काठमाडौं/ जुलाई २०२६ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (FIPNA) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधि सभा सदस्य मनिष झाको ध्यानाकर्षण गराउँदै समावेशिता, पहिचानको संरक्षण र नयाँ राजनीतिक नेतृत्वको जिम्मेवारीबारे गम्भीर आग्रह गरेको छ ।

हालै सम्पन्न रास्वपाको महाधिवेशनबाट नयाँ पुस्ताको नेतृत्वको रूपमा अगाडि आउनुभएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै महासंघले देशले अपेक्षा गरेको नयाँ सोच, लोकतान्त्रिक संस्कार र जिम्मेवार नेतृत्वको अभ्यास गर्न आग्रह गरेको हो ।

१२ जुलाई २०२६ मा प्रेषित पत्रमार्फत महासंघले मुख्य रूपमा तीन विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।

पहिलो, समावेशिताको वास्तविक कार्यान्वयन । महासंघले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र समावेशी राज्य व्यवस्थाको निर्माणमा आदिवासी जनजाति, मधेसी, दलित, महिला, मुस्लिम तथा अन्य सीमान्तकृत समुदायको ऐतिहासिक योगदान रहेको स्मरण गराउँदै समावेशिता केवल राजनीतिक नारामा सीमित हुन नहुने उल्लेख गरेको छ । राज्यका सबै निकायमा समान अवसर, सम्मानजनक प्रतिनिधित्व र सामाजिक न्याय सुनिश्चित गरिनुपर्नेमा जोड दिइएको छ ।

दोस्रो, राष्ट्रिय प्रतिष्ठानहरूको संरक्षण र सुदृढीकरण । पत्रमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान जस्ता संस्थाहरू कुनै एक समुदायका लागि मात्र नभई नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानको संरक्षण गर्ने राष्ट्रिय संरचना भएको उल्लेख गरिएको छ । यस्ता संस्थाहरूलाई कमजोर बनाउनेभन्दा थप सशक्त, प्रभावकारी र उत्तरदायी बनाउने दिशामा संसद् र सरकारले पहल गर्नुपर्ने महासंघको माग छ । साथै पहिचानसम्बन्धी संरचनाहरूलाई खारेज गर्ने वा कमजोर बनाउने बहसले सामाजिक असन्तुष्टि बढाई राष्ट्रिय एकतामै नकारात्मक असर पार्न सक्ने चेतावनी पनि पत्रमा दिइएको छ ।

तेस्रो, नयाँ राजनीतिक शक्तिको ऐतिहासिक जिम्मेवारी । राष्ट्रिय स्वतन्त्र पार्टीलाई नयाँ राजनीतिक विकल्पका रूपमा उल्लेख गर्दै महासंघले पुराना राजनीतिक कमजोरीहरू दोहोर्‍याउने होइन, समावेशी लोकतन्त्रको नयाँ मानक स्थापित गर्ने अवसर अहिलेको नेतृत्वसँग रहेको जनाएको छ । सांसद मनिष झा स्वयं समावेशिताको भावनासँग जोडिएको समुदायबाट निर्वाचित प्रतिनिधि भएकाले उहाँले संसद् तथा पार्टीभित्र आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित तथा अन्य सीमान्तकृत समुदायको न्यायपूर्ण प्रतिनिधित्व र अधिकारको पक्षमा सशक्त आवाज उठाउनुहुने विश्वास महासंघले व्यक्त गरेको छ ।

महासंघले प्रवासमा रहे पनि नेपालको सामाजिक न्याय, समावेशी लोकतन्त्र, पहिचानको संरक्षण तथा समान अधिकारको अभियानप्रति आफ्नो निरन्तर ऐक्यबद्धता र प्रतिबद्धता रहेको स्पष्ट पार्दै नयाँ राजनीतिक नेतृत्वले संविधानको समावेशी मर्मअनुसार राष्ट्र निर्माणको दिशामा प्रभावकारी भूमिका खेल्ने अपेक्षा समेत व्यक्त गरेको महासंघका महासचिव सुमन थाम्सुहाङ ‘मिराक’ले बनाउनुभयो |

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com