इलाम, असार २४ – इलामको रोङ गाउँपालिका ले अभिभावकविहीन (टुहुरा) विद्यार्थीहरूको शैक्षिक तथा आर्थिक भविष्य सुनिश्चित गर्ने उद्देश्यले ‘उज्यालो भविष्य भत्ता’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममार्फत टुहुरा विद्यार्थीलाई मासिक दुई हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरेको हो।

गाउँपालिकाभित्र हाल २१ जना अभिभावकविहीन विद्यार्थी रहेको तथ्यांक सार्वजनिक गर्दै गाउँपालिकाले उनीहरूको संरक्षण, शिक्षा तथा भविष्य सुरक्षित गर्न विशेष कार्यक्रम अघि सारेको जनाएको छ। यसअघि नै गाउँपालिकाले ती विद्यार्थीहरूको शिक्षा र स्वास्थ्य बिमालगायतका व्यवस्थापनको जिम्मेवारी वहन गर्दै आएको छ।

गाउँपालिकाका अनुसार प्रत्येक टुहुरा विद्यार्थीका नाममा दीर्घकालीन बचतको व्यवस्था गरिएको छ। सोहीअनुसार गाउँपालिकाको तर्फबाट प्रतिविद्यार्थी १० हजार रुपैयाँ र सिद्धी हाइड्रोपावर को सहयोगमा २० हजार रुपैयाँ गरी कुल ३० हजार रुपैयाँ एकमुष्ट रकम बैंक खातामा जम्मा गरिएको छ। उक्त रकम विद्यार्थीहरूले उच्च शिक्षाका लागि वा गाउँपालिकाको सिफारिसमा मात्रै झिक्न सक्ने व्यवस्था मिलाइएको छ।
त्यसैगरी, गाउँपालिकाले सबै टुहुरा विद्यार्थीको डिम्याट (डीम्याट) खाता खोलिदिएको छ। गाउँपालिकाकै व्यवस्थापनमा उनीहरूलाई प्राथमिक सेयर (आईपीओ)मा लगानी गराउने कार्यसमेत सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो ले जानकारी दिए।
अध्यक्ष स्याङ्बोले ‘उज्यालो भविष्य भत्ता’ कार्यक्रमले अभिभावकविहीन विद्यार्थीहरूको शैक्षिक, सामाजिक तथा आर्थिक भविष्य सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले स्थानीय सरकारको दायित्व केवल भौतिक पूर्वाधार निर्माणमा सीमित नभई समाजका विपन्न तथा अभिभावकविहीन बालबालिकाको भविष्य निर्माणमा समेत केन्द्रित हुनुपर्ने बताए।

गाउँपालिकाको यो पहललाई बालअधिकार र सामाजिक सुरक्षाका क्षेत्रमा नमुना कार्यक्रमका रूपमा हेरिएको छ। स्थानीय तहबाट अभिभावकविहीन बालबालिकाको दीर्घकालीन भविष्य सुनिश्चित गर्न सुरु गरिएको यस्तो कार्यक्रम अन्य स्थानीय तहका लागि पनि प्रेरणादायी बन्न सक्ने अपेक्षा गरिएको छ।
केहि तस्विरहरूः






प्रकाशित मिति: ११ असार २०८३, बिहिबार

प्रतिक्रिया