३० चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई इरानको मद्दत नगर्न धम्की दिएका छन्। उनले आइतबार एक अन्तर्वार्तामा यदि चीनले इरानलाई सैन्य मद्दत गरेको पाइयो भने, त्यसमाथि ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्की दिएका हुन् ।

ट्रम्पले बेलायत र अन्य केही देशहरूले होर्मुज स्ट्रेटमा बारुदी सुरुङ हटाउने नौसैनिक जहाजहरू पठाउने पनि बताए ।

ट्रम्पले नेटोप्रति असन्तुष्टि व्यक्त गर्दै आवश्यकताको समयमा सङ्गठन अमेरिकाको साथमा नरहेको बताएका छन्। ट्रम्पले अमेरिकाले नेटोमा भारी खर्च गर्ने तर अपेक्षाअनुसार समर्थन नपाएको बताए। उनले आफू नेटोदेखि निराश रहेको र यस विषयमा गम्भीर समीक्षा गरिने बताए।

यसअघि ट्रम्पले सही समय आएपछि आफ्नो देशले इरानविरुद्ध कारबाही गर्ने बताएका थिए। उनले यसका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जालको पोस्टमा अमेरिका ‘लक्ड एन्ड लोडेड’ अर्थात् पूर्ण रूपमा तयार रहेको बताएका छन्। सही समय आएपछि अमेरिकी सेनाले इरानमाथि कारबाही गर्न सक्ने उनले संकेत गरेका हुन् ।

यसअघि ट्रम्पले इरानलाई टोल तिर्ने जहाजहरूलाई पनि बाटोमै रोक्ने धम्की दिएका थिए । उता, यरानले भने होर्मुज स्ट्रेट पूर्ण रूपमा आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै त्यहाँबाट गुज्रिने जहाजहरूले रियालमा टोल तिर्नु अनिवार्य हुने बताएको छ।

युद्धविराम कायम छ, अमेरिका फेरि सुरु गर्न सक्छ युद्ध

ट्रम्पले इरानसँग युद्धविराम कायम रहेको बताएका छन्। उनले इरानविरुद्ध घोषणा गरिएको नौसैनिक नाकाबन्दी सोमबार बिहानदेखि लागू हुने जानकारी दिए। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार, इरानका बन्दरगाहहरूतर्फ आउने-जाने सबै जहाजहरूलाई रोकिनेछ।

ट्रम्पले इरान अझै पनि वार्ताको टेबलमा फर्किन सक्ने बताए । उनले इरान खराब स्थितिमा र दबाबमा रहेको दाबी गरे। ट्रम्पले भने, ‘यदि उनीहरू फर्किन्छन् भने ठीक छ, फर्किदैनन् भने पनि मलाई फरक पर्दैन।’

इरानसँगको वार्ता असफल भएपछि अमेरिकाले इरानमाथि फेरि सैन्य कारबाही सुरु गर्न सक्ने वाल स्ट्रिट जर्नलको रिपोर्टमा उल्लेख छ। रिपोर्टका अनुसार राष्ट्रपति ट्रम्प इरानमाथि पुनः हवाई आक्रमण गर्ने विकल्पमा विचार गरिरहेका छन्।

अमेरिकाले होर्मुज स्ट्रेटमा नौसैनिक नाकाबन्दीको घोषणा गरिसकेको छ र अब यसका साथै अन्य सैन्य विकल्पहरूमा पनि विचार भइरहेको बताएको छ। ह्वाइट हाउसले सबै विकल्प खुला रहेको र परिस्थितिको आधारमा अगाडिको निर्णय लिइने बताएको छ।

एसियाली सेयर बजारमा गिरावट

इरानविरुद्ध अमेरिकी नाकाबन्दीको घोषणाले एसियाली सेयर बजारमा गिरावट दर्ता गरिएको छ। जापानको निक्केई २२५ इन्डेक्स ०.८४ प्रतिशतले घट्यो भने टोपिक्स ०.४२ प्रतिशतले तल झर्‍यो। दक्षिण कोरियाको कोस्पी इन्डेक्स १.८३ प्रतिशतले ओरालो लाग्यो। लगानीकर्ताहरूमा नाकाबन्दीका कारण तेल आपूर्ति, विशेषगरी होर्मुज स्ट्रेटमार्फत हुने आपूर्ति प्रभावित हुन सक्ने भन्दै चिन्ता बढेको छ।

प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com