बढ्दो इन्धन खपत र त्यसले अर्थतन्त्रमा परेको दबाबलाई ध्यानमा राख्दै सरकारले ऊर्जा बचतका उपायहरू अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री Pratibha Rawal ले इन्धन खपत घटाउन वैकल्पिक उपायहरू लागू गर्ने नीति सरकारले अघि सारेको जानकारी दिइन्।
उनका अनुसार सरकारले सम्भव भएसम्म ‘वर्क फ्रम होम’ प्रणाली अपनाउन र विद्युतीय सवारी साधनको प्रयोग बढाउन सर्वसाधारणलाई आह्वान गरेको छ। यसले इन्धनको प्रयोग कम गर्न मद्दत पुग्ने सरकारको विश्वास छ।
त्यस्तै, दीर्घकालीन रूपमा विद्युतीय सवारीतर्फ रूपान्तरणका लागि आवश्यक कानुनी प्रक्रिया पनि अघि बढाइएको मन्त्री रावलले बताइन्। उनका अनुसार इथानोल नीतिको तयारी भइरहेको छ भने विद्युतीय सवारी साधनका लागि आवश्यक पूर्वाधार विकास र विस्तारमा पनि सरकारले प्रतिबद्धता जनाएको छ।
प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार

प्रतिक्रिया