मुक्कुमलुङ पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकार परियोजनाका ठेकेदार इन्द्र केदेम र उनका हतियारधारी सहयोगीहरूले सञ्चारकर्मीहरूमाथि भौतिक आक्रमण गरेका छन। रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उक्त घटनालाई खुलासा गरिएको हो। साथै सामाजिक सन्जालमा उपलब्ध भिडियोहरुमा पनि पत्रकार माथि हातपात गरेको स्पष्ट रुपमा देख्न सकिन्छ ।
‘नो केवलकार’ अभियानको समर्थनमा आयोजित शान्तिपूर्ण पदयात्रा र क्षमायाचना अनुष्ठान सम्पन्न भएको भोलिपल्ट, समाचार संकलनका लागि गएका पत्रकारहरूमाथि आक्रमण भएको बताइएको छ। महाकुलुङ मिडियाका क्यामेरा पर्सन रेगन राई र गोल्डेन टिभीका सम्पादक अनुप योङहाङ लिम्बूमाथि प्रहरीकै अगाडि केवलकार निर्माण पक्षले आक्रमण गरेको उल्लेख गरिएको छ।
मुक्कुमलुङ संरक्षण संघर्ष समितिकी अभियन्ता सरु सिङगकका अनुसार ठेकेदार इन्द्र केदेम र उनका सहयोगीहरूले प्रहरीकै सामु सञ्चारकर्मीहरूमाथि कुटपिट गरेका थिए। उनीहरूको क्यामेरा समेत खोसेर लगिएको छ। अभियन्ता सिङगकका अनुसार अनुप योङहाङलाई अपहरण गरेर लैजाँदै गर्दा प्रहरीले हस्तक्षेप गरी उद्धार गरेको थियो। सो क्रममा तीन जना सञ्चारकर्मी भाग्न सफल भएका थिए।
त्यस्तै, केवलकार निर्माण पक्षबाट तिनजुरे मिडियाका खेम देवान, इटहरी अनलाइनका बिक्रम लिम्बू, मानुसी मिडियाका चन्द्रमान राई, माङ्गेन्ना मिडियाका रिजन सिंह ठकुरी र दिलकुमार लावतीमाथि पनि गालीगलौज र धम्की दिईएको बताइएको छ। मुक्कुमलुङ ताङसेप चुम्भो तथा मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले दोषीहरूलाई तत्काल कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ।

प्रकाशित मिति: १० फाल्गुन २०८१, शनिबार

प्रतिक्रिया