काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीसँग सोमबार (मंसिर १) काठमाडौं उपत्यकाका पालिकाका मेयरहरूले छलफल गरे । उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग बालुवाटारमा गरिएको छलफलमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) उपस्थित भएनन् ।बैठकमा फोहोर व्यवस्थापनलगायत विषयमा छलफल गरिएको थियो । बालेन अनुपस्थित रहेका र उनी मेयर्स फोरमको बैठकमा उपस्थित नहुने गरेका एक मेयरले जानकारी दिए ।

“मेयर फोरमको बैठक र कार्यक्रममा उहाँ कहिल्यै पनि उपस्थित हुनु हुन्न । निर्वाचित भएपछि सुरुका एक/दुई बैठकबाहेक त्यसयताका बैठकमा उपस्थित हुँदैनन् । मेयर्स फोरमका अध्यक्षको फोन पनि उठाउँदैनन्,” ती मेयरले  भने ।मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनको नेतृत्वमा ०८० कात्तिक १४ गते ललितपुर महानगरपालिकामा बसेको बैठकमा बालेन आफूलाई बोल्न नदिएको भन्दै रिसाएर हिँडेका थिए ।त्यति बेला पनि फोहोर व्यवस्थापनका विषयमा छलफल गरिएको थियो । तर, बालेन केही बेरमै बाहिरिएका थिए । त्यसयता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको बैठकमा पनि बालेन अनुपस्थित थिए ।स्रोतका अनुसार, उनले प्रधानमन्त्री कार्कीलाई ‘जेनजी’ प्रदर्शनपछि मात्र तीनपटक एक्लै भेटिसकेका छन् । तर, सामूहिक छलफलमा गएनन् ।

प्रधानमन्त्रीसँग भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा क्षति पुगेको स्थानीय तहका संरचनाका विषयमा पनि छलफल गरिएको मेयर्स फोरमका सचिव एवं टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले जानकारी दिए ।“जेनजी प्रदर्शनका क्रममा क्षति भएका स्थानीय तहका संरचना, फोहोरमैला व्यवस्थापन, स्मार्ट लाइटलगायत सवालहरूमा छलफल भयो । मेयर फोरम आफैँले काम त गर्ने होइन, तर सरकारलाई दबाब दिने हो,” उनले भने ।

मेयरहरूले उपत्यकाको विकासका निम्ति राखेका माग वर्तमान अन्तरिम सरकारले पूरा गर्न नसक्ने प्रधानमन्त्री कार्कीले बताइन् । आउँदो चुनावपछिको नयाँ सरकारसमक्ष माग राख्न उनले मेयरहरूलाई आग्रह गरेकी थिइन् ।तोडफोड, लुटपाट र आगजनीजस्ता आपराधिक गतिविधि गर्नेहरूलाई सरकारले कारबाही गर्न नसकेको विषयमा पनि मेयरहरूले प्रश्न गरेका थियौँ । यस विषयमा सरकारको कारबाही फितलो भएको विषय पनि उठेको थियो,” अधिकारीले भने ।

प्रकाशित मिति: ३ मंसिर २०८२, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com