सम्भवतःदुइ दशक लामो समय देखि साहित्य सिर्जनामा सक्रिय लेखक-अन्जील सुब्बा “हिन्दुस्तानी”कालेबुङको सुदूर गाँउमा बसेर सिर्जनाकर्ममा लिप्त छन् र उनी गाँउ जस्तै खाँटी साहित्य सिर्जना गर्छन् उनको रचानहरु हिमालय दर्पण प्रयत्न मासिक युवा मञ्च रेडियो कञ्चनजङगा मेची एफःएम गरी राष्ट्रिय र अन्तराष्ट्रिय पत्रपत्रिका र रेडियो मार्फत प्रसारण र प्रकाशन भइसकेका छन् सम्पादक-विशाल नाल्बो
बस् मोबाईल भए पुग्छ
उहिले हामी बाल्यकालमा गुच्छा खेल्थ्यौं
डण्डीबियो खेल्थ्यौं
ढ्याप्ढ्यापे खेल्थ्यौं,खोपी खेल्थ्यौं,
ढुकुमुकु खेल्थ्यौं,चि मुसी चि खेल्थ्यौं।
भांड़ाकुटी खेल्थ्यौं,पौड़ी खेल्थ्यौं
अंगेरी टिप्थ्यौं,ऐंसेलु खान्थ्यौं
गढ़ेला,गंगटा पोलेर खान्थ्यौं।
जंगल पोथ्रामा चराको गुंढ़ हेर्थ्यौं,
घुंएत्रो हान्थ्यौं,क्याटिस बोक्थ्यौं।
अमिलो आरुसंग नुन चोबी खान्थ्यौं,
अमिलै अमला पानीसंग खान्थ्यौं।
भत्रासे दाना गोजीभरि बोक्थ्यौं
टर्रो फ्यांकुरे मीठो मानी टोक्थ्यौं
पाईपलाई गोलो पारी साईकल कुदाउंथ्यौं।
काठको एक चक्के गाड़ी बनाउंथ्यौं।
दियालीको दाना र दमाई दाना चुस्थ्यौं
फिस्टाको शिकार गर्नु झोंड़ीभित्र घुस्थ्यौं
माटोको भात र फटेंग्राको तिहुन पकाई बनभात खेल्थ्यौं
मान्द्रो जस्तो बेह्रिएर झार जंगल पेल्थ्यौं।
माचिस खोलको टेलिफोनमा बोल्थ्यौं
गाई बाख्रा चराउंदै रनबन डुल्थ्यौं
अम्बकको बोटमा लोथर्के छेक्थ्यौं
माईतबीरे पाखामा खरायो खेद्थ्यौं।
त्यो समय सम्झन्दा हर्षित हुन्छ मन
यस्तै थियो हाम्रो बालापन
अहिलेको बच्चाहरुलाई मोबाईल भए पुग्छ।
प्रकाशित मिति: २२ मंसिर २०८२, आइतबार

प्रतिक्रिया