२ कात्तिक, काठमाडौं ।

नेपाली कांग्रेसका नेता तथा निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले सरकारसँग नडराउने बताएका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालले विदेश भागेको दाबी गरेकै भोलिपल्ट मंगलबार आफ्नो जलेको निवास परिसरमा पत्रकार सम्मेलन गरेर उनले सरकारसँग नडराउने बताएका हुन् । ‘सरकारले मलाई वारेन्ट काटेको छ र ? बाहिर जान रोक लगाएको छ र ?’ पूर्वमन्त्री खड्काले प्रश्न गरे, ‘म भागे भन्न मिल्छ ? झिनामसिना कुराले मलाई छुँदैन । म डराउँदिनँ ।’

उनले जेनजी आन्दोलनका क्रममा २४ भदौका दिन आफू घरमै रहेको पनि जानकारी दिए । उनले घरमा पुगेका आन्दोनलकारीले ढोकामा हान्न थालेपछि आफूले खाना नै खान नपाएको गुनासो गरे ।

‘आर्मीहरूले सुरक्षित गरेर संरक्षण गरेको हो । २४ गते म घरमै थिएँ । खाना खाँदै थिएँ’, खड्काले भने, ‘मेरो घरमा आगजनी हुँदै गर्दा ढोका ढ्याङ-ढ्याङ गरेपछि खान पनि पाइनँ, बच्चालाई पनि खुवाउन पाइनँ । अंगरक्षक साथीहरुले बाहिर निकाल्नुभयो ।’

पूर्वमन्त्री खड्काले घरबाट निस्किएर छिमेकीमा बसेको र राति नेपाली सेनाको ब्यारेकमा बसेको पनि जानकारी दिए । ‘म छिमेकीकोमा बसें । राति त्यहाँबाट निस्किएर आर्मी क्याम्पमा बसियो’, उनले भने, ‘त्यसपछि तराईतिर तीन-चार दिन बसेँ ।’

खड्काले तराईबाट आफू सोझै उपचारका लागि भारत गएको पनि बताए । ‘बिरामी भएपछि उपचारका लागि भारतमा गएँ । डेँगु भएछ । त्यहाँ केही मन्त्रीहरुसँग भेटघाट भयो’, उनले भने । बच्चा, श्रीमती र आफू बिरामी भएको खड्काको भनाइ छ ।

उनले अहिलेको सरकारका विषमा टिका-टिप्पणी नगर्ने पनि बताए । ‘अहिले सरकारले निर्वाचन घोषणा गरेको छ, मुलुक सम्हाल्ने दायित्व हो । यो सरकारको विषयमा टिकाटिप्पणी छैन’, खड्काले भने, ‘परिस्थितिजन्य सिर्जित सरकारको हो । यो मुलुकको जिम्मा राजनीतिक दलहरुले, समाजमा रहेका नागरिकहरुले लिनुपर्छ ।’

प्रकाशित मिति: ४ कार्तिक २०८२, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com