काठमाडौं। कमेडी रियालिटी शो ‘कमेडी दरबार’ को तेस्रो सिजन आउँदो वैशाख ४ गतेदेखि प्रशारण हुँदैछ। करिब तीन महिनाको अन्तरालपछि प्रशारण हुन लागेको नयाँ सिजनमा केहि फेरबदल गरिएको छ। सेट डिजाइन र प्रस्तुतिमा परिमार्जनसंगै यो सिजनमा कलाकारको टीममा पनि फेरबदल भएको छ।

यसअघि दुई सिजनमा सहभागी दुई कलाकारहरु उत्सव सापकोटा र हिमेश पन्तलाई, यो सिजनमा दर्शकले देख्न पाउने छैनन्। उनीहरुको स्थानमा तीन नयाँ कलाकारहरु सन्तोष थापा, दिनेश काफ्ले र सुजन जिम्बा थपिएका छन्।

दुई सिजनमा देखिएका उत्सव र हिमेश, यो पटक किने छुटे भन्नेमा दर्शक अलमल छन्। यी दुईले छोडेका हुन् कि हटाइएको हो भन्नेबारे निर्माण टीमले समेत केही बताउन नचाहेपछि, थप अन्योलता पैदा भएको छ।

यसैबिच, कलाकार हिमेश पन्तले आफ्नो सामाजिक संजालमा एक स्टाट्स लेख्दै, आफू कमेडी दरबारमा नहुनुको कारण खुलाएका छन्। पढाई र केही व्यक्तिगत कारणले आफू यो सिजनमा सहभागी हुन नपाएको उनको भनाई छ।

उनले लेखेका छन्, ‘कमेडी दरबार सिजन १’ र ‘सिजन २’ को यात्रा साँच्चै अविस्मरणीय रह्यो। हाँसो, संघर्ष, सिकाइ र दर्शकको माया : यी सबैले कमेडी दरबारलाई मेरो लागि एउटा परिवार जस्तै बनाइदियो। अब जीवनको अर्को चरणतिर अघि बढ्ने क्रममा पि.एच.डी को तयारी र केही व्यक्तिगत कारणले गर्दा, मैले कमेडी दरबारबाट अलग हुने निर्णय गरेको छु।’

यो निर्णय लिन सजिलो नभएको उनले बताएका छन्। नयाँ यात्राहरू पनि उत्तिकै महत्वपूर्ण हुन्छन् भन्ने विश्वास छ। सिजन ३ का नयाँ टिमलाई धेरै धेरै शुभकामना। तपाईंहरूको सिर्जना अझै उत्कृष्ट होस्। दर्शकको माया अझै बढोस्’,उनी भन्छन।

उनले नयाँ सिजनको सम्पुर्ण टिमलाई शुभकामनासहित, अहिलेसम्म आफुलाई साथ, माया र समर्थन गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन्।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com