काठमाडौं ।

हमासबाट बन्धक बनाइएकाको परिचय दिने क्रममा इजरायली विदेश मन्त्रालयले हालै नेपाली युवा विपिन जोशीलाई ‘अमच्योर्ड र्‍यापर’को रुपमा चिनाएको थियो ।

प्रसिद्ध अमेरिकी अखबार वालस्ट्रिट जर्नलले विपिनलाई र्‍याप गायन सिक्दै गरेका युवाको रुपमा उल्लेख गरेको थियो ।

सोमबार विपिनको शव नेपाल ल्याइएर मंगलबार महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । उनको शवसँगै उनका लुगा, कापीकिताब र अन्य प्रयोग गर्ने सामग्री पनि ल्याइएको थियो । त्यहाँ उनको नीलो रङको गितार पनि थियो ।

महाकाली नदी किनारमा छरिएका उनका डायरीमा दैनिकी पनि लेखिएको छ जहाँ उनी बिहान पाँच बजे नै उठ्ने, गितार र संगीत सिक्ने लगायतका कुरा पनि उल्लेख छ । यी सबै तथ्य हेर्दा, संगीतमा विपिनको रुचि देख्न सकिन्छ ।

ती सबै सामानलाई महाकाली नदीमा बगाइएको छ । मंगलबार बिहान महाकाली नदी किनारको भुजेला घाटमा विपिनको अन्त्येष्टि गरिएको छ ।

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन त्यहाँ पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए ।

हमास लडाकु गाजा क्षेत्रबाट इजरायलमा प्रवेश गरी सन् २०२३ को अक्टुबर ७ मा आक्रमण गरेका थिए । सँगै अध्ययनरत १० नेपाली विद्यार्थीहरु मारिँदा विपिन अपहरणमा परेका थिए ।

तर इजरायल र हमासबीच हालै युद्धबिराम भएपछि बन्धकहरुको रिहाइ गर्ने क्रममा गत २८ असोजमा इजरायली सेनाले विपिनको सन् २०२३ तिरै हत्या पुष्टि भएको सूचना इजरायलस्थित नेपाली दूतावासलाई दिएको थियो ।

उनको शव सोमबार नेपाल ल्याइएको थियो । शवसँगै इजरायलले पठाएको फरेन्सिक रिपोर्टमा विपिनको टाउकोमा आतंककारीले हानेको गोली लागेर मृत्यु भएको उल्लेख छ ।

प्रकाशित मिति: ५ कार्तिक २०८२, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com