काठमाडौँ, साउन १७ – लिम्बु चलचित्रकर्मीहरूको प्रतिनिधित्व गर्ने ‘मुन्चइत्’ नामक स्मारिका शनिबार राजधानीको चुम्लुङहिममा विमोचन गरिएको छ। कार्यक्रम याक्थुङ मुन्चइत् चोक सयङ संघीय कार्यसमिति र नेवा: ताम्सालिङ प्रदेश समितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी नविन सुब्बा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। साथै, किरात याक्थुङ चुम्लुङ संघीय उपाध्यक्ष गोविन्द आङबुङ, मुन्धुमविद येहाङ लावती, नेपाल आदिवासी जनजाति चलचित्र महासंघका संघीय परिषद उपाध्यक्ष गुन्जा चौधरी, पूर्व अध्यक्ष प्रतिमाया पुन मगर, किरात राई चलचित्रकर्मी संघका महासचिव बबिन राई, मगर चलचित्रकर्मी संघका महासचिव एल.बी. मगर, बागमती प्रदेश अध्यक्ष रेशम तामाङ, नेपाल ग्रीस मैत्री तथा सांस्कृतिक संघ अध्यक्ष मनोज नेवा, नेपाली सेनाका पूर्व उपरथी होमकुमार लावती र होटल व्यवसायी संघ काठमाडौँ जिल्ला अध्यक्ष सुरेश बराल लगायत विशिष्ट व्यक्तिहरूको संयुक्त हस्ताक्षरमा स्मारिका विमोचन गरिएको हो।
२१६ पृष्ठ लामो यस स्मारिकामा निम्न विषयमा लेखहरू समावेश गरिएका छन्:

- प्रा.डा. लक्ष्मणप्रसाद गौतम – आख्यानको चलचित्रीकरण
- नविन सुब्बा – चलचित्रमा भाषा निर्माणको प्रश्न
- नीलकमल – लघु चलचित्र र वृत्तचित्रको उपादेयता
- सागर केरुङ – लिम्बु चलचित्र उद्योगको वर्तमान अवस्था
- गुरुङ सुशान्त – नेपालका आदिवासी चलचित्रको संक्षिप्त इतिहास
- कपिल पराजुली – डिजिटल सिनेमा क्यामेरा र कलरिस्टको भूमिकाबारे
- सुर्य प्रकाश चेम्जोङ – याक्थुङ मुन्चइत् चोक सयङ्को स्थापना
- सन्देश सुब्बा – याक्थुङ चलचित्र निर्माण र गतिविधि

स्मारिकामा विभिन्न समितिहरू — संघीय, प्रदेश, जिल्ला तथा अन्तर्राष्ट्रिय कार्यसमितिहरू (भारत सिक्किम, हङ्कङ), विषयगत समिति, मानार्थ तथा आजीवन सदस्यहरूको विवरणहरू पनि समेटिएको छ। साथै, याक्थुङ मुन्चइत् चोक सयङ्को विधान, चलचित्र दर्ता कार्यविधि, स्टोरी बैंक विनियम, र अक्षयकोष नियमावली समेत समावेश गरिएको स्मारिका सम्पादक तथा संघीय अध्यक्ष सागर केरुङले जानकारी दिए।
प्रकाशित मिति: १८ श्रावण २०८२, शनिबार

प्रतिक्रिया