काठमाडौं ।नृत्यप्रति चासो राख्ने सबैलाई थाहा छ, आश्मा विश्वकर्मा कुशल नृत्याङ्गना हुन् । कार्टुन क्रुजबाट उदाएकी उनको नृत्यमा बेग्लै तहको ऊर्जा भेटिन्छ ।
कुशल नृत्यकै कारण उनले लाखौं प्रशंसक कमाएका छिन् । पछिल्लो साता त उनी करोडौं दर्शकमाझ पुगेकी छन् । धेरै दर्शकमाझ पुगेपछि चर्चा त यसै पनि हुने भइहाल्यो । यसपटक उनलाई चर्चा दिलाउने काम गरेको छ ‘चिक्री चिक्री’ बोलको गीतले।यो गीत दक्षिण भारतीय स्टार रामचरणको आउँदो वर्ष प्रदर्शन हुने चलचित्र ‘पेड्डी’को हो । एक साताअघि सार्वजनिक यो गीत अहिले निकै नै भाइरल छ । गीतमा रामचरणले गरेको ‘डान्स स्टेप’ले चर्चा मात्रै पाइरहेको छैन, यो ‘स्टेप’लाई पछ्याउनेहरु पनि लाखौंको सङ्ख्यामा छन् ।
यही गीतमा शानदार प्रस्तुति दिएर आश्माले अहिले नृत्य पारखीहरुको मन जितेकी छन् । कतिसम्म भने बलिउड गायिका दीपा झादेखि अभिनेत्री प्रियंका कार्कीसम्मले आश्माको नृत्यको प्रशंसा गरेका छन् । ‘पेड्डी’की अभिनेत्री जान्ह्वी कपुरले समेत आश्माको नृत्यलाई इन्स्टाग्राममा सेयर गरेका छन् ।फेसबुक रिल्स, टिकटक सर्टस्, इन्स्टाग्राम र टिकटकमा भाइरल भइरहेको आश्माको नृत्यले रामचरणलाई नै चुनौती दिएको देखिन्छ । उत्कृष्ट कोरियोग्राफी र खिचाइ अनि सम्पादन र कलरिङले पनि उनको नृत्यलाई दमदार बनाएको छ ।
यस विषयमा बुझ्न खोज्दा आश्माले भनिन्, ‘म रामचरण, जान्ह्वी कपुरको फ्यान हो । रामचरणलाई इन्स्टामा फलो गरिरहेको छु । अस्ति एक्कासी उसले गीतको भिडियो हाल्यो । मलाई उसको डान्सको पारा दाम्मी लाग्यो ।’रामचरणको नृत्य मन परेपछि आफूले एक दिनसम्म कार्टुन्ज क्र्युको अफिसमा प्राक्टिस गरेको बताइन् । यसपछि सहकर्मी सरोज अधिकारीको भाइ सुरज अधिकारी र सन्देश थापालाई लिएर आश्मा सुटका लागि स्वीटजरल्याण्ड पार्क पुगिन् । त्यहाँ दुई घण्टा सुट गरिन् । तर, बिँडी तान्दै नाचेको पहिलो स्टेपमा ‘ब्लर’ देखियो । भोलिपल्ट गएर पुनः खिचे ।
‘नृत्यलाई सुरज भाइले खिचिदियो । एडिट पनि उसैले गरिदियो । कलरिङ पनि उसैले गरिदियो,’ आश्माले सुनाइन्, ‘मलाई स्मोकिङ मन पर्दैन । त्यो नृत्यका लागि तानेको बिँडीले मेरो छाती नै दुख्यो ।’तर, गीतको भिडियो यति धेरै भाइरल होला भनेर आफूले नसोचेको बताइन् । नृत्यको भिडियो सार्वजनिक गरेपछि ‘एप्रिसियसन’ पाउँछु जस्तो लागे पनि यति धेरै दर्शकसम्म पुग्ला भनेर आफूले कल्पनै नगरेको बताइन् । नृत्य भाइरल भएपछि भने आश्मा मख्ख छिन् ।
प्रकाशित मिति: ३० कार्तिक २०८२, शनिबार

प्रतिक्रिया