१७ मंसिर, काठमाडौं ।नलिञ्चोक हेलिप्याड निर्माणको क्रममा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी र निर्देशक मुरारी भण्डारी दुई दिन हिरासतमै रहने भएका छन् ।
उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको थियो । आज समय अभावका कारण इजलासकै आदेश अनुसार उनीहरूलाई हिरासतमा राखिने विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए ।उनका अनुसार, अब शुक्रबार मात्रै उनीहरूको बयान र थुनछेक बहस हुनेछ । ‘आज ढिलोगरी अभियोगपत्र दायर भएको हुनाले उहाँहरूको बयान तथा थुनछेक गर्ने कार्य समय अभावले नभ्याइने हुँदा पर्सि शुक्रबारमात्रै हुनेछ,’ उनले भने ।
उनका अनुसार महानिर्देशक अधिकारी र निर्देशक भण्डारीलाई बुधबार आरोपपत्रसहित अदालत उपस्थित गराइएको थियो । अख्तियारले उनीहरू दुई जनासहित अन्य पाँच जनाविरुद्ध अख्तियारमा मुद्दा दायर गरेको छ ।अन्य पाँच जनाको हकमा भने अदालतबाटै म्याद जारी गरि कानुन बमोजिम गरिपाउँ भनी आरोपपत्र तयार भएको उनले जानकारी दिए।
‘इजलासको आदेशले नै अख्तियारले नै हिरासतमा राख्छ । शुक्रबार उहाँहरूलाई उपस्थित गराएर बयान तथा थुनछेक बहस हुन्छ,’ प्रवक्ता लामिछानेले भने।
भक्तपुरको नलिञ्चोक हेलिप्याड निर्माणका क्रममा भएको अनियमिततालाई लिएर अख्तियारले उनीहरूविरुद्ध अभियोगपत्र दायर गरेको हो ।अधिकारी सहित क्यानका निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक निर्देशक सम्वृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, अभियन्त्र कन्सलटिङ प्रालि र सो प्रालिका प्रमुख विजय थापा, निजी इन्जिनियर गुरुदत्त अधिकारीलाई प्रतिवादी कायम गरिएको छ ।
कूल १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा बिगो कायम गरि मुद्दा दायर भएको उनले बताए ।भक्तपुरको नलिन्चोकमा हेलिप्याड बनाउँदा अनियमितता भएको विषयमा पनि उजुरी परेपछि अख्तियारले अनुसन्धान गरिरहेको थियो।
प्रकाशित मिति: १८ मंसिर २०८२, बुधबार

प्रतिक्रिया