१६ वैशाख । कोशी प्रदेश सरकारको नेतृत्व गरिरहेका नेकपा (एमाले) र नेपाली काङ्ग्रेसबीच शक्ति सङ्घर्ष र भागबण्डाको चेपुवामा परेर प्रदेश खेलकुद विकास बोर्ड विगत ७ महिनादेखि ‘बन्दी’ बनेको छ । 

सत्ता साझेदार दलहरूबीच कुन दलले पद हत्याउने भन्ने ‘जुँगाको लडाइँ’ चल्दा प्रदेशभरिको खेलकुद गतिविधि ठप्प हुनुका साथै हजारौँ खेलाडीको भविष्यसमेत अन्योलमा परेको हो । गत भदौ २५ गते तत्कालीन सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) को कार्यकाल सकिएपछि बोर्ड अभिभावकविहीन छ । तर सरकार सञ्चालन गरिरहेका दुई ठूला दलको दाउपेचले बोर्डले नयाँ नेतृत्व पाउन सकेको छैन ।

प्रदेश खेलकुद ऐनअनुसार सामाजिक विकास मन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले सदस्य–सचिव नियुक्त गर्नुपर्ने व्यवस्था छ । सामाजिक विकास मन्त्रालयको कमान्ड सम्हालेको एमालेले खेलकुद आफ्नो भागमा परेको दाबी गर्दै आएको छ भने काङ्ग्रेसले अघिल्लो पटक एमाले निकटका व्यक्ति रहेकाले यसपटक आफ्नै उम्मेदवार हुनुपर्ने अडान राखेको छ ।

दुई दलको खिचातानीले गर्दा बोर्डको दैनिक कार्यसम्पादनदेखि जिल्ला र प्रदेशस्तरीय प्रतियोगिताहरूसमेत अनिश्चित बनेका छन् । प्रदेश खेलकुदलाई गति दिनुको साटो दलहरू आफ्ना कार्यकर्ता व्यवस्थापन गर्ने रणनीतिमा लाग्दा खेलकुद संरचना नै धरासायी बन्न थालेको सरोकारवालाहरूको गुनासो छ ।

“७ महिनादेखि सदस्य–सचिव नियुक्त नहुँदा खेलकुद क्षेत्र चलायमान हुन सकेको छैन” कराते महासङ्घ कोशी प्रदेशका महासचिव राम लिम्बू भन्छन्, “राजनीतिक स्वार्थभन्दा माथि उठेर तत्काल नेतृत्व छनोट नगर्ने हो भने प्रदेशको खेल क्षेत्र अझै पछि धकेलिनेछ ।”

अलपत्र ‘राष्ट्रपति रनिङ शिल्ड’

बोर्ड नेतृत्वविहीन हुँदा विद्यालयस्तरको प्रतिष्ठित ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगितामा देखिएको छ । प्रदेशका विभिन्न स्थानीय तहले विद्यालयस्तरबाट खेलाडी छनोट गरिसकेका छन् । तर जिल्ला र प्रदेशस्तरमा प्रतियोगिता गराउने आधिकारिक निकाय (बोर्ड) मा नेतृत्व चयन नहुँदा छनोट भएका खेलाडीहरूले खेल्न पाएका छैनन् । नियमित प्रशिक्षण र प्रतियोगिताको अभावमा खेलाडीहरूको मनोबल गिरेको छ भने प्रदेशले राष्ट्रियस्तरमा पु¥याउनुपर्ने नयाँ प्रतिभा उत्पादनको प्रक्रिया नै अवरुद्ध भएको छ ।

आकाङ्क्षीको रस्साकस्सी 

सदस्य–सचिव बन्नका लागि दुवै दलभित्रका प्रभावशाली व्यक्तिहरूले शक्ति केन्द्रमा लबिङ तीव्र पारेका छन् । एमालेबाट करातेका पूर्व खेलाडी एवम् नेपाल खेलकुद महासङ्घका केन्द्रीय सचिव विप्लव घोष बलियो दाबेदारका रूपमा देखिएका छन् । महासङ्घको कोशी प्रदेश इन्चार्जसमेत रहेकाले एमालेले घोषलाई नै अघि सार्ने तयारी गरे पनि काङ्ग्रेसको अवरोधका कारण निर्णय हुन सकेको छैन । 

यता काङ्ग्रेसले धरानका पूर्व फुटबल खेलाडी किशोर राईलाई अघि सारेको छ । खेलकुद क्षेत्रमा लामो अनुभव र जुझारु छविका कारण काङ्ग्रेसले राईको पक्षमा अडान लिँदै आएको छ । सामाजिक विकास मन्त्री रामप्रसाद महतोले भने सदस्य–सचिव नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । “मुख्यमन्त्रीको व्यस्तताका कारण केही ढिलाइ भएको हो, अब ढिलो हुँदैन” मन्त्री महतोले भने, “यही महिनाभित्रै सदस्य–सचिव नियुक्त गरेर बोर्डलाई पूर्णता दिने तयारीमा हामी छौँ ।

प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com