
काठमाडौं । तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने’ युट्युबमा सार्वजनिक भएको छ । गीत सार्वजनिक गर्न सोमबार पत्रकार सम्मेलन पनि आयोजना गरिएको थियो ।
‘मोहनी लगाउने’ बोलको गीतमा रञ्जित गजमेरको संगीत छ । निर्देशक घिमिरेकै शब्द समावेश गीतमा भारती घिमिरे, साकार अप्टे, अस्मिता अधिकारी, मदनकृष्ण श्रेष्ठ, विपिन कार्कीको स्वर समावेश छ ।
ग्रामीण परिवेशमा छायांकन गरिएको यो गीत नृत्यप्रधान र मिठासपूर्ण लाग्छ । ग्रामीण सौन्दर्य, धन कमाउन युवाले गाउँ छाड्नुपर्ने बाध्यता, सहरभन्दा गाउँ उपयुक्त रहेको लगायतका सन्देश गीतमा छ । गीतमा विपिनले र्याप गायन दिएका छन् । यो गीत सुन्दा हामीलाई सन् १९९० मा रिलिज भएको नारायणगोपाल र आस्मा भोस्लेको गीत ‘मोहनी लाग्ला है’ को पनि याद आउँछ । संगीतकार गजमेरले उक्त चर्चित गीतको भाव झल्काउने गरि यो गीत तयार पारेका छन् ।
गीतले फिल्मको कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, शिव श्रेष्ठ, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, भारती घिमिरे, प्रियंका कार्की, अरुण क्षेत्री, पञ्चमी घिमिरे, रेणुनाथ योगी, उमा गिरी, आशा पौडेल, अंकित खड्का, हिउँवाला गौतम, अरुण रेग्मी, रेहान केसीको अभिनय छ । भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्म १ बैशाख, २०८३ देखि प्रदर्शन तयारीमा छ । धन कमाउन युवा विदेशिँदा त्यसले नेपालका पहाड कसरी रित्तिएका छन् र यसले ल्याउने सामाजिक-सांस्कृतिक-आर्थिक असरको कथा फिल्ममा समेटिएको छ ।
युट्युबमा
प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार

प्रतिक्रिया