अमर लामा

एक निडर व्यक्तित्व, जसले आफ्नो स्पष्ट अड़ान राख्नलाई कहिले हिचकिचाएनन्। जसले उमेरको पाँच दशक भन्दा लामो समय दार्जीलिङ्गे राजनीतिको निम्ति खर्चिए। जसले नेपाली साहित्य र समाजलाई नजिकबाट नियाँले, उनै व्यक्ति हुन् अमर लामा। जो यसचोटि खरसाङ विधानसभा समष्टिबाट विधानसभा चुनाव लड़िरहेका छन्।

1980 को प्रान्त परिषदको संघर्षबाट आफ्नो राजनैतिक करियर सुरू गर्ने अमर लामाले दार्जीलिङ्गे राजनीतिका तमाम उत्तरचढावहरू देखे। आन्दोलन गरे। जेल गए। स्टडी फोरममा रहेर ऐतिहासिक दस्तावेजहरू तयार गरे।तर, त्यही राजनीति कै कारण आफ्नै दाजु मदन तामाङलाई समेत गुमाए। तैपनि उनी कहिले हताश भएनन्। जनताको पक्षमा बोलिरहे। सत्यको पक्षमा वकालती गरिरहे।

दार्जीलिङ्गे राजनीतिसँगको उठबसमै आफ्नो कपाल फुलाएका लामा अलि खरो बोल्छन्, तर ढाँट्दैनन्। आम मान्छेको पक्षमा उभिन परोस् वा चिया श्रमिकहरूको निम्ति आवाज उठाउन परोस्, उनले आफ्नो धर्म निर्वाह जहिले निभाइ रहे।

नयाँ पीड़िसँगको सामीप्यता रूचाउने लामा किताब र समाज दुवै अध्ययन गर्नसक्ने पहाड़का थोरै व्यक्तिहरू मध्ये एक हुन्। लामालाई नियाल्दा लाग्छ, उनी दार्जीलिङ्गे राजनीतिको नयाँ र पुराना संस्करणका मिश्रित अनुहार पनि हुन्। जोसँग युवा सरह जोस छ र प्रोढको अनुभव पनि छ।

उनै लामासँग यसचोटि हामीले दार्जीलिङ्गे राजनीति र चुनावी सेरोफेरोमा रहेर  कुराकानी गर्ने कोसिस गरेका छौं।- तेन्जिङ शेरब, सिलिगुड़ी।

दार्जीलिङमा किताब पढ्ने नेता कमै छन्। तपै किताबलाई प्रेम गर्ने मान्छे हुनुहुन्छ, यो दौड़धुपमा किताबलाई मिस गर्नुहुँदैछ ?

होइन, मसँग एउटा किताब त जहिले पनि हुन्छ नै। म अहिले जगदीश घिमिरेको शकस- झोलामा बोकेर खरसाङको चिया कमान र बस्तीहरू घुम्दैछु। दिनभरि जनसम्पर्कमा हुन्छु। बेलुकी फुर्सदमा केहीबेर भए नि पढ्छु। थकान मेटिन्छ, मन पनि चंगा हुन्छ।

तपैँ खरसाङबाट चुनाव लड़्नु हुँदैछ। किन खरसाङलाई चुन्नु भो नि ?

भारतीय गोर्खा राजनैतिक चेतनाको उदय डम्बरसिंह गुरूङबाट भएको हो। त्यसको अर्थ हो, त्यो समय भारतसँगै दार्जीलिङ्गे राजनीतिको केन्द्रमा कालेबुङ थियो। त्यसपछि अस्सीको दशकमा  सुवास घिसिङ र 2007 मा विमल गुरूङ आए। अनि यहाँको राजनीतिको केन्द्रबिन्दु दार्जीलिङ बन्यो। अहिले खरसाङका छोरा अनित थापाले दार्जीलिङ्गे राजनीतिलाई दिशा दिइरहेका छन्। यसको अर्थमा, अहिलेको पहाड़को राजनीतिको केन्द्रमा  खरसाङ छ।  त्यही भएर नै मैले खरसाङलाई चयन गरेको हुँ। यतिमात्र होइन, मेरो राजनैतिक करियरको सुरूवाती दिनहरूमा खरसाङका पुराना नेतृत्वहरूले निकै ठूलो प्रभाव पनि परेको थियो। म यो समय उनीहरूलाई सम्झिँदै उनीहरूले डोहोर्याएको बाटोमा केही कदम हिँड़ीराख्न चाहन्छु।

खरसाङको कुन नेताको प्रभाव थियो नि तपैसँग ?

मैले राजनीतिमा चासो लिन थालेको प्रान्त परिषदको समयदेखि नै हो। जुनबेला इन्द्रबहादुर राईहरूसंग दार्जीलिङ, खरसाङ, कालेबुङ सबैतिर दगुर्यौं। आम आकांक्षालाई मैले पहिलोचोटि बुझ्न पाएको त्यही समय नै हो। नत्र म बीएससी एलएलबी गरेको मान्छे हुँ। मलाई करियरको चिन्ता थिएन। तर, जनाकांक्षा र आम मान्छेको पीड़ाले मलाई यसरी तान्यो, म जनताको निम्ति पोस्टर लेखेर टाँस्दै हिँड़्ने भए। 1991 देखि मैले सक्रिय राजनीतिमा सहभागिता जनाउन थालेको हुँ। मैले पहिलोचोटि राजनैतिक दल गरेको गोर्खालीगबाट नै हो र जसको तत्कालीन अध्यक्ष खरसाङकै पीआर गिरी थिए। उनकै पाइला पछ्याउँदै हिँड़्दा हिँड़्दै मैले चुनावी राजनीतिमा पनि सहभागिता जनाउन थालेको हुँ। राजनीतिमा मेरो प्राइमेरी टिचर खरसाङका उनै पीआर सर हुन्। उनकै इलाकाबाट यसचोटि तुनाव लड़्न पाउँदा धेरै सन्तुष्टि पनि मिलेको छ। म अचेल खरसाङको कुनाकाप्ची घुम्दा पुराना दिनलाई पनि सम्झिरहेको हुन्छु।

इन्द्रबहादुर राईहरूसंग हिँड़्नु भएकै कारण किताबको लत तपाईँमा बसेको होला हो ?

त्यो पनि होला। तर, मसँग पढ्ने लत बस्नुमा दाजु मदन तामाङको ठूलो हात छ। उनी हरेक अंग्रेजी पत्रिकाहरू नछुटाइ पढ्थे। उनमा त्यो लत इतिहासकार कुमार प्रधानबाट आएको हो। उनले पढेको देखेर नै मैले पनि थोरै थोरै पढ्न थालेको हुँ। पछि त यस्तो लत बस्यो, अचेल किताब मेरो साथी जस्तै भएको छ। राजनीतिमा आउन चाहने हरेकले समाजसंगै किताब पनि पढ्नुपर्छ भन्ने मलाई लाग्छ।

पुरानो र नयाँ दार्जीलिङको राजनीतिमा के फरक पाउनु हुन्छ ?

पुरानो दार्जीलिङमा साहित्य र संगीत सधै राजनीति भन्दा पनि अघि हुन्थ्यो। त्यै भएर राजनीतिमा पढ्ने लेख्नेहरूको अधिपत्य थियो, त्यसैले हरकोही पैसाको पछि दगुर्दैन थिए। 1986 पछिको दार्जीलिङ्गे राजनीतिमा धेरैथोक बदलियो। हत्या र हिंसा सामान्य कुरा जस्तै बनेर गयो। दिउँसै मान्छे मारिन थालियो। त्यही हिंसात्मक राजनीतिको कारण नै मैले आफ्नै दाजु मदन तामाङलाई समेत गुमाउनु पर्यो। तर, भागोप्रमोको कार्यकालमा केही बदलाव पक्कै आएको छ। अहिलेकै चुनाउको परिवेश हेर्नुस् ना, हिंसा भन्दा धेर उत्साह देखिरहेको छ। रचनात्मक रूपले कसरी चुनाव प्रचार गर्ने भन्ने अभियानमा सब जना जुटिरहेका देखिन्छन्। यो देख्दा रमाइलो लाग्ने गरेको छ। फेरि पहाड़मा एउटा नयाँ राजनैतिक परिपाटो सुरू हुन गइरहेको हो कि ? भन्ने  आभास हुन थालेको छ। मान्छेले आफ्नै दिमागले सोच्न र निर्णय गर्न सक्ने माहोल बल्ल फेरि फर्किएर आएको छ। यो माहोललाई बचाउनको निम्ति पनि मैले चुनावमा जानुपर्छ जस्तो लागेको हो।

तपैमाथि एउटा अभियोग रहेछ, तपैले कुनै बेला भन्नु भयो रे, चिया बगान जीटीएमा पर्दैन। त्यस्तो बोल्नु भएको थियो है?

दार्जीलिङको राजनीतिको सबै भन्दा खराब कुरा नै प्रोपागेन्डा हावी हुनु हो। त्यही भएर सही मान्छे जहिले पछाड़ि पर्नु पर्छ। चियाबारी भनेको दार्जीलिङको मेरूदण्ड हो। पहिचान पनि हो। हाम्रो भूगोल, हाम्रो इतिहास सब बाँचेकै यही चियाको बुट्टामाथि हो। त्यै भएर नै दार्जीलिङ पहाड़को राजनीतिको मियो चिया बगान हुने गरेको हो। त्यही चिया बगानमा काम गर्ने श्रमिकहरूको निम्ति नै मैले लामो समयदेखि संघर्ष गर्दै आएको हुँ। तर, केही समयदेखि मेरो विरूद्ध चिया कमानबारे गलत न्यारेटिभ चलाउने प्रयास गरिरहेको छ। यो गलत हो। मेरो आधा घण्टाको इन्टरभ्यूबाट 30 सेकेन्ड निकालेर मलाई बदनाम गर्न केही दलका साथीहरू लागिपरेका छन्। त्यो कदापि पूरा हुँदैन। किनकि, मेरो राजनीति भनेकै चिया श्रमिकहरूको पक्षमा उभिनको निम्ति हो। 2017 को लामो आन्दोलन पछि जब पहाड़ सामान्य बन्यो, त्यो बेला बन्दको बहाना गरेर बोनस दिन नमान्दा पहिलो आवाज उठाउने म नै हुँ। त्यस्ता दर्जनौ प्रमाण छ, जहाँ मैले श्रमिकहरूको आवाज बन्ने कोसिस गरेको छु। ट्रेड युनियनका साथीहरूसंग उभिएर कमानबासीको निम्ति लड़ाई गर्नुपर्दा मेरो खुट्टा कहिले काँपेन। तर, जुन तीस सेकेन्डको भिडियो देखाएर प्रचार गरियो, त्यो कुन सन्दर्भ थियो, आम मान्छेले बुझ्न जरूरी छ। त्यो बेला म कमानको संघर्षबारे नै बोल्दै थिए। चिया बगानको आफ्नै विभाग कतै छैन, जो हुनुपर्ने हो। जीटीएमा पनि त्यो छैन, राज्यमा पनि छैन, केन्द्रसंग पनि छैन। त्यही भएर बोनसको मुद्दा राज्य वा जीटीएको अधिनमा पर्दैन, उनीहरूको बीस प्रतिशत बोनस जसरी पनि मालिकले नै दिनुपर्छ भनेको थिएँ। त्यहाँबाट तीस सेकेन्ड काटेर मलाई बदनाम गर्ने कोसिस गरियो। चिया मात्रै त्यो फसल हो, जो कमर्स एन्ड इन्डस्ट्रीमा पनि पर्छ। श्रमिकहरूको समस्या रहेकोले लेबर कमिश्नर अन्तर्गत पनि यसको कुरा हुन्छ। फेरि यसलाई कृषि फलसको रूपमा हेरिने भएकोले एग्रिकल्चर विभागमा पनि कुरा हुनसक्छ। तर, यसको स्पेसिफिक विभाग छैन। त्यै भएर नै चिया कमान जीटीएको स्पेशिफिक विभागभित्र पर्दैन, त्यसैले मालिकबाट श्रमिकहरूको अधिकार दिलाउन सबैले लड़्नुपर्छ भनेको थिए। श्रमिकहरूको लड़ाईमा साथ दिएर उभिरहेकै बेला यही कुरा गर्दा बलजफ्ती प्रोपागेन्डा थोप्ने कोसिस गरियो। तर, चिया श्रमिकहरूले बुझिसकेका छन्, हामी जहिले कमानवासीसँगै थियौ र भोलि पनि हुनेछौं। यसलाई अन्डरलाइन गरेर राखनुहोस्, विधायक बनेपछि सबै भन्दा पहिले म चिया श्रमिकहरूको न्यूनतम रोजगारको मुद्दा विधानसभामा उठाउनेछु।

चुनाव जिते अरू के के गर्ने योजना बनाउनु भएको छ नि ?

हामीले चुनाव घोषणा तयार गरिसकेका छौं।  पहाड़लाई चिनाउने चियाको बुट्टा स्याहार्ने कमानेहरूलाई नै प्राथमिकतामा राखेर हामीले धेरैवटा काम गर्ने योजना तयार गरेका छौं। यसबाहेक बेरोजगार युवा, महीला लगायत कृषकहरूको समस्याको निम्ति पनि हाम्रो कार्य रहनेछ। तपैले घोषणा पत्र पढ्नु भए, सबथोक पाइहाल्नु हुनेछ। अनि, सब भन्दा ठूलो कुरा साठीको दशकको दार्जीलिङको पुरानो माहोलन हामी सधैं मिस गरिरहेका हुन्छौं। साहित्यमा होस् वा संगीतमा होस्, त्यो समाजलाई हामी जहिले छात्तीमा टाँसेर बाँचिरहेका हुन्छौं। त्यो पुरानो पहाड़को गौरव र स्वाभिमानलाई फेरि एकचोटि फर्काएर ल्याउनको निम्ति मेरो हरेक कार्य हुनेछ। यसको निम्ति समाजका हरेक वर्गको साथको अपेक्षा म राख्न चाहन्छु।

राजनीतिमा महिलाहरूको सहभागिता किन कम भएको होला ?

महीलाहरूको भूमिका आजको राजनीतिमा सबै भन्दा धेर महत्वपूर्ण छ। राजनीतिमा एउटी महीलाले के के गर्नसक्छन्, त्यसको उदहारण माया देवी छेत्री, रेणुलिना सुब्बाहरू हुन्। अहिले पनि महीला नेत्रीहरूको अभाव छैन। पार्टीको माथिल्लो तहदेखि पञ्चायत स्तरसम्म महीलाहरूको भूमिका महत्वपूर्ण छ।  भागोप्रमोले दुईदशकपछि पहाड़मा शान्ति र गणतन्त्र मात्रै ल्याएन, पञ्चायत व्यावस्था पनि फर्काएर ल्याएको छ। पञ्चायतका अदिकांश महत्वपूर्ण स्थानमा आज हाम्रा दिदी बहिनीहरू छन्। अझ म त के विश्वास गर्छु भने पार्टीको कोर कमिटीमा पनि महीलाहरूको उपस्थिति अझ बाक्लो हुनुपर्छ। आशा राख्छु, त्यो माहोल बिस्तारै बन्दै जानेछ। किनकि हामी सही ट्रयाकमा हिँड़िरहेका छौं।

पछिल्लो पुस्ता राजनीतिदेखि दिक्का भएको हो ? कि के लाग्छ तपैलाई ?

राजनीति सहज थोक होइन। यसमा आउनेहरूले धेरै थोक गुमाउनको निम्ति पनि सधैं तैयार हुनुपर्छ। तर, राजनीति भनेको समाजको मियो पनि हो, यसले धेरै थोक तय गरिदिन्छ। त्यसैले कसैले पनि राजनीतिबाट भाग्न मिल्दैन। तर, को कतिबेला कसरी राजनीतिमा उदाउँछ, त्यो समयले पनि तयार गरिदिने कुरा हो। पछिल्लो समय जसरी राजनीतिमा हत्या र हिंसा धेर बढ्यो, त्यसले राजनीति खराब थोक हो भन्ने युवाहरूलाई लागेकै हुनसक्छ। तर, अब परिस्थिति बिस्तारै बदलिँदै आइरहेको छ। राम्रो मान्छेलाई राम्रो ठाउँ दिने प्रयास हामीले लगातार गरिरहेका छौं। मलाई लाग्छ, अब बिस्तारै राजनीतिप्रतिको बितृष्णा  युवाहरूबाट हटेर जानेछ। तर, युवाहरूले पनि राजनीतिमा आउँन चाहे किताब र समाज दुवैलाई अध्ययन गर्ने अभ्यास सुरू गर्न जरूरी छ।

खरसाङवासीलाई केही सन्देश दिन चाहनुहुन्छ ?

खरसाङका धेरैजना मेरो उम्मेद्वारितालाई लिएर खुशी छन्। पार्टीकै महासचिव आफ्नो ठाउँमा आएको भन्दै स्वागत जनाइरहेका छन्। उर्जाको साथमा काम गरिरहेका छन्। के महीला, के युवा, के प्रौढ, सब कमान बस्ती दगुरिरहेका छन्। यो उर्जा यथावत राख्ने म सबैलाई आह्वान गर्छु। अर्को कुरा हामीले राजनीतिमा एउटा नयाँ संस्कार पनि सुरू गर्न जरूरी छ। हामी निश्चित रूपमा भाजपाको गलत नीतिको विरूद्धमा लड़िरहेका छौं। क्षेत्रीयता मास्ने उनीहरूको संस्कार विरूद्ध हाम्रो लड़ाई हुनेछ। एकल राष्ट्र, एकल पार्टी वा एकल धर्मको मानसिकताको विरूद्ध हामीले डटेर लड़्नै पर्छ। आम जनताको अधिकार खोस्ने कार्य भाजपाले धेरैअघिदेखि गरिरहेको छ। गाउँ घरमा थोरै भए नि पैसा पुग्ने सय दिने रोजगारलाई भाजपाले नै बन्द गरिदियो। त्यसपछि आम मान्छेलाई लाइनमा उभ्याउने डि मनिटाइजेसन, एसआईआर जस्ता नियमहरू लिएर आए। एसआईआरमा हाम्रो मान्छेले कति दुःख पाए, त्यो भुल्नु हुँदैन। आज आएर फेरि राशनकार्डबाटधरि नाम काट्ने अभियान सुरू गरेको छ। यस्तोमा हामीले जनविरोधी नीति अप्नाएर मनमानी गर्ने भाजपाको नीति विरूद्ध लड़ाई गर्नैपर्छ। तर, यति हुँदा हुँदै पनि भाजपाका उम्मेद्वारलाई सोझै तार्गेट गर्ने, व्यक्तिगत रूपमा गाली गलौच गर्ने राजनीतिबाट हामीले माथि उठ्नै पर्छ। हामी भाजपालाई नीतिगत रूपमा सफाई गर्न चाहन्छौं। यो लड़ाईमा सबैको सहभागिता रहन जरूरी छ ।

प्रकाशित मिति: १ बैशाख २०८३, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com