बिनीता छेत्री
उसो त दार्जिलिङ कला साहित्यको उर्वर भूमि हो त्यहीँ उर्वर भूमिमा जन्मिएकी लेखक हुन् बिनीता छेत्री कविको रुपमा आफूलाई स्थापित गराएकी उनले सशक्त कथाकारको रुपमा पनि प्रसिद्धि कमाएकी छन्।मनको साइनो हिमफेदीका कथाहरु एक्लो लुङ्दर र भर्खरै प्रकाशित कोरस क्रमशः गरी चारवटा कृतिहरु उनले नेपाली साहित्यलाई सुम्पिसकेकी छन्।उनै प्रसिद्ध लेखक कवि सँग इ-सेवारोको निम्ति सम्पादक-विशाल नाल्बोले जीवन र साहित्य उप्पर रहेर गरेको संवाद अंश-
प्रश्न–खोलाले सागरलाई भेट्न दगुरे जसरी,मानिसको पनि यात्राको आफ्नै रफ्तार हुँदो हो?यो यात्राको रफ्तारमा जीवनदेखि कतिपटक तपाईले थकानको महसुश गर्नु भयो?वा भएन?
जवाफ-थकान त हुन्छ नै नि मानिसको जीवन हो कहिले शारीरिक त कहिले मानसिक थकान लाग्न स्वाभाविक हो बस थोरै बिसाएँ पछि फेरि उठेर हिँड्न सक्नु चाहिँ जीवन हो।
प्रश्न–मानिस सपनाको पछि पछि हिँडिरहन्छ,सपनाले कुनदिन साकर रुप दिन्छ वा दिँदैन त्यो कसैलाई थाहा हुँदैन,सपना देखेर यहाँ सम्म आइपुग्दा तपाईको जविनमा कुन,कुन सपनाले साकर रुप लियो होला?

बिनीता छेत्री
जवाफ-धेर थोर सपनाहरू थिए जो साकार भए अझ हुनेछ भन्ने सम्भावना छ।तर कतिपय सपनाहरू यस्ता पनि थिए जो सपना नै रहे र रहिरहनेछ,संधै जिउँदो सम्झना बनेर हरदम म भित्र।पूरा होस या न होस सपना देख्न चाहिँ छोड्नुहुन्न भन्ने लाग्छ मलाई।
प्रश्न–हामी यतिबेला बडो निठुर समयमा छौं निधक्क रुन समेत वातावरण छैन यहाँ,यस्तो बेला तपाईलाई अघात पर्यो भने आफ्नो निम्ति रुने समय कतिखेर छुट्याउनु हुन्छ?वा ढुङगा बन्नु हुन्छ?
जवाफ-सुन्दा अचम्म लाग्ला तर अरुले देख्दा म प्रायः ढुङ्गा नै देखिन्छु तरै पनि म भित्र एउटा कोमल मान्छे छ जसले तँ ढुङ्गा होइनस भनेर खबरदार गरिरहन्छ यद्यपि म रुन चाहिँ प्रायःएक्लैमा रुन्छु त्यसको साक्षी कि त एकदमै नजिकको मान्छे जसले मलाई चिनेको बुझेको छ उनीहरु हुन्छन् कि चाहिँ सिरानी।
प्रश्न–कविता लेखेर जीवन बाँच्दैन भन्ने समयमा छौं तर तपाई कवितै लेखिरहनु भएको छ,कविता भोक र जीवनको सम्बन्ध के कस्तो हो खासमा?
जवाफ-कलाकार,साहित्यकारको पनि पेट हुन्छ परिवार हुन्छ त्यो नकार्न सकिन्न तर पेटकै लागि लेख्ने भन्ने चाहिँ होइन।कला,साहित्य हाम्रो जीवनको सुन्दर पाटो मात्र न भएर दायित्व पनि हो यसको पारिश्रमिक पाउँछ भने त्यो गलत होइन बरु सुनमा सुगन्ध हो।

एक्लो लुङ्दर
प्रश्न–भर्खरै नयाँ कविताको कृति कोरस क्रमशःलिएर पाठक माझ उपस्थित हुनु हुन्छ,कविताको पुस्तक निकाली सकेपछि साँच्चीकै पाठक छैन रहेछ भन्ने महसुश गर्नु भयो कि?वा छ रहेछ भनेर ढुक्क हुनु भयो?
जवाफ-पाठक छ म छैन भन्दिनँ धेरैले फोन मार्फत कृति मगाउनु हुन्छ मलाई तर प्रश्न चाहिँ सर्जकले पाठकसम्म कसरी पुर्याउने भन्ने छ।यसमा पब्लिकेसन्स अथवा बजार ब्यवस्थापनको परिवन्ध राम्ररी मिलाउन सकेदेखिलाई अझ राम्रो हुनेथ्यो कि?
प्रश्न–यस बखत समग्रमा भन्ने हो भने नेपाली साहित्य कविता पढ्ने पाठकको अवस्था कस्तो छ?उत्साहजनक?वा निराशाजनक?
जवाफ-हेर्नुस,सोसेल मिडियाको जमना छ धेरै थोकहरु भुलेर हामी फोनमै ब्यस्त रहन्छौं हामीबाट थुप्रै थोकहरु छुटेर गए,छुट्दैछन ती मध्ये किताब पनि एउटा,त्यो चाहे जुनै बिधाको होस,तर निराशाजनक स्थितिमा पुगेका थोकहरूलाई संगालेर फेरि उत्साहजनक बनाउन किन सकिन्न र सकिन्छ नि,त्यसरी नै पठन योग्य कृतिहरू पाए पाठकले उत्साहपुर्वक पढ्छन् नै भन्ने बिश्वास छ मलाई कविता मात्र नभएर कथा,निबन्ध,उपन्यास जे पनि।
प्रश्न–तपाई त कविता सँग,सँगै कथा पनि लेख्नु हुन्छ,यस मानेमा तपाईको उपन्यास हामी पाठकले कहिले पढ्न पाउछौँ?
जवाफ-उपन्यास लेख्छु नै त म अहिले नै भनिहाल्न सक्दिनँ है लेखेछु भने भन्छु नि।कोशिस चाहिँ छ।
प्रश्न–जीवन बाँचेर यति व…..र सम्म आइपुग्दा तपाईको जीवनबाट के के छुटेर गए होला?जो तपाई कहिले नछुटोस् चाहनु हुन्थ्यो?

कोरस क्रमशः
जवाफ-जीवन परिवर्तनशिल छ न चहाँदा न चाहाँदै पनि धेरै थोकहरू छुटेर जान्छन्।न छुटोस लाग्दा लाग्दै पनि छुटेर जाने सम्बन्धहरूले चाहिँ दुखाउँछ।त्यहीँ माथि पनि कहिले न फर्कने गरि छुटेर जाने सम्बन्धहरू चाहिँ यति छिटै नछुटिदिए हुन्थ्यो भन्ने लाग्छ तर हाम्रो हातमा हुन्न।हामीले जसरी नि यथार्थलाई स्विकार्नै पर्छ।
प्रश्न–जरुर राजनीति देखि पर रहेर साहित्य बस्न सक्दैैन,उसले जहिल्यै खबरदारीको औंला उठाईरहन्छ,यो अर्थमा दार्जिलिङमा राजनीतिकर्मी र साहित्यकार बीचको सम्बन्ध र अवस्था कस्तो छ?
जवाफ-साहित्यले खबदारी,मार्गदर्शन साथै प्रोत्साहन यस्तै कामहरू गरेको उत्तम।कलम स्वतन्त्र हुनुपर्यो।साहित्य र राजनीति दुवैले सकारात्मक रूपमा तालमेल मिलाएर अघि बढन सके जातिको उत्थान हुन निश्चित छ।यसरी नै भाषा, चिनारी अनि अस्तित्वप्रति साहित्यकार,राजनीतिकर्मी सबै इमान्दार हुनुपर्ने हो।

बिनीता छेत्री
प्रश्न–तपाईको अत्यन्तै निकट र समकालीन कवि लेखक साथीहरुःसंध्या आचार्य ग्रेसी थुलुङ राई र कर्ण विरह बारे दुई,दूई शब्दमा व्याख्या गर्नुहोस न वहाँहरु कस्ता स्वभावको मानिस र कस्ता कवि लेखक हुन्?
जवाफ-उहाँहरू राम्रा साहित्यकार साथै राम्रा ब्याक्तित्वहरू हुन अनि मेरो मिलनसार साथीहरू पनि हुन।
प्रकाशित मिति: १९ मंसिर २०८२, बिहिबार

प्रतिक्रिया