१९ कात्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष तीन नेतासँग भेट्न नचाहेको प्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले केही दिन अघि प्रधानमन्त्री कार्कीले आफूसहित शीर्ष नेताको अनुहार नै हेर्न नचाहेको बताएको प्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

जेनजीको भावना अनुसार कार्कीलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको बताउँदै प्रचण्डले संविधान जोगाउन खेलेको भूमिकालाई नजरअन्दाज गरिएको भन्दै असन्तोष पोखे । आफूले प्रधानमन्त्री कार्कीको अभिव्यक्ति सञ्चारमाध्यमबाट सुनेको भन्दै प्रचण्डले भने, ‘मलाई थाहा छैन त्यो साँचो हो कि झुटो हो, हामीले चुनावको माहोल बनाउनका लागि, सुशीलाजीलाई प्रधानमन्त्री बनाउनका लागि, संविधान बचाउनका लागि खेलेको भूमिकालाई जसरी हेर्नुपर्थ्यो त्यसरी हेरिएको छैन कि १’

दलहरूको भूमिकालाई बेवास्ता गरेर प्रधानमन्त्री कार्कीले शीर्ष नेतालाई भेट्नै नचाहनु अनुचित भएको प्रचण्डको टिप्पणी छ । ‘प्रधानमन्त्रीले फलाना फलाना नेतालाई त म हेर्नै मन लाको छैन भन्नु भो रे, भन्दाखेरि अलि चसक्क त बिझेको छ, मलाई थाहा छैन प्रधानमन्त्रीले त्यस्तो भाषा भन्नुभएको हो कि होइन, तर म आशा गर्छु त्यस्तो हुँदैन,’ उनले भने ।

१४ कात्तिकमा सम्पादकहरूसँगको भेटमा प्रधानमन्त्री कार्कीले युवा विद्रोहले दलका तीन शीर्ष नेताको विकल्प खोजेको बताउँदै भेट्न इच्छा नरहेको बताएकी थिइन् । प्रधानमन्त्री कार्कीले केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्ड धेरै वर्षदेखि शक्तिमा बसेको भन्दै जेनजी युवाहरूले उनीहरूको विकल्प खोजेको तर्क गर्दै भेट्ने इच्छा नभएको बताएकी थिइन् । प्रधानमन्त्री कार्कीको उक्त भनाइप्रति प्रचण्डले असन्तुष्टि जनाएका हुन् ।

प्रकाशित मिति: २० कार्तिक २०८२, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com