समिक्षक रोशन परयिार।

अविराम रुपमा कविताकर्म गरेर अक्ला उचाइँ बनाएका कवि हुन् रोशन परियार।उनी आफ्ना कविताहरुमा शब्दहरुलाई बढो माया गरेर अक्षरले स्पर्श गर्छन्।यस हिसाबमा उनी हृदयमा बस्ने कवि हुन्।

पहिचानको सवाललाई आफ्ना कविताहरुमा बिशेष ठाँउ दिएर लेख्ने कवि हुन् इन्दु नेपाल योन्जन।यस मानेमा उनी पहिचानवादी कवि हुन्।हाराहारी तीन दशक लामो कविता साधनामा सक्रिय रहेपछि यसपटक उनी पाठकको अदालतमा पहिलो कविता कृति अन्तिम सेलो लिएर उपस्थित छन्।

यौटा कविले अर्का कविको किताबलाई समिक्षात्मक आँखाले यसरी हेरेका छन्।सम्पादक विशाल नाल्बो

म भएर नै

तिमीलाई

तिमी मेरो हुने गरी

प्रेम गर्छु।

प्रेमिल हरफ

यी नै प्रेमिल हरफबाट अन्तिम सेलो कविता सङ्ग्रहको ढोका खोल्छु म।

अत्यन्तै कोमल शब्दहरूको पठनले गहिरो प्रेमभाव स्पर्श गर्न पाइन्छ प्रेम गर्छु कवितामा।

त्यस्तै सङ्खुवासभा जिल्लाको ग्रामीण परिवेशलाई कवितामा उतारेर मातृस्थान पहिचानको पक्षधर

कवितामा थेबा

बनी बलियो रूपमा उभिएका कवि योञ्जनको प्रिय थेबा शीर्षकको कविता पढिरहँदा प्रेमको वियोगान्त दृश्यले हृदयलाई निकै धारिलो पाराले रेट्न सक्नु कविताको शक्तिका रूपमा लिन्छु म।

उमेरको गणित

उमेरको गणितमा कैयौँ वर्षहरूले अनेकौँ रूप देखाएर जान्छन्।

कवि इन्दु नेपाल योन्जन

यसै क्रममा कहिले प्राकृतिक प्रकोप,भुँइचालो, महामारी जस्ता विपद्ले कष्टकर एवम् दर्दनाक चोट दिएर जाँदा पनि बाआमाले भोगेका अनगिन्ती यातनाहरू कहिल्यै बगाउन नसकेको धमिलो यथार्थलाई कविले तक्मारे खोलाको वियोगान्त कथा शीर्षकको कवितामा भाषिक पहिचानलाई समेत दरिलो आधार बनाएर लेखेको कविताले निकै मन जित्यो।

पहिचान

आफ्नो जातीय पहिचान,सांस्कृतिक पहिचानको जगमा उभिएर आफू हुनुको पहिचानलाई अनुत्पादक प्रश्न शीर्षकको कवितामार्फत राज्यसँग गरिएको प्रश्न र खोजिएको उत्तरका लागि मलाई सहमत गरायो कविताले।

गाउँ र यसको सौन्दर्य

आफ्नो गाउँ र यसको सौन्दर्य वर्णनमा अलिकति पनि लोभ नगरी कोक्सा कवितामा गरिएको आफ्नो माटोप्रतिको अनुपम मोहलाई कवि योञ्जनले शिल्पी ढङ्गले कवितामा उतार्नु उहाँको काव्यिक उचाइको नमुना लाग्यो।

देशको विषयलाई केन्द्रमा राखेर यसको वर्तमान र भविष्यमाथिको चिन्तालाई कविले बाटो  एकु शीर्षकको कवितामा निकै गहिरो तरिकाले उठान गरेको पाइन्छ।

एउटी आमा

एउटी आमाले आफ्नो नाबालक सन्तानलाई गर्ने प्रेम र उसको मृत्युको भयले रन्थनिएको मथिङ्गलबाट अभिव्यक्त भएका कारुणीक शब्दहरूलाई एक डाक्टरको सामुन्ने आँचल फिँजाएर आफ्नो बच्चाको प्राणको भिख मागिरेको हृदयविदारक घटनालाई प्रश्नको वाणु शीर्षकको कवितामा सचित्र देखाउन सक्ने कविको खुबीलाई बहुत प्रेम छ। यस कविताले आँखा भिजाएको पनि सत्य हो।

वैदेशिक रोजगारको बाटो

राजनीतिक,सामाजिक तथा आर्थिक हिसाबले पनि वैदेशिक रोजगारको बाटो रोज्न बाध्य भएसँगै गाउँमा घट्ने घटनाहरूमा युवाहरूको उपस्थिति न्यून रहेको र हाम्रा संस्कार संस्कृतिहरूमा प्रत्यक्ष प्रभाव परिरहेको वास्तविकतालाई पनि मलामी शीर्षकको कवितामा अहिलेको सामाजिक सञ्जालको परिदृश्यसमेत समेटेर मानवीय संवेदनालाई जोगाउन आग्रह गरेको दृश्य देख्न सकिन्छ।

जनयुद्ध र स्कुल

जनयुद्धताका स्कुल पढ्दै गरेका विद्यार्थीहरूलाई राजनीतिमा आवद्ध गराएसँगै आन्दोलन सफल भइसकेपछि उनीहरूको खोजखबर नगरिनु र जनयुद्धलाई दिवसका रुपमा मात्रै मनाइरहँदा ती योद्धाहरूको घाउमा नुनचुक छर्किएको कहालिलाग्दो घटनालाई दिवस मात्र सम्झन्छन् शीर्षकको कवितामा पढ्दा मन भक्कानिन्छ।

अन्तिम सेलो

जिन्दगी र समयबिचको अन्तरसम्बन्धलाई नजिकबाट बुझ्नलाई समय शीर्षकको कविता पर्याप्त लाग्यो । यस कवितामा छोटो लेखनले लामो अर्थबोध गराउन सफल छ।

आमा र निक्खर सेतो फूल

आमा र निक्खर सेतो फूल शीर्षकको कवितामा मेरा शब्दहरू अपुग रहने छन्। जसलाई हृदयले बुझ्छ।

आँखा बेस्सरी रुन्छ। मनमा छटपटी हुन्छ। हातबाट भर्खरै आमा छुटेझैँ हुन्छ। एक हिसाबले आमा सम्झिनलाई यो कविता नै काफी लाग्यो।

कवि इन्दु नेपाल योन्जन

यो कविता कविले लेखिरहँदा सायद आँशुको मसी भरेर मनको कलमले मुटुको पानामाथि लेखेको महसुस भयो मलाई। जसले दीर्धकालीन असर गरिरहने छ।

नेपाली कविताको आकाशमा एउटा चम्किलो तारा अन्तिम सेलो दिनु भएकोमा हार्दिक बधाई छ आदरणीय कवि इन्दु नेपाल योञ्जनज्यूलाई।

प्रकाशित मिति: १२ कार्तिक २०८२, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com