२६ असोज,

काठमाडौं । नेपाली किसानहरुले मखमली फूलको मालाको उचित मूल्य नपाएको गुनासो गरेका छन् । साथै उनीहरुले मूल्य निर्धारण गरिदिन पनि माग गरेका छन् ।

भक्तपुर गुण्डुका किसान सहदेव बस्नेतले पछिल्लो वर्षमा परिश्रमअनुसार मालामा उचित मूल्य नपाएको बताए ।

पछिल्लो तीन/चार वर्षदेखि मालाको मूल्य क्रमशः ओरालो लागेको उनको भनाइ छ। ‘१० वर्ष अगाडिसम्म मालाको मूल्य प्रतिगोटा ३३ रुपैयाँसम्म थियो । तर हाल प्रतिगोटा १८ रुपैयाँदेखि २३ रुपैयाँसम्ममा माला बिक्री हुन्छ,’ उनले भने ।

गुण्डुकै किसान गंगा थापाको गुनासो पनि बस्नेतको जस्तै छ । उनले पनि दुःख गरेअनुसार मालाको उचित मूल्य नपाएको बताइन् ।

२० वर्षदेखि मखमलीको खेती गर्दै आएको बताउने थापाले भनिन्, ‘मूल्य नै नभएकाले मालामा खासै नाफा कमाउन सकिएन ।’

उनले मालाको मूल्य निर्धारण गरिदिन सरकारसँग माग पनि गरिन् । सरकारले दशैंमा खसी बोकाको भाउ निर्धारण गरेजस्तै तिहारमा मालाको भाउ पनि निर्धारण गर्नुपर्छ,’ उनले भनिन् ।

मखमली फूलको बीउ समेत गुणस्तरीय नभएको, किरा धेरै लाग्ने गरेको गुनासो पनि उनको छ ।

अर्की किसान निर्मला बस्नेतले गत वर्षको भन्दा यस वर्ष मालाको माग धेरै रहेको र व्यापारीहरु घरमै आएर किनेर लैजाने गरेको बताइन् । गत वर्ष दुई हजार वटा माला बेचेको बताउने उनले भनिन्, ‘यस वर्ष अहिलेसम्म १ हजार २ सय वटा माला बेचिसकेँ ।’

गुण्डुका राधा थापा र अनिता बस्नेतले मालाको निश्चित मूल्य निर्धारण नहुँदा विचौलियाहरुलाई मात्रै फाइदा भएको गुनासो गरे । उनीहरुको भनाइ छ, ‘विचौलियाका कारण किसानले उचित मूल्य नपाउने र उपभोक्ताहरु मंहगोमा पर्ने समस्या छ, सरकारले मूल्य निर्धारण गरिदिनुपर्छ’

प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com