२१ फागुन, काठमाडौं । ‘एक थोपा रगत नबग्ने गरी र एक जना पनि घाइते नहुने गरी निर्वाचन सम्पन्न गराउनुपर्छ ।’
१२ मंसिरमा सैनिक मुख्यालय जंगी अड्डाको निरीक्षण गर्दै प्रधानमन्त्री सुशीला कार्कीले प्रधानसेनापति अशोकराज सिग्देललाई निर्देशन दिएकी थिइन् । त्यसपछि प्रधानमन्त्री कार्कीले रगत नबगाई निर्वाचन सम्पन्न गराउने विषय पटक–पटक दोहोर्याइरहिन् ।
कार्कीले भनेजस्तै अहिले एक थोपा पनि रगत नबगी प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको छ । देशभरका १६५ निर्वाचन क्षेत्रका १० हजार ९६७ मतदानस्थलहरुमा उत्साहपूर्वक मतदान भयो । केही मतदानस्थलमा सामान्य छिटपुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान सकिएको छ ।
८० हजार नेपाली सेना, ७० हजार नेपाल प्रहरी, ३४ हजार सशस्त्र प्रहरी र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी गरी करिब साढे तीन लाख सुरक्षाकर्मी निर्वाचनमा खटिएका थिए ।
निर्वाचनकै लागि प्रहरी प्रधान कार्यालयमा केन्द्रीय निर्वाचन सेल र कमाण्ड सेन्टर स्थापना गरिएको थियो । केन्द्रीय निर्वाचन सेलबाट सबै जिल्लास्थित निर्वाचन सेलबाट भइरहेको कामकारबाही एवं गतिविधिको जानकारी लिने काम भयो ।
एसएसपी दयानिधि ज्ञवालीको कमाण्डमा निर्वाचन विश्लेषण महाशाखा पनि खडा गरेर काम भएको थियो । प्रहरीका यी प्रयासबाट पनि निर्वाचन शान्तिपूर्ण बनाउन सम्भव भएको छ ।
शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन नेपाली सेना १ महिनाअघि २१ माघबाट फिल्डमा निस्केको थियो । संयुक्त गस्तीदेखि सेनाले बख्तरबन्दका गाडीहरूमार्फत पनि गस्ती बढायो । जसले एरिया डोमिनेट गर्ने काम गर्यो । मनावैज्ञानिक रुपमा नागरिकमा यसले शान्ति सुरक्षा मजबुत छ भन्ने प्रभाव पार्न ठूलो भूमिका खेलेको सेनाको बुझाइ छ ।
‘बर्दी सो अफ थ्योरी अनुसार सेनाले आफ्नो उपस्थिती गाउँगाउँ पुर्याएको थियो । यसले निर्वाचन बिथोल्न खोज्ने र झडप गर्न खोज्नेलाई डोमिनट गर्न सहज भयो । एक महिना अघिको यो गस्ती शान्तिपूर्ण रुपमा निर्वाचन गराउन सफल भयो’ एक सैनिक अधिकृतको बुझाइ छ ।
निर्वाचनमा ८० हजार सेना परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत बताउँछन् ।
सशस्त्र प्रहरीको भूमिका पनि उल्लेख्य रह्यो । संवेदनशील क्षेत्रमा पर्याप्त मात्रामा जनशक्ति परिचालन गरेर काम भयो ।
नेपाल प्रहरीका पूर्र्र्वएआइजी उत्तमराज सुवेदीको अहिलेको यो निर्वाचन शान्ति सुरक्षाको हिसाबले ऐतिहासिक रहेको बताउँछन् ।
‘हामी सानो हुँदा पञ्चायतकालको चुनाव सुन्यौं । ३० वर्ष त प्रहरी सेवामा रहेर धेरै पटक निर्वाचन गरायौं । तर यतिको शान्तिपूर्ण निर्वाचन भएको थिएन । यसलाई पनि सुरक्षाको हिसाबले ऐतिहासिक मान्छु’ पूर्वएआईजी सुवेदी भन्छन् ।
अहिलेको विषम परिस्थिति, जेनजी आन्दोलन र त्यसबाट सुरक्षा निकायमा पुगेको क्षति, खस्केको मनोबल, स्रोत साधनको अभाव, फरार कैदीबन्दी, लुटिएका हतियार जस्ता विषयहरुले अहिलेको चुनावलाई सुरक्षाका हिसाबले निकै संवेदनशील मानिएको थियो ।
अझ एकथरीको निर्वाचन नै हुँदैन भन्ने भाष्य र बाह्य चलखेललाई पनि कारण देखाउने गरिएको थियो । तर ती सबै भाष्यहरुलाई चिर्दै शान्तिपूर्ण निर्वाचन हुनलाई सुरक्षाका हिसाबले ऐतिहासिक रुपमा आफूले लिएको सुवेदी बताउँछन् ।
यो निर्वाचनले शान्ति सुरक्षाका मामलामा सुरक्षा निकायले भरपुर तयारी गरेको र आफूलाई अब्बल रहेको पुष्टि गरेको सुरक्षा जानकारहरुको बुझाइ छ ।
चार वटै सुरक्षा निकायबीच समन्वय भूमिका पनि उल्लेख्य रह्यो । एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना २०८२ बनाएर निर्वाचन सुरुक्षाको काम भइरहेको छ।
एकीकृत सुरक्षाको मुख्य लिड नेपाली सेनाले गरेको छ । अहिले पनि हरेक दिन सबै सुरक्षा निकायका निर्वाचन सेल हेर्ने सुरक्षाकर्मीहरु सैनिक मुख्यालय जंगी अड्डा पुगेर सुरक्षा विश्लेषण गर्नेदेखि रणनीति बनाएर काम गर्दै आएका छन् ।
जसले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागबीच राम्रो समन्वय भएको देखिन्छ । यसको नतिजा फिल्डमै देखिएको छ । पर्सामा हिंसा भड्काउने उद्देश्यले सुँगुरका टाउका र ९ वटा सुतली बमसहित पक्राउ पर्ने व्यक्तिको सूचना नै नेपाली सेनाले नेपाल प्रहरीलाई दिएको थियो ।
सेनाको सूचनाअनुसार प्रहरीले बेलैमा अपरेशन गर्दा दुर्घटना हुनबाट टरेको थियो । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेत एकीकृत सुरक्षा योजना बनाएर निर्वाचन पूर्व, निर्वाचनको अवधि र निर्वाचन पश्चातको अवधि के–के गर्ने भन्ने प्रष्ट तोकेर सबैसँग समन्य गरेर काम गर्दा निर्वाचन शान्तिपूर्ण भएको बताउँछन् ।
छिटपुट घटना
सर्लाहीको क्षेत्र नम्बरमा पर्ने बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भएको हो । तर त्यो स्थितिलाई बेलैमा सुरक्षा निकायले नियन्त्रणमा लिए । त्यसपछि मतदान सुरु भयो ।
यो क्षेत्रबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेशकुमार सिंह उम्मेदवार थिए । हेभिवेट भिडन्त भएकाले सुरक्षा चुनौती निकै हुने आँकलन गरिएको थियो । तर सुरक्षा व्यवस्था चुस्त रहेकाले कुनै घटना भएन ।
उदयपुरको कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा सुरक्षाकर्मी बोकेको हतियारबाट गोली पड्कियो । प्रहरी जवानले बोकेको हतियारबाट गोली पड्किदा मतपेटिकामा क्षति भयो । ४ मत खसेको उक्त मतपत्र भने सुरक्षित रहेकाले त्यहाँ कुनै विवाद तत्कालै मतदान सुरु भयो ।
झापा जिल्लालाई सुरक्षाका हिसाबले निकै चुनौतीपूर्ण मानिएको थियो । झापा–५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवार भएका थिए । दुबै हेभिवेट र दुबै प्रधानमन्त्रीका उम्मेदवार रहेकाले पनि यहाँ सुरक्षा चुनौती रहेको विश्लेषण गरिएको छ ।
तर, बिना कुनै घटना शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख तथा एसपी बसुन्धरा खड्का बताउँछिन् । केही ठाउँहरुमा स्थानीय मतदाताहरुले विभिन्न मागहरु राखेर निर्वाचनमा सहभागी अवस्था बाहेक देशभर शान्तिपूर्ण मतदान भएको छ ।
दुर्गा प्रसाईं, नेकपा बहुमतसहित विभिन्न १२ वटा समूहबाट निर्वाचन बिथोल्न सक्ने भन्दै उनीहरुमाथि सुरक्षा निकायले विशेष निगरानी राखेर काम गरेका थिए ।
बिथोल्ने समूहका केहीलाई त पक्राउ गरेर हिरासतमा समेत राखिएको छ । उनीहरुबाट पनि त्यस्तो कुनै ठूलो क्षति हुन पाएन । देशभरबाट निर्वाचनको दिन ३० ठाउँ तर्साउन राखिएको होक्सहरु भेटिएका थिए । त्यस्ता वस्तुहरु नेपाली सेनाले डिस्पोज गरेको थियो ।
४ राउण्ड हवाई फायरमा निर्वाचन सम्पन्न
यो निर्वाचनमा प्रहरीको बन्दुकबाट जम्मा चलेको गोली भनेको ५ राउण्ड हो । जसमध्ये एक राउण्ड असावधानीवश आफैं पड्केको थियो । जुन उदयपुर कटारीको हो । यस बाहेक प्रहरीले जम्मा ४ राउण्ड हवाई फायर गर्नु परेको थियो ।
हरेक पटकको निर्वाचनमा हुने झडप, विवाद जस्तै दोलखामा पनि यस पटक विवाद भयो । मतपत्र नै लिएर मान्छे फरार भएको र निर्वाचन कर्मचारीमाथि हातपात हुन खोजेपछि प्रहरीले ४ राउण्ड हवाई फायर गरेको थियो ।
दोलखाको तामाकोशी गाउँपालिका–४ गोल्मेश्वर मावि मालुमा बिहान ८:४५ बजेबाट विवाद सुरु भयो । प्रहरीले हवाई फायर गरेपछि ९:५ मा पुन मतदान सुरु भयो । ११:१० बजे भने नेपाली कांग्रेसले धाँधली गरेको भन्दै विवाद भयो । त्यसपछि प्रहरीले एसएलआरबाट अर्को तीन राउण्ड हवाई फायर गरेको थियो । विवाद मिलेपछि ४:३४ बजेबाट मतदान सुरु भएको छ ।
हरेक निर्वाचनमा झडप हुने दोलखामा २०६४ को निर्वाचनमा त २ जनाको मृत्यु नै भएको थियो । २०७४ को निर्वाचनमा पनि एक जनाको मृत्यु भएको थियो । गोली चल्नु र घाइते हुनु दोलखाको अवस्थामा सामान्य रहेको सुरक्षाकर्मीहरु बताउँछन् ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया