आसाम
केही दिनदेखि, सम्पूर्ण आसाम एकजना गायकको मृत्युमा शोकमा डुबेको छ । इतिहासमा विरलै देखिने खालको यो ठुलो स्तरको शोकलाई आसामभन्दा बाहिरबाट इन्टरनेटमार्फत हेरिरहेकाहरूले अचम्म मानिरहेका हुन सक्छ । आखिर एकजना गायकप्रति यतिविधि सम्मान कसरी निम्तिन्छ ? त्यहाँको माहोल हेर्दा यस्तो लाग्छ, मानौँ कि प्रकृति स्वयं आफ्नो प्यारो सन्तान गुमाउनुमा शोक मनाइरहेकी छिन् ? जुबिन गर्ग पञ्चतत्वमा विलीन हुँदा किन एउटा पूरै राज्यले शोक मनाइरहेको छ त ? म यहाँ त्यसैको जवाफ दिँदै छु । म तपाईंलाई जुबिन गर्गबारे बताउन चाहन्छु, जो हाम्रा साथी थिए, हाम्रो छोरा थिए र साथमा थिए हाम्रो दादा ।
तपाईंले आँखा बन्द गरेपछि जब सारा संसार अँध्यारोले ढाकेको महसुस हुन्छ र अलिकति ध्यान केन्द्रित गर्नुभयो भने आफ्नो हृदयको धड्कनसमेत सुन्न सक्नुहुन्छ । हो, हामी आसामीहरू त्यस्तो वेला जुबिन दाको आवाज सुन्छौँ । हो, उनले गाएका ३८ हजार गीतमध्ये कुनै एक मनमा बज्न थाल्छ, जुन हामीसँग सीधै बोलिरहेझैँ गाइएका हुन्छन् । जुबिन दाका गीतमै हाम्रो जीवन चलिरहेको हुन्छ । मिल्ने जुबिन दाका गीतमा हामी आसामीको जीवनका हरेक घटना व्यक्त गर्न सकिन्छ ।
कसैप्रति आकर्षण भयो ? ‘कुन तुमी मेघाली ?’ भन्ने गीत छ । त्यस्तै प्रेम भयो ? ‘तिमी सुवा जेतिया दुसोकु तुली ।’ गीत छँदै छ । हृदय टुट्यो ? ‘रोड आजी केनी पाउ ?’ भन्दा उपयुक्त गीत कुन होला ? आफ्नो विश्वाससँग जोडिन चाहनेहरूलाई जुबिन दाको ‘बोर्गित’ छ । जनतासँग जोडिनका लागि ‘मुक्ति’ भन्ने गीत छ । डर लाग्यो ? ‘मोरिलोङ मोरिलोङ लागी जय’ जत्तिको उपयुक्त गीत कुन होला ? आफ्नो बाल्यकालप्रति नोस्टाल्जिया भयो ? ‘मोनोले उभोटी आहे लोराली ।’ छँदै छ । रोमान्टिक हुँदा ‘बोरोक्सुन’ र रिस उठ्दा ‘जोन्ट्रो’ भन्ने गीत उपलब्ध छ ।
आसामबाट टाढा रहेका हजारौँका लागि जुबिन आफ्नो जमिनसँगको धागो हुन् । उनी कुनै दुःस्वप्नबाट ब्युँझँदा हामीले खोज्ने सहज उपस्थितिजस्तै हुन् । अर्थात् उनमा हामी घर पाउँथ्यौँ । साथै, उनी हामीभित्रको लडाइँ पनि हुन्, अर्थात् धैर्य र शक्ति । उनी आफैँले धेरै व्यक्तिगत त्रासदी लडे, तर हामीलाई भने उनले जीवनका हाम्रा तमाम लडाइँका लागि बल प्रदान गरे । किनभने, उनले आफूले भोगेका आफ्ना पीडा, आफ्नो क्षति, आफ्ना हृदयविदारक घटनालाई धुनमा मिसाएर हामीलाई दिए ।
जब उनले आफ्नो सवर्ण जातिलाई सार्वजनिक रूपमा अस्वीकार गर्दै आफूलाई मानव, कलाकार भने, उनले सीमान्तकृतहरूको पक्षमा बोले । जब उनी ‘नागरिकता (संशोधन) ऐन’को विरोधमा भएको प्रदर्शनमा सामेल भए, उनी हाम्रा प्रतिनिधि बने । जब उनले जनावर, रुख र प्रकृतिका पक्षमा बोले, उनले आवाज नभएकाहरूको पक्षमा पनि कोही भएको सुनिश्चित गरे । यसक्रममा समाजले सेलिब्रेटीका लागि तोकेको शिष्टाचारका नियमसमेत उनले पालना गरेनन् । शक्तिहरूप्रतिको उनको अनादरले हामी आममानिसलाई पनि शक्तिसँग डराउनुपर्ने केही कारण नभएको विश्वास दिलायो ।
जुबिन दाले हाम्रो प्रेम र हृदय टुट्दाका भावना मात्र व्यक्त गरेनन्, उनले असफल प्रणाली र समाजप्रति हाम्रो निराशा र हतासलाई पनि व्यक्त गरे । वर्षौँ पहिले, उनको कलमबाट निस्किएका पंक्तिहरू आज पनि सान्दर्भिक छन् । जस्तो यही लाइन नै हेरौँ ः ‘ओन्धो क्षान्छो भोन्डो क्षाछोक, ओर्थो लुभोर नोग्नो जुजोत, जीवन मोरोनोर स्वप्नबाहोक, मोग्नो बिभुर ओन्दो क्षुखोत’ अर्थात् व्यक्तिगत सम्पन्नताको पछि लागेर जनताको पीडाप्रति बेखबर रहने शासक वर्गको आलोचना गर्नु हरेक पुस्ताको कर्तव्य हुन्छ ।
जुबिन दा एक सच्चा देशभक्त थिए । एक कमरेड, जसले आफ्ना मानिसलाई यति धेरै माया गर्थे कि आफ्ना मानिसबिच फर्किन उनले सपनाको सहर मुम्बई छोडे । उनको नाम जुबिन थियो, जसको अर्थ तरबार हुन्छ । तर, जुबिन दाले हाम्रो आफ्नै मनको तरबारलाई धारिलो बनाए । उनले हामीलाई महसुस गर्न र सोच्न प्रेरित गरे । आफूलाई भन्दा अरूका लागि महसुस गर्न र सोच्न । उनले हामीलाई उन्मुक्त मानिस बन्न सिकाए ।

आज र अझ सधैँका लागि जुबिन दा हामी आसामीका लागि हाम्रो बाँकी जीवनका लागि सास फेर्ने हावा बनेका छन् । यसैले गर्दा उनको आत्मा हामी सबै आसामीको हिस्सा बनेको छ । उनका शब्दहरू सधैँ हाम्रो शरीरका प्रत्येक अणुमा प्रतिध्वनित हुनेछन् । र, त्यसैले उनको बिदाइमा हामी शोकमा छौैँ । उनीसँगै हामी सबै थोरै मरेका छौँ ।
‘धुमुहार छोते तुर बोहु जुगोर नासुन एतिया छेछ, जुबिन दा, छान्तिर जुभ्रो रोंगोत जाते तोई छोदाई जिलिकी थाको । बिदाइ ।’ अर्थात् आँधीसँगको तिम्रो लडाइँ अन्ततः समाप्त भएको छ, जुबिन दा; हाम्रा लागि तिमी सधैँ शान्तिको सेतो प्रकाशमा चम्किरहेका हुनेछौ । बिदाइ !
(माद्री काकोटी आसामकी चर्चित व्यंग्यकार, भाषाविद् र शिक्षिका हुन्)
द वायरबाट
प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार

प्रतिक्रिया