पुस्तक समिक्षा

योङ्हाङ् प्रदिप लिम्बू
निबन्धात्मक इतिहास
पानी पतिया काङमाङ् नरेश राई द्वारा लेखिएको निबन्धात्मक इतिहास सँग्रह हो।लेखक काङमाङ लामो समय ब्रिटिश आर्मीको रुपमा कार्यरत रही सेवा निवृत्त भएका हुन् । उनी युद्ध साहित्यका अभियान्ता पनि हुन् । “पानी पतिया” को केन्द्रमा पनि लाहुर÷युद्ध नै छ । त्यसको पनि अझ दुखद र विभेदपूर्ण पक्षहरु अझ बढी केन्द्रमा रहेको छ । यसमा विभिन्न १५ शिर्षक दिएर लेख प्रस्तुत गरिएको छ । त्यहाँ प्रस्तुत १५ वटा लेखले उठाएका विषयवस्तु उपर १५ वटा नै पुस्तक बन्न सक्ने किसिमका बृहत र गहन विषयवस्तु छ।यस मानेमा यो महत्वपूर्ण पुस्तकलाई लाहुरेको दुखद इतिहास चिहाउने महत्वपूर्ण आँखीझ्यालको रुपमा मैले लिएको हुँ । यो पुस्तकलाई आँखीझ्याल भनेर कम आँकेको भने पक्कै होइन।
ऐतिहासिक दस्तावेज
नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोशले “पतिया” शब्दलाई “नयाँ मुलुकी ऐन लागु हुनुभन्दा पहिले जातभातबाट पतित भएका व्यक्तिले आफ्नो जातमा मिल्नका लागि धर्मधिकारीको निर्देशनमा गर्ने गरेको शुद्धी” भनि उल्लेख गरेको छ । यसबाट “पानी पतिया” गर्ने चलन सिधै जातिय विभेद सँग जोडिने कुरा हो भन्न सजिलै सकिन्छ । आफू भन्दा सानो जात (कथित) जातिले छोएमा÷छोइएमा यो चलनबाट शुद्ध गर्ने चलन लाहुरे भित्र पनि थिएछ । विशेष गरि लाहुरेहरु घरबाट पल्टन फर्कँदा यो गर्नेगरिएको थिएछ । यसलाई हिन्दुकरणको दृष्टिकोणबाट पनि हेर्न सकिन्छ । “पानी पतिया” गरिनु, पल्टन भित्रै विशेष सुविधा दिएर ब्राहम्ण नियुक्त गरिनु हिन्दुकरण गर्ने दरिलो रणनीति हो भन्ने लेखकको दाबि छ।जुन कुरा लेखकले उल्लेख गरेका ऐतिहासिक दस्तावेजबाट पुष्टि हुन्छ।
पृथ्वीनारायण महिमा
अहिलेको समयमा लाहुरे प्रतिको हाम्रो दृष्टिकोण, हाम्रो समाजको मनोविज्ञान एकदमै सकरात्मक छ । लाहुरेहरुको सम्पन्नताले हरकोहीको हृदय लाहुर प्रति आकर्षित भएको अवस्था छ । तर लाहुर÷गोर्खा सैनिकको ऐतिहासिक दस्तावेज र प्रसङ्गहरु आङ् जिरिङ्ग हुने प्रकारका रहेछन् । जुन प्रसङ्गहरु बारे नेपाली इतिहासकारले कमै लेखे, नेपाली साहित्यकारले कमै लेखे । यसैले पनि होला, ती कहालिलाग्दा तथ्यहरु बाट अनविज्ञ छ मेरो पुस्ता । यो पुस्तकमा उल्लेखित ति तथ्यहरु बारे अवगत हुँदै गर्दा, ति घट्नाहरु सायद घटेका थिएनन् कि? जस्तो पत्याउन मुश्किल लाग्दो हो, मेरो पुस्तालाई । विश्व युद्धमा नेपाल सामेलनै नभएको भनेर पढिरहेको मेरो पुस्ताले पहिलो र दोस्रो विश्व युद्धमा लाखौँको सँख्यामा नेपालीहरु मारिए, अङ्गभङ्ग भए, हराए, घरै फर्किएनन् भन्ने कुरा तथ्य र प्रमाण सहित थाहा पाउँदा सजिलै पत्याउन सकिने अवस्था नहुँदो रहेछ । पृष्ठ ६८ मा उल्लेख छ “पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, फक्ल्यान्ड, गल्फ बोस्निया लगायतका युद्धहरुमा ४५ हजार गोर्खा सेना मारिएका थिए । १ लाख ५० हजार घाइते भएका थिए । ६५ सय गोर्खाले तक्मा पाएका थिए । ३० हजार गोर्खालाी युद्धमा परिचालित भएका थिए तर तिनीहरु कोही पनि घर फर्किन पाएनन् ।” यस्ता अपत्यारिला जस्ता लाग्ने तथ्यहरु “बहादुर” को पगरिले छोपेको हो कि? छोप्न खोजिएको हो? भन्ने प्रश्न मनमा आइरह्यो । यी युद्धमा सामेल गोर्खाका परिवारमा के बित्यो ? कल्पना गर्दा सम्म त्यसै श्वास फेर्न गाह्रो हुन्छ । यी कुरा नेपाली साहित्य र इतिहासमा किन लेखिएन ? रामायण, महाभारत, नालापानीको युद्ध, पृथ्वीनारायण महिमा नेपाली साहित्य र इतिहास लेखनमा पुनरावृत्ति भैरहँद यस्ता महत्वपूर्ण कुरा किन उपेक्षामा परिहेको छ ? भन्ने प्रश्न निक्कै सोचनिय छ।
आदिवासी दृष्टिकोण
यो पुस्तक पढ्दै जाँदा आदिवासी÷जनजातिको दृष्टिकोणबाट थुप्रै प्रश्नहरु मनमा खेल्छन् । यहाँका आदिवासीहरुमा प्रथम र दोस्रो विश्वयुद्धले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ठुलो प्रभाव पारेको थुप्रै प्रसङ्गहरु उल्लेख छन् । गोर्खा भर्तिमा आदिवासीलाई÷जनजातिलाई भर्ति गरियो । विश्वयुद्धको दौरान त जबरजस्ती ठुलो सँख्यामा भर्ति गराइएका प्रसंगहरु छन् । “श्रीमान् बाबुराज लिम्बूको पखाईमा शान्तमाया लिम्बूले श्रीमानको फोटोलाई आजीवन पुजा गरिन् (पृष्ठ ३३) । इन्द्रबहादुर राईको खुट्टामा लडाइँमा गोली लाग्यो । उनले कुनै पेन्सन वा आर्थिक सहयोग पाएनन् । खुट्टामा किरा परेर उनको जीवन अन्त्य भयो ( पृष्ठ ३१) । इटालीको सान मारिनो राज्यमा रिमानी गोर्खा वार सिमेन्ट्री बनाइएको छ । जहाँ करिब ८ सय गोर्खाको चिहान छन् । सोही ठाउँमा भीसी थमन गुरुङको चिहान छ । सैनिक अभिलेखहरुमा उनको सक्कल तस्बिर छैन् (पृष्ठ ६८) । इटालीको रिमीनीमा रहेको १६ वर्षीय मनबहादुर राईको चिहान छ (पृष्ठ ९४) । मानवशास्त्री मेरी डेशेनले मध्य नेपालको कोटा नामक गाउँमा गोर्खा भर्तिबारे अनुसन्धान गर्दा सन् १८९८ मा जन्मिएकी एक गुरुङ महिलालाई भेटेकी थिइन् । तिनले प्रथम विश्वयुद्धको स्मरण गर्दै, अहिले त कुरा बेग्लै छ । तर उसबेला जति गए, सबै हराए । गुरुङ गाउँबाट जानेहरु कोही फर्केर आएनन् (पृष्ठ ८४) ।” यी प्रसङ्गहरुले आजको समयमा उनीहरुको समुदायको जनसङ्ख्या तुलनात्मक रुपमा कमि हुनु, कर्मचारीतन्त्रमा उनिहरुको पहुँच न्यून हुनु, प्रथम विश्व युद्ध र दोस्रो विश्व युद्धमा जबरजस्ती भर्ति गरिनुको असर होइन भनेर यसै भन्न सकिन्दैन।
स्नेहको ज्वारभाटा
“बहादुर” उपमा प्रति लेखकको असहमति छ । “बहादुर” शब्दले गोर्खा लाहुरेहरु पनि मान्छे हुन् । उनीहरु पनि बाँच्न चाहान्छन् । उनीहरुको पनि संवेदना हुन्छ भन्ने सत्यलाई छोपेर “गोर्खाहरुलाई जीवन भन्दा मृत्यू प्यारो हुन्छ” भन्ने प्रकारको मनोविज्ञान निर्माण गर्नेहरु प्रति लेखक असन्तुष्ट छन् । लेखकले प्रस्तुत तथ्यहरुबाट गोर्खा सैनिक प्रति ब्रिटिसले गरेको अन्याय, उनीहरुले भोगेको पीडा, उनीहरुको संवेदना र स्नेहको ज्वारभाटा, वर्णन गरि नसक्नुको असाह्य पीडा लाई “बहादुर” पगरि गुथाएर सामान्यीकरण गरिएको सजिलै बुझ्न सकिन्छ ।
गोर्खा को इतिहासलाई नायकीकरण गरेर गोर्खालाई ब्रिटिसले गरेको विभेदपूर्ण व्यवहारहरु, विभेदपूर्ण दृष्टिकोणका थुप्रै प्रसङ्गहरु यस पुस्तकमा उल्लेखित छ । यी प्रसङ्गहरु माथी कैयौँ प्रश्नहरु देशले गर्नुपर्ने हो । तर देश त बेखबर छ । लाहुरे इतिहासको यकिन तथ्य नेपाल सरकार सँग छैन् भन्ने आसयको लेख पृष्ठ ७४ को “अन्योलमा नेपाल” शिर्षकमा छ,उक्त लेखले त्यसै झट्का दिन्छ । शताब्दीयौँको इतिहास बोकेको गोर्खा मा हाल सम्म कति भर्ति भए भन्ने यकिन तथ्य देश सँग नहुनु, यो कस्तो दुखद प्रसङ्ग हो । यो कस्तो गैरजिम्मेवार प्रसङ्ग हो ।
ब्रिटिशले सेवासुविधामा गरेको असमान व्यवहार विरुद्ध र अन्य सन्दर्भमा आत्मसम्मानका लागि गोर्खा लाहुरेले गरेको विभिन्न चरणको आन्दोलन र संघर्षका कारणनै गोर्खा लाहुरेको स्तर आजको दिन सम्म आइपुगेको छ । अझैपनि ब्रिटिसको फौजलाई दिने सेवा सुविधा समान नपाए पनि केही हद सम्म अवस्था पक्कै सुधारिएको छ । यो महत्वपूर्ण कुराहरु यस पुस्तकमा उल्लेखित÷सङ्कलित छ । सिनियर सोल्जरहरुको यो योग्दान र प्रयास बारे आजको पुस्ता कतिको अवगत छ ?यो महत्वपूर्ण प्रश्न हुन सक्छ।
आदिवासीको बर्बर मृत्य
विश्व युद्धको दौरान जनताको अवस्थालाई वेवस्ता गर्दै आफ्नो सत्ता जोगाउन तत्कालिन शासकहरुले ठूलो मात्रामा रकम, काठ लगायतका वस्तु पनि बेलायत लाई दिएको कुरा पनि उल्लेख छ।यी प्रसङ्गहरु माथी कमै लेख लेखिएका होलान् । लेखकले यस्ता प्रसङ्गहरु उल्लेख गरेर इतिहासको पुनर्लेखन सहि ढङ्गले हुनु पर्छ भन्ने जीकिर अप्रत्यक्ष रुपमा गरेको देखिन्छ।हामीले इतिहासलाई हेर्दा यथार्थ भन्दा बढी भावनात्मक दृष्टिकोणले हेर्ने गरेकाछौँ । जसले गर्दा दुई तिहाइ भुभाग खोसिएको सत्य बलभद्रको गाथाको छायाँमा धुमिल बन्यो । बहादुर र निडर गोर्खेको छायाँमा पर्यो गोर्खे,आदिवासीको बर्बर मृत्यु,हत्या।
यथार्थको धरातलमा उभिएर गोर्खा इतिहास सारमा चिहाउन चाहने पाठकका लागि यो पुस्तक महत्वपूर्ण छ।नोगेन सेवारो।
प्रकाशित मिति: ११ मंसिर २०८२, बुधबार

प्रतिक्रिया