प्रदिप योङ्हाङ
समकालिन कविता साहित्यमा स्थापित नाम हो कवि प्रदिप योङ्हाङ।उनी आफ्ना कविताहरुमा लिम्बु संस्कृति जीवन बचाइँ र मुन्धुमका कुरालाई केन्द्रिय बिषय बनाएर लेख्छन्।उनको लेखनीको उच्चतम खासियत भनेको आफू उभेको जरालाई सुरक्षित राख्नु हो।यस मानेमा उनी आफू हुर्किआएको जरावादी कवि हुन्।सम्पादक विशाल नाल्बोे।
चिहानफूल
अप्ठ्यारो कुइनेटो हुँदै हिँड्दै गर्दा,
कतै अलप भए सँगै हिंड्छु भनेर,
सम्म बाटो भरी सँगै हिँडेका पैँतालाहरू कतै उडी गए
आश्वासनका गीत सुनाइरहने,सम्बन्धका चराहरू
कतै छेलिएर लुकिगए,
बाटो देखाइरहन्छु भन्ने घामजूनहरू
त्यतिबेलै
खुइया काढ्ने चौतारोहरू पनि,भत्किएको देखेपछि,
समयले च्यापेको खैनी हो जस्तो लागेर आयो,यो जिन्दगी र
दुबोको पातबाट खसिजाने शीत जस्तो,खसि जाउँ सोचेर
बतासको बेगसँग हराइजाने एउटा पात जस्तो,हराइजाउँ सोचेर
चिसो चुलो र चुकुल नलाग्ने दैलो सँग
अन्तिम संवाद गर्दै
म नस्किएको थिएँ,अक्करे भीर तिर।
एक्छिन् पछि गुल्टिजानेछु, कुनै ढुङ्गा जस्तै
र निदाउने छु,यतिन्जेल ननिदाएको आनन्दको निन्द्रा।
यति सम्झिँदै सम्झिँदै म हिँडिरहे,अक्करेभीर तिर
चिहानघारीको बाटो हुँदै।
हाम्फाल्नलाई आतुर थियो,मेरो पैँताला
शरीरबाट छुट्न आतुर थियो,मेरो आत्मा
यसरी सबै सबै बिर्सिएर हिँडेको म
अचानक सबै सबै सम्झिएर, घर फर्किएँ
नाथे चिहानमा पनि
बतास सँग इत्रिँदै
एउटा फूल फुलिरहेको देखेपछि।
प्रकाशित मिति: १५ कार्तिक २०८२, शुक्रबार

प्रतिक्रिया