भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४, तिमुरेका बासिन्दालाई तामाङ समाज (NSW) अष्ट्रेलियाले राहत रकम वितरण गरेको छ। समाजको तर्फबाट काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ गुम्बाको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बाढी प्रभावित १५३ घरपरिवारलाई प्रतिपरिवार २ हजार रुपैयाँका दरले कुल ३ लाख ६ हजार रुपैयाँ राहत रकम वितरण गरिएको हो।
बाढीका कारण प्रभावित भई विस्थापित जीवन बिताइरहेका परिवारलाई तत्कालीन राहतस्वरूप आर्थिक सहयोग उपलब्ध गराइएको समाजले जनाएको छ। राहत रकम संकलन तथा वितरण कार्यमा तामाङ समाज (NSW) अष्ट्रेलियाका अध्यक्ष ज्ञानक वाइबा, उपाध्यक्ष मोहन तामाङलगायत सम्पूर्ण पदाधिकारीहरूको महत्वपूर्ण योगदान रहेको थियो। त्यसैगरी, सहयोग अभियानमा उदार आर्थिक सहयोग प्रदान गर्ने नेपाल आदिवासी जनजाति मञ्च अष्ट्रेलियाप्रति पनि आभार व्यक्त गरिएको छ।

यस अभियानलाई सफल बनाउन विशेष भूमिका निर्वाह गर्ने समाजका सल्लाहकार अरुण के. तामाङलाई समेत धन्यवाद दिइएको छ। प्राकृतिक विपत्तिमा परेका नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले प्रवासमा रहेर पनि मातृभूमिका प्रभावित समुदायप्रति देखाइएको सहयोग र सद्भावले विपद्को समयमा मानवीय एकता र सामाजिक उत्तरदायित्वको महत्वपूर्ण सन्देश दिएको छ।
प्रकाशित मिति: १४ कार्तिक २०८३, शुक्रबार

प्रतिक्रिया