८ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले पारिवारिक सदस्य र नातेदारहरुलाई नियुक्ति दिलाएको विषयमा जेनजी युवा अगुवाहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर ध्यानाकर्षण गराउँदै छन् ।
द काउन्सिल अफ जेनजी (सुदन गुरुङ) समूहले प्रधानमन्त्री कार्कीलाई भेटेर ध्यानाकर्षण गराउन लागेको हो ।सुदन गुरुङ समूहका सदस्य अनिल बानियाँले भने, ‘आज प्रधानमन्त्रीलाई भेट्न जाँदैछौं । तर १० बजे जाने कि कतिबेला भन्ने टुंगो लागिसकेको छैन । जेहोस्, आज जान्छौं ।’
श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई प्रधानमन्त्री कार्कीको सचिवालयमा नियुक्ति दिलाएको समाचार सार्वजनिक गरेको थियो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्बद्ध स्रोतका अनुसार, नेपाल सरकारको सचिव सरहको सुविधा लिएका आदर्शले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएका छन् ।
स्रोतका अनुसार, नातेदार कमला श्रेष्ठ पनि स्वकीय सहसचिवमा नियुक्त भएकी छन् । संगीता र कमला दुवै एकैदिन अर्थात् असोज २ गते नियुक्त भएका हुन् ।सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएको एक साताभित्रै उनीहरूको नियुक्ति भएको हो । नासु सरहको प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि त्यही दिन नियुक्त भएका थिए ।
यो समाचार सार्वजनिक भएपछि प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने र उनले दिलाएका नियुक्ति खारेज गर्नुपर्ने माग जेनजी युवाहरुले गर्दै आएका छन् ।सुदन गुरुङ समूहले पनि जेनजी पुस्ताको आन्दोलनको दुरुपयोग भएको टिप्पणी गरेको छ । ‘हामीले सुशासन मागेका थियौं तर यस्तो कल्पना गरेका थिएनौं,’ सुदन समूहका सदस्य बानियाँले भने ।
प्रकाशित मिति: ९ मंसिर २०८२, सोमबार

प्रतिक्रिया