काठमाडौँ। प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्कुम्लुङ (पाथीभरा)मा निर्माणाधीन केबुलकार परियोजनामा भएको अनियमितताको सत्य–तथ्य छानविनको माग गर्दै कोशी प्रदेशका जेनजी अभियन्ताहरू एकजुट भएका छन्। द काउन्सिल अफ जेनजी मा आबद्ध प्रदेशका १४ जिल्लाका अभियन्ताहरूले पाथीभरामा केबुलकार निर्माणको कडा विरोध जनाउँदै संयुक्त लिखित वक्तव्य जारी गरेका हुन्।

वक्तव्यमा उनीहरूले पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित मुक्कुम्लुङ (पाथीभरा) आदिवासी समुदायसहित किराँत तथा हिन्दु सभ्यताका अनुयायीहरूको सांस्कृतिक, धार्मिक र ऐतिहासिक पहिचानको केन्द्र भएको उल्लेख गरेका छन्। राज्यले स्वीकार गरेका अन्तर्राष्ट्रिय सन्धि, संविधानका मौलिक हक तथा आदिवासी जनजातिको अधिकारसम्बन्धी घोषणापत्र–२००७ र अन्तर्राष्ट्रिय वित्तीय नियम (आईएफसी)को नीतिको उल्लंघन गर्दै केबुलकार निर्माण अघि बढाइएको उनीहरूको आरोप छ।

जेनजी अभियन्ताहरूले केबुलकार निर्माणको अनुमति प्रक्रिया, जग्गा प्राप्ति तथा खरिद–बिक्री, साथै वन, वातावरण, धर्म र सभ्यतामाथि गरिएको हस्तक्षेपको गहिरो छानविन गर्न माग गरेका छन्। मागअनुसार तत्काल छानविन प्रक्रिया अघि नबढाइए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।

यस प्रकरणमा नेपालको सर्वोच्च अदालत र अन्तर्राष्ट्रिय निकायहरूमा समेत उजुरी परेको स्मरण गराउँदै वक्तव्यमा पाथीभराको पुरातात्विक महत्व र प्राकृतिक स्रोत—जल, जंगल र जमिन—नष्ट गरी व्यक्ति तथा निजी कम्पनीलाई लाभ पुग्ने गरी गरिएको अतिक्रमण अस्वीकार्य भएको उल्लेख छ। कोशी प्रदेश ९प्रदेश नम्बर १० का १४ जिल्लाबाट एकसाथ नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आठ सूत्रीय माग प्रस्तुत गरिएको छ, जसमा सर्वप्रथम केबुलकार निर्माणको अनुमति दिने सरकारी निर्णय फिर्ता हुनुपर्ने र त्यसपछि संलग्न सबैमाथि छानविन गरी कारबाही गर्नुपर्ने माग प्रमुख छन्।

स्थानीय समुदायको असहमति हुँदाहुँदै राज्य शक्ति र सुरक्षा निकायको दुरुपयोग गरी जबरजस्ती निर्माण कार्य अघि बढाइएको, विरोध प्रदर्शनका क्रममा प्रहरी र सशस्त्र बल प्रयोगबाट कयौं स्थानीय घाइते भएको घटनाप्रति पनि अभियन्ताहरूले आपत्ति जनाएका छन्। स्थानीय समुदायको सहमतिबिना गरिएको कुनै पनि विकास स्वीकार्य नहुने उनीहरूको स्पष्ट चेतावनी छ।

यता, केबुलकार निर्माणविरुद्ध पहिचानवादी संघ–संस्था तथा राजनीतिक दल आबद्ध संगठनहरूले मंगलबारदेखि नै विरोध कार्यक्रम सुरु गरिसकेका छन्। मुक्कुम्लुङ पाङ्सेःप् चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले ताप्लेजुङका विभिन्न स्थानमा गाउँभेला तथा छलफल आयोजना गरेको छ।

संघर्ष समितिले माघ १२ गते कोशी प्रदेशका सबै जिल्लामा कोणसभा, माघ १४ गते राजमार्ग केन्द्रित विरोध कार्यक्रम र माघ १६ गते शहीद दिवसका दिन केबुलकार निर्माण भइरहेको फुङलिङमा जनप्रदर्शन गर्ने घोषणा गरेको छ। माघ महिनाभर निरन्तर आन्दोलन गर्ने कार्यक्रममा १४ वटा पहिचानवादी संघ–संस्था र विभिन्न पार्टी आवद्ध ११ संगठनहरूको सहभागिता रहने जनाइएको छ।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com