कार्यक्रममा बैरागी काइँलाले शिक्षा र ज्ञानको क्षेत्रमा समुदायबाट सुरु गरिएको यस्तो अभियानलाई महत्वपूर्ण पहलका रूपमा व्याख्या गरे। उनले पाङ्पत लिबाङ वंशको इतिहास, योगदान र गतिविधिलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्दै दस्तावेज निर्माण गर्ने प्रयासको पनि प्रशंसा गरे।

असोज १९, काठमाडौं । आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित केत्तकुम लिबाङ पाङ्पत सयङले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गरेको छ।

अनामनगरस्थित सिलौटो कटेजमा शनिबार आयोजित कार्यक्रममा सयङले अक्षयकोष स्थापनाको घोषणा गरेको हो। पाङ्पत लिबाङ वंशका सदस्यहरूको योगदानमा निर्माण गरिने अक्षयकोषलाई शिक्षा, अनुसन्धान र सीप विकासका क्षेत्रमा उपयोग गर्ने योजना अघि सारिएको छ।

सयङका अध्यक्ष लोकेश लिबाङका अनुसार आर्थिक अवस्था कमजोर भएका तर अध्ययनमा अब्बल विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहज वातावरण बनाउनु अक्षयकोषको मुख्य उद्देश्य हो। उनका अनुसार छात्रवृत्तिसँगै अनुसन्धान, सीपमूलक तालिम, पुस्तकालय तथा अध्ययन केन्द्र स्थापना र आवश्यक शैक्षिक स्रोतसाधनमा समेत कोषमार्फत सहयोग गरिनेछ।

कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा ल्याउने तीन विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो। ३.७० जीपीए प्राप्त गर्ने ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३, लिबाङकी श्रुती लिम्बू, ३.५० जीपीए ल्याउने सोही स्थानका कमल कुमार लिम्बू र ३.४० जीपीए प्राप्त गर्ने संखुवासभा चैनपुरकी वर्षा लिम्बू सम्मानित भएका हुन्।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा वरिष्ठ साहित्यकार **तिलविक्रम नेम्बाङ ‘बैरागी काइँला’**ले विद्यार्थीहरूलाई जनही १० हजार रुपैयाँ नगद, प्रशंसापत्र तथा दोसल्लासहित सम्मान गरे।

कार्यक्रममा बैरागी काइँलाले शिक्षा र ज्ञानको क्षेत्रमा समुदायबाट सुरु गरिएको यस्तो अभियानलाई महत्वपूर्ण पहलका रूपमा व्याख्या गरे। उनले पाङ्पत लिबाङ वंशको इतिहास, योगदान र गतिविधिलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्दै दस्तावेज निर्माण गर्ने प्रयासको पनि प्रशंसा गरे।

उनका अनुसार शिक्षा क्षेत्रमा लगानी गर्नु भनेको व्यक्तिको मात्र नभई समग्र समुदायको भविष्य निर्माण गर्नु हो। अक्षयकोष स्थापना र विद्यार्थी सम्मानले नयाँ पुस्तालाई अध्ययन तथा ज्ञानतर्फ अघि बढ्न प्रेरणा दिने उनले बताए।

यसै अवसरमा केत्तकुम लिबाङ पाङ्पत सयङको आधिकारिक वेबसाइटसमेत सार्वजनिक गरिएको छ। वेबसाइटमार्फत सयङको इतिहास, वंशीय विवरण, संस्थागत संरचना, गतिविधि तथा शैक्षिक अभियानलाई डिजिटल रूपमा अभिलेखीकरण गरिएको जनाइएको छ।

सयङले आगामी दिनमा अक्षयकोषको रकम थप विस्तार गर्दै नेपाल तथा विदेशमा रहेका पाङ्पत लिबाङ वंशका सदस्य, शुभेच्छुक र सहयोगीलाई अभियानमा सहभागी हुन आह्वान गरेको छ। अक्षयकोषलाई दीर्घकालीन रूपमा सञ्चालन गर्दै योग्य र आर्थिक रूपमा विपन्न विद्यार्थीको शिक्षामा निरन्तर सहयोग पुर्‍याउने सयङको लक्ष्य छ।

प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com