फाल्गुन ३ आइतबार काठमाडौं। याक्थुङ लिम्बू समुदायको सामाजिक यथार्थ, सांस्कृतिक पृष्ठभूमि र मानवीय संघर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको सिनेमा ‘तवाबा को विशेष प्रदर्शन सम्पन्न भएको छ।
विक्रम संवत् २०३५–४० सालको परिवेशमा आधारित यस चलचित्रले नागाल्याण्ड गएका श्रीमान् मुक्सामको लामो प्रतीक्षामा मानसिक रूपमा विचलित बन्दै गएकी एक महिलाको कथा प्रस्तुत गर्दछ। उनका छोरा सिःलाङको बालमनमा उब्जिएको द्वन्द्व, बुवाको अभावले सिर्जिएको विरक्ति तथा गाउँमा फैलिएको दादुरा र हैजाजस्ता महामारीले निम्त्याएको संकटले कथालाई गहिरो बनाएको छ।
शिक्षा, स्वास्थ्य र आर्थिक अभावका कारण उत्पन्न पारिवारिक तथा सामाजिक समस्यालाई यथार्थपरक ढंगले चित्रण गरिएको यस सिनेमाले याक्थुङ समाजको मौलिक जीवनशैली, भाषा र संस्कृतिलाई सशक्त रूपमा उजागर गरेको छ। दीर्घ प्रतीक्षापछि धागोले बाँधिएको पत्रमार्फत आउने मुक्सामको खबरले कथालाई भावनात्मक तथा दार्शनिक मोडमा पुर्याउँछ। असल कर्म गरे पनि विधाताले लेखेको ‘तवाबा’—नियति स्वीकार्नुपर्ने सन्देश चलचित्रको मुख्य भावका रूपमा प्रस्तुत गरिएको छ।
यस सिनेमाका निर्देशक खगेन्द्र पोङ्धाक लिम्बू हुन्। उहाँले नै चलचित्रको संगीत, स्कृप्ट तथा गीत पनि तयार पारेका छन्। सह–निर्देशक पर्सु थलङ लिम्बु रहेका छन्।

चलचित्रमा सुमी लिम्बु, अर्जुन थापा मित्र तामाङ निवाङ पोङधाक आदीको अभिनय रहेको छ।
कार्यक्रममा पूर्व सांस्कृति तथा उड्डयन मन्त्री सुदन किराँती प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै वरिष्ठ फिल्म निर्देशक नवीन सुब्बा, पूर्व आइजिपी चन्द्र कुबेर खापुङ, कवि तथा निर्देशक उपेन्द्र सुब्बा तथा निर्देशक उदय सुब्बा विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रमको सञ्चालन अर्जुन मादेन लिम्बुले गर्नुभएको थियो।
विशेष प्रदर्शनमा उपस्थित दर्शकले चलचित्रको कथा, प्रस्तुति र यथार्थ चित्रणको प्रशंसा गरेका छन्। याक्थुङ समाजको इतिहास, पीडा र अस्तित्वको संघर्षलाई सशक्त रूपमा उतारेको ‘तवाबा’ले दर्शकमाझ सकारात्मक प्रतिक्रिया प्राप्त गरेको आयोजकले जनाएको छ।
प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार

प्रतिक्रिया