२६ चैत, काठमाडौं । हर्क साम्पाङले धनुषामा चुनावी अभियान चलाउनु अघिसम्म रुबीकुमारी ठाकुर श्रम संस्कृति पार्टीमा जोडिएकी नै थिइनन् । जब उनले पहिलो पटक हर्कलाई भेटिन्, त्यसपछि माटोलाई भोट माग्दै मतदाताको घरदैलोसम्म पुगिन् ।

समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी तीनै २५ वर्षीया रुबीकुमारी उपसभामुख जस्तो गरिमामय पदमा आसिन हुने संघारमा छिन् । किनकी उनलाई संसदको सबैभन्दा ठूलो दल रास्वपाले समर्थन गरेको छ ।

आफ्नो संसद् यात्रा नै २५ वर्षीया रुबीलाई अप्रत्याशित लागेको थियो । समानुपातिक सांसदको सूचीमा परेपछि रुबी कुमारीले भनेकी थिइन्, ‘म सामान्य मान्छे । तर सधैं श्रम संस्कृति पार्टी र अध्यक्ष हर्क साम्पाङको भिडियो हेर्थें । र, देशका लागि यस्तो मान्छे चाहिन्छ भन्ने लागेर समर्थक बन्न पुगें । सांसद बन्नु मेरा लागि ‘सरप्राइज’ नै हो ।’

राजनीतिमा रातारात नाटकीय परिवर्तन नआए उनी उपसभामुख जस्तो गरिमामय पदमा पुग्ने करिब निश्चित भएको छ ।

रुबी स्थानीय बलरा पोलिटेक्निकबाट तीन वर्षे डिप्लोमा इन्जिनियरिङ सकेर ७ महिना अघिदेखि धनुषाकै एक कन्सल्टेन्सीमा जागिर खाइरहेकी थिइन् । त्यतिबेलै उनलाई श्रम संस्कृति पार्टीले समानुपातिक सांसद बनाएको थियो ।

स्वतन्त्र रूपमा आफ्नै काममा रमाइरहेकी रुबी कन्सल्टेन्सीमा मासिक २० हजार तलब खान्थिन् । श्रम संस्कृति पार्टीले पत्याएपछि उनी खुला राजनीतिमा होमिएकी थिइन् ।

धनुषाको मझेलियाकी रैथाने भए पनि उनी मधेशवादी दल, एमाले, कांग्रेस, नेकपा र रास्वपामा आकर्षित भइनन् । अथवा, ती दलले उनलाई पत्याएनन् ।

स्वतन्त्र रूपमा आफ्नै काममा रमाइरहेकी रुबी कन्सल्टेन्सीमा मासिक २० हजार तलब खान्थिन् । श्रम संस्कृति पार्टीले पत्याएपछि उनी खुला राजनीतिमा होमिएकी थिइन् ।

रुबीका बाबु सोगराथ ठाकुर साउदी अरबमा वैदेशिक रोजगारीमा जानुअघि कपाल काट्ने पेसामा थिए । हाल उनी साउदीमा छन् । आमा रेणु ठाकुर गृहिणी हुन् । परिवारमा रुबीसहित चार बहिनी र दुई भाइ छन् ।

प्रतिनिधिसभाको उपसभामुख पदमा मनोनयन दर्ता गर्दै रुबीकुमारी ठाकुर

राजनीतिक भाषा उति नजानेकी रुबीले ‘नर्भस’ हुँदै धरानस्थित श्रमसंस्कृति पार्टीको कार्यालयमा अनलाइनखबरसँग भनेकी थिइन्, ‘हामी एक कठ्ठा जमिनमा बसेका छौं । जीविकाका लागि अर्काको दुई बिघा जमिन बटैयामा (अधिया) मा कमाउँछौं । बाबाले मासिक १५/२० हजार रुपैयाँ घर खर्च पठाउनुहुन्छ । म मासिक २० हजार कमाउँथेँ । अब व्यक्तिगत समस्याभन्दा पनि जनताको समस्या बुझ्नुपर्ने भएकाले मेरो ध्यान संसदमा बढी हुन्छ ।’

नेपालको कानुनले दहेज प्रथालाई प्रतिबन्ध लगाए पनि त्यो कानुन कार्यान्वयन हुन नसक्दा महिलाहरू बढी पीडित भएको बुझाइ उनको छ । त्यसैले संसद्‌बाट दहेज प्रथा, बालविवाह र बेरोजगारी जस्ता समस्या समाधानका लगि पहल गर्ने उनले बताइन् ।

संस्कृतिमा प्रवेश गर्नुअघि डिप्लोमा तहको इन्जिनियरिङ अध्ययन गरिरहेको बेला उनले समाजमा अपाङ्गता भएका समुदायलाई केही सहयोग हुने काम गर्ने योजना बनाएकी थिइन् ।

संसद्‌बाट दहेज प्रथा, बालविवाह र बेरोजगारी जस्ता समस्या समाधानका लगि पहल गर्ने उनले बताइन् ।

धनुषाको मझेलियास्थित श्री माध्यमिक विद्यालयबाट एसईई गरेपछि उनले स्वरोजगार हुनका लागि डिप्लोमा इन्जिनियरिङ पढेकी थिइन् ।

सन् २०१८ मा एसईई गरेपछि तीन वर्षे कोर्षको डिप्लोमा इन्जिनियरिङ गरेकी उनले टुडी र थ्रिडी प्रविधिबाट पनि घरको नक्सा बनाउन सिकेकी थिइन् ।

डिप्लोमा इन्जिनियरिङ गरिसकेकाले अब बीई (ब्याचलर इन्जिनियरिङ) गर्ने योजना उनको छ । सांसदको जिम्मेवारी पनि सम्हाल्दै उमेर छँदै समय मिलाएर बीई गर्ने उनको योजना छ ।

‘राजनीतिक यात्रामा सांसद हुनु देश र जनताका लागि अवसर हो भने ब्याचलर इन्जिनियरिङ मेरो परिवार र जीविकाका लागि काम लाग्छ भनेर इन्जिनियरिङ अध्ययनलाई निरन्तरता दिन चाहेकी छु’, रुबी भन्छिन् ।

जेनजी उमेरमै उपसभामुख बन्ने अवसर पाएकी रुबीले हालसम्म विवाह गरेकी छैनन् ।

विवाहको प्रसंगमा उनले भनेकी थिइन््, ‘पाँच वर्ष संसद्लाई दिन्छु । समय मिलाएर इन्जिनियरिङको थप अध्ययन गर्छु । त्यसपछि विवाहबारे सोचौंला ।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com