१ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले दलित भन्दै विभेद गर्ने हरूलाई आजीवन काराबासको हुने व्यवस्था गर्नुपर्ने बताएका छन् ।सोमबार सिंहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो प्रस्ताव गरेका हुन् ।

अहिले पनि संविधानमा नै दलित शब्द राख्ने काम पापकर्म भएको जिकिर गर्दै नेता गौतमले सो समुदायलाई होच्याउनको सम्पती जफत गरेर उनीहरूलाई क्षतिपूर्ति हुनेगरी कानूनी व्यवस्था गर्न पनि सरकारलाई दबाब दिए ।‘दलित भन्नु यो अत्याचार हो, यो अमानवियता हो । त्यसलाई हामीले कानूनी मान्यता, संवैधानिक मान्यता दिएका छौं । यो संशोधन गर्नुपर्छ । र, एउटा कानून यस्तो बनाउनु पर्छ, जहाँ थोरै मात्र पनि कसैले भन्यो, केही व्यवहार गर्‍यो भने त्यसलाई आजीवन काराबास बस्ने व्यवस्था गर्नुपर्दछ,’ गौतमले भने ।

संवैधानिक रुपमा नै दलित भन्नु अत्याचार, अमानविय र पापकर्म हुने भन्दै नेता गौतमले त्यस्तो हुन नदिनेगरी अघि बढ्नुपर्ने बताए ।‘उसको परिवारभित्र हिस्सा लगाएर उसको सम्पती जफत गरेर जसलाई त्यस्तो गरिएको हो, त्यसलाई त्यो सम्पत्ति क्षतिपूर्तिको रुपमा दिनुपर्छ । त्यसरी क्षतिपूर्ति कायम हुन्छ,’ गौतमले भने, ‘ल त्यसो गरौं त एक पटक । सक्नु हुन्छ ? सकिदैन भने यस्तो छलफल नगरौं । यो अपराधपूर्ण, पापपूर्ण काम हो । आफनो देशको एउटा जनतालाई दलित भनेर मान्यता दिइरहने काम गर्न हुन्न ।’नेता गौतमले राज्यले आवश्यक परे २० खर्ब खर्च गरेर भएपनि दलित समुदायका लागि आवासको व्यवस्था गर्नुपर्ने समेत बताए।

प्रकाशित मिति: २ मंसिर २०८२, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com