काठमाडौँ – लिम्बू भाषाको चलचित्र ‘थेत्लङ’ अब युट्युबमार्फत हेर्न सकिने भएको छ। यसलाई ओपेरा इन्टरटेन्मेन्ट नेपालले आफ्नो आधिकारिक च्यानलमार्फत सार्वजनिक गरेको हो।

सन् १९९३ मा सिक्किमका साहित्यकार देउमान लिम्बू ‘होन्दोक’ द्वारा लिखित चर्चित उपन्यास थेत्लङ मा आधारित यो चलचित्र सन् २०१८ मा सिक्किमबाट निर्माण भएको पहिलो लिम्बू भाषाको फिल्म हो। गायक तथा संगीतकार मनि ताम्लिङले यसको निर्माण गरेका हुन्। उपन्यासलाई पटकथा र संवादमा रुपान्तरण गर्ने काम सागर केरुङले गरेका हुन् भने फिल्मको निर्देशन किशोर सुब्बाले गरेका हुन्।

लभस्टोरी शैलिको यो वियोगान्त फिल्ममा सागर केरुङ, दिलसिङ मेन्याङबो, यादन सेर्मा लगायतका कलाकारले अभिनय गरेका छन्। देउमान लिम्बू होन्दोकको गीतमा मनि ताम्लिङ, कुल्बा सुब्बा र राजु आङदेम्बेले संगीत भरेका छन्। स्वरमा मनु नेम्बाङ, मनि ताम्लिङ, सिता सिङगक, मिजिरा लिम्बू, राम दुखि आङदेम्बे, विष्णु चेम्जोङ र यादन सेर्माको योगदान रहेको छ।

छायांकनका लागि सिक्किमका हिमागाउँ, युमाङ थेगु, हिमाङहिमजस्ता ऐतिहासिक तथा पर्यटकीय स्थललाई रोजिएको छ। फिल्मको छायांकन तथा सम्पादन हेमन योन्जनले गरेका हुन् भने कलर करेक्सन किरणराज थापा, ब्याकग्राउण्ड म्युजिक मनि ताम्लिङ, र नृत्य निर्देशन दिनेश माङमुले सम्भालेका छन्। फिल्ममा बिशाल सेनेहाङ, दिब्या लिम्बू, सरन सावादेन, सुकवीर चोङ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ।

सिक्किम, नेपाल, हङकङ, युएई, कोरिया, दुबई, युके र अमेरिकालगायत विभिन्न मुलुकमा प्रदर्शन भइसकेपछि फिल्मलाई अहिले डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको हो। निर्माता मनि ताम्लिङका अनुसार थेत्लङको सफलतापछि उनी अर्को नेपाली चलचित्र निर्माणमा जुटिरहेका छन्।

लिम्बू संस्कृतिमा आधारित ‘मंगनी’ शीर्षकको नयाँ चलचित्रको स्क्रिप्ट लेखन कार्य भइरहेको र यसलाई आगामी डिसेम्बरदेखि सिक्किम तथा नेपालको विभिन्न स्थानमा छायांकन गरिने योजना रहेको बताइएको छ। यस फिल्मलाई अम्लारी फिल्म्स, सिक्किम र ओपेरा इन्टरटेन्मेन्ट नेपालले संयुक्त रूपमा निर्माण गर्नेछन्।

प्रकाशित मिति: ९ भदौ २०८२, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com