन्दिरबाट संकलन भएको भेटी अनियमितता भएको भन्दै रोङ गाउँपालिकाले प्रश्न उठाएको थियो । रोङ गाउँपालिकाले ताकेता गरेपछि त्यस समयमा जिल्ला प्रशासन कार्यालय इलामले छानबिन समिति गठन गरेको थियो । छानबिनको क्रममा ८८ लाख हिनामिना भएको प्रतिवेदन सार्वजनिक भएको थियो । उक्त प्रतिवेदनमा चित्त नबुझेको भन्दै पुरानो समितिले उच्च अदालत विराटनगर, इलाम इजालसमा रिट दायर गर्यो। उच्च अदालतले उक्त समितिलाई सफाइको मौका नदिई असुल उपरको ताकेता गरेको भन्दै रिट जारी गर्यो । त्यसपछि सफाइको प्रमाणको आधारमा पुनः प्रमाणलाई अध्ययन गरी हुन आउने रकम असुल गर्न अदालतले २७ साउनमा आदेश दिएको थियो । उक्त आदेशपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन समिति गठन गरी काम गरिरहेको छ।
प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार

प्रतिक्रिया