कवि प्रेम शर्मा ‘एकान्तप्रेमी’को दोस्रो कविता–सङ्ग्रह ‘बिद्रोहका आवाजहरू’ आइतबार सिलगढी गोर्खा हाटको मञ्चमा एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ। २०१५ मा प्रकाशित ‘मायाका रङ्गहरू’ पछि आएको यो कृति साहित्यिक समाजमा नयाँ उत्साहका साथ स्वागत गरिएको छ।

कार्यक्रमको प्रारम्भमा पुस्तकमा भूमिका लेख्ने सुप्रसिद्ध सर्जक उर्मिला घिसिङको सम्झनामा २ मिनेट मौन धारण गर्दै श्रद्धाञ्जली अर्पण गरियो।

समारोहका मुख्य अतिथि हास्य–व्यङ्ग्यकार तथा नाटककार कृष्ण प्रधान रहेका थिए भने डा.आनन्द छेत्री, मनोज बोगटी, अर्जुन शर्मा, कवि बासु थापा पुलामी, बिनोद प्रधान ,पार्वती देवान र सुरज रोसुरी अतिथिका रूपमा उपस्थित थिए।स्वागत मन्तव्य प्रकाशक पुरण छेत्रीले प्रस्तुत गर्दै युवा सिर्जनशीलतालाई प्रोत्साहित गर्ने आफ्नो प्रकाशन यात्राबारे उल्लेख गरे।उनका अनुसार, “युवालाई उभ्याउन सक्नु नै साहित्यको भविष्य निर्माण हो।”

कविता–सङ्ग्रहको औपचारिक विमोचन कृष्ण प्रधान, मनोज बोगटी, पुरण छेत्री, सरोजा बान्तवा, अनुप छेत्री, डा.आनन्द छेत्री र पार्वती देवानको संयुक्त बाहुलीबाट सम्पन्न भयो। विमोचनको घोषणा स्वयम् कृष्ण प्रधानले गरे।कवि प्रेम शर्माले आफ्नो कृति, विचार र सिर्जनात्मक यात्राबारे धारणा राख्दै केही कविता वाचन गरे।कार्यक्रममा दार्जिलिङ–कालेबुङ क्षेत्रका युवाको साहित्यिक योगदानबारे मनोज बोगटीले प्रोत्साहनपूर्ण मन्तव्य दिए।

त्यसपछि अर्जुन शर्मा, सरोजा बान्तवा, निमा तामाङ, आनन्द तामाङलगायतका सर्जकहरूले कविता वाचन प्रस्तुत गरे।कार्यक्रमको सञ्चालन उमेश परियारले गरेका थिए। अन्त्यमा गोर्खा हाट आयोजक समितिप्रति आभार व्यक्त गर्दै सदस्यहरुलाई खदा प्रदान गरी सम्मान गरिएको थियो।

कवि प्रेम शर्मा ‘एकान्तप्रेमी’को ‘बिद्रोहका आवाजहरू’ अब सर्वसाधारण पाठकका लागि उपलब्ध भएको छ।

प्रकाशित मिति: ९ मंसिर २०८२, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com