९ मंसिर,काठमाडौं ।नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन कार्यकर्तालाई आग्रह गरेका छन् । अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले १४ वटा घटकलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टीको गठन गरेकोले अब सबै नयाँ भएको जिकिर गरे।
उनले पेरिसडाँडा मेरो, आलोकनगर तपाईंहरूको भन्ने मानसिकताबाट मुक्त हुन पनि नेता कार्यकर्तालाई आग्रह गरे ।हामीले भर्खरै १४ वटा घटकलाई मिलाएर नेपाली कम्युनिस्ट पार्टीको गठन गरेका छौँ । म तपाईंहरूलाई फेरि पनि भन्न चाहन्छु, अब यो नयाँ पार्टी भएको छ । त्यसो भएको हुनाले पुरानो पार्टीको धङधङीबाट मुक्त पनि हुनुपर्छ । यो महशुस नहोस्, मनोविज्ञानलाई पनि बुझेर चल्नुपर्छ । त्यसो हुनाले प्रशिक्षणको पनि आवश्यक्ता छ । पेरिसडाँडा मेरो, आलोकनगर तपाईंहरूको भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ । यो संगठन मेरो, अर्को संगठन अरुको भन्ने भ्रममुक्त हुनुपर्छ,’ उनले भने।
इतिहासको चर्चा गर्दा पनि २०५२ सालदेखिको मात्रै नभएर २००६ सालदेखिको चर्चा गर्न पूर्वमाओवादी कार्यकर्ताहरूलाई उनले आग्रह गरे । नेकपा एमालेका कार्यकर्ताहरुले अध्यक्ष केपी ओलीलाई ‘बा’ भन्ने गरेकोप्रति कटाक्ष गर्दै उनले पार्टी भित्र ‘बा’ प्रवृत्ति हावी हुन दिन नहुने बताए।
‘अब एउटै पार्टी बनाएका छौँ । सबै जनसंगठनहरुलाई पनि एकताबद्ध गर्नुपर्नेछ । इतिहासको चर्चा गर्दाखेरि पनि ५२ सालदेखीको मात्रै होइन २००६ सालदेखिको चर्चा हुनुपर्छ,’ नेपालले भने, ‘२०२८ सालदेखि झापा विद्रोहको चर्चा हुनेछ । एउटा नेताको मात्रै हुनेछैन, अनेकौँ नेताहरुले खेलेको महत्वपूर्ण भूमिकालाई पनि स्मरण गुर्नपर्छ । नभए हामीभित्र पनि बा भन्ने प्रवृति हावी हुनेछ । बा प्रवृत्तिबाट मुक्त हौँ, हामी।
प्रकाशित मिति: १० मंसिर २०८२, मंगलबार

प्रतिक्रिया