सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिएपछि आवश्यक परे सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गर्न सकिने संकेत गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री Pratibha Rawal ले ऊर्जा बचतका लागि विभिन्न कदम अघि बढाइसकेको जानकारी दिइन्।
उनका अनुसार हाल थोक रूपमा इन्धन बिक्रीमा नियन्त्रण गरिएको छ भने उच्च पदस्थ अधिकारीहरूको इन्धन खपतसमेत घटाइएको छ। अवस्था झन् जटिल बनेमा सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली लागू गर्न सकिने उनले बताइन्।
ऊर्जा खपत कम गर्न सरकारले सर्वसाधारणलाई ‘वर्क फ्रम होम’ अपनाउन र विद्युतीय सवारी प्रयोग बढाउन पनि आह्वान गरेको छ।
दीर्घकालीन समाधानका रूपमा पुराना सवारीसाधनलाई रूपान्तरण गर्ने कानुनी व्यवस्था अघि बढाइएको सरकारको भनाइ छ। त्यसका लागि इथानोल सम्बन्धी नीतिको तयारी भइरहेको र विद्युतीय सवारीको पूर्वाधार विस्तारमा पनि सरकारले जोड दिएको मन्त्री रावलले बताइन्।
सरकार पारदर्शी रहेको र जनताको समस्या बुझेर नै ऊर्जा बचतका उपायहरू अघि बढाइएको उनले उल्लेख गरिन्।
प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार

प्रतिक्रिया