८ मंसिर, काठमाडौं । जेनजी युवा नेता रक्षा बमले प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई पदमुक्त गर्न र उनले परिवारका सदस्य तथा नातेदारहरुलाई दिलाएको नियुक्ति खारेज गर्न माग गरेकी छन् ।

श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई प्रधानमन्त्री कार्कीको सचिवालयमा नियुक्ति दिलाएको समाचार सार्वजनिक भएपछि युवा नेता बमले सो माग गरेकी हुन् ।‘यस्तो संवेदनशील अवस्थामा बनेको सरकारको फाईदा उठाउँदै, नातावाद कृपावादलाई हावी गराउन खोज्ने प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव जस्ता मानिसहरूको स्वार्थका कारण, परिवर्तनको लागि बगेको रगतको अपमान भएको छ,’ रक्षा बमले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘जेनजी विद्रोह रकमको भ्रष्टाचार बिरूद्ध मात्र नभई नैतिक भ्रष्टाचार, नातावाद, कृपावाद विरूद्ध पनि थियो ।’

उनले थप लेखेकी छन्, ‘भाद्र २३ मा हामीले सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा नारा लगाएका थियौं । तर नागरिक सरकारको प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिवले नातावाद र कृपावाद अंगालेर नैतिक भ्रष्टाचार गर्दै जसरी श्रीमतीसहित अन्य नातेदारलाई जेनजी विद्रोहकै बलमा जागिर लगाउने काम गरेका छन, त्यो सरासर गलत भएको छ ।’

रक्षा बमले अन्त्यमा लेखेकी छन्, ‘आदर्श कुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्दै, नातावाद र कृपावादलाई प्रोत्साहन गरी उनले दिलाएका पारिवारिक नियुक्तिहरू तुरुन्तै खारेज गरियोस् । नागरिक सरकार सीमित व्यक्तिहरूको चंगुलमा फस्नु हुँदैन । सरकार बेलैमा सचेत होओस् ।’

प्रकाशित मिति: ९ मंसिर २०८२, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com