काठमाडौं — लिम्बु (याक्थुङ) समुदायका भाषा, संस्कृति, पहिचान तथा अधिकारसँग सम्बन्धित विषयलाई प्रभावकारी रूपमा उठाउन पत्रकार र विभिन्न लिम्बुजन्य संघ–संस्थाबीच सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिइएको छ।

लिम्बु पत्रकार संघ, उपत्यका समितिले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले समुदायका मुद्दालाई सञ्चारमाध्यममार्फत व्यापक बहसमा ल्याउन पत्रकार र संघ–संस्थाबीच निरन्तर संवाद तथा सहकार्य आवश्यक रहेको बताएका हुन्।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङका अध्यक्ष गोविन्द आङबुहाङले लिम्बु समुदायसँग सम्बन्धित विभिन्न संघ–संस्थाबीच सहकार्यलाई थप मजबुत बनाउनुपर्ने बताउनुभयो। उहाँले भाषा, संस्कृति र भूमि अधिकारका क्षेत्रमा अझै महत्वपूर्ण काम गर्न बाँकी रहेको उल्लेख गर्दै साझा प्रयासबाट मात्रै समुदायका सवाललाई प्रभावकारी रूपमा अघि बढाउन सकिने धारणा राख्नुभयो।

पछिल्लो समय लिम्बु समुदायसँग जोडिएका सामाजिक, सांस्कृतिक तथा अधिकारका विषयमा बहस बढ्दै गएको उल्लेख गर्दै आङबुहाङले भाषा, पहिचान र समुदायका विचारलाई संरक्षण तथा पुस्तान्तरण गर्न सबै पक्ष सक्रिय हुनुपर्ने बताउनुभयो।

त्यस्तै, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख राम मादेनले लिम्बु पत्रकारहरूले व्यावसायिक पत्रकारितासँगै समुदायका महत्वपूर्ण सवाललाई प्राथमिकताका साथ उठाउनुपर्ने बताउनुभयो। उहाँले पहिचान, भूमि अधिकार, संस्कृति र परम्परासँग सम्बन्धित विषयमा पत्रकारहरूबीच निरन्तर छलफल र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

इन्डिजिनियस टेलिभिजनका कार्यक्रम प्रमुख कुमार यात्रु तामाङले आदिवासी समुदायका सञ्चारमाध्यमले आफ्ना विषय र मुद्दालाई प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने बताउनुभयो। बदलिँदो सञ्चार प्रविधि र विश्वव्यापीकरणको परिवेशमा आदिवासी पत्रकारितालाई थप प्रभावकारी बनाउन नयाँ माध्यम र प्रविधिको प्रयोगमा जोड दिनुपर्ने उहाँको भनाइ थियो।

लिम्बु पत्रकार संघ, उपत्यका समितिका अध्यक्ष अर्जुन मादेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्व लिम्बु, भवानी बराल, सागर केरुङलगायत पत्रकारहरूले लिम्बु समुदाय, पत्रकारिता र समसामयिक सवालसँग सम्बन्धित विषयमा आफ्ना धारणा राख्नुभएको थियो।

कार्यक्रममा सहभागीहरूले समुदायका आवाज र मुद्दालाई अझ प्रभावकारी रूपमा सार्वजनिक बहसमा ल्याउन पत्रकार तथा विभिन्न संघ–संस्थाबीच सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com