जनकपुरधाम ।
मधेस प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छैनन् । यस्तो अवस्थामा प्रदेशका तीन दल ठुला दल नेकपा एमाले, नेपाली कांग्रेस र जनमत पार्टीले संयुक्त रूपमा नयाँ सरकार गठनको दाबी प्रस्तुत गरेका छन् ।
बुधबार तीनै दलका नेताहरूले प्रदेश प्रमुखसमक्ष संयुक्त दाबीपत्र बुझाउँदै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णा यादवलाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि सारेका हुन् । संविधानको धारा १६८(२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त सरकार गठन गर्न सकिने प्रावधानअनुसार दाबी गरिएको हो ।
तीन दलका ५८ जना सांसदहरू अहिले प्रदेशसभामा कायम कुल सदस्य संख्याको बहुमत भएको दाबी गर्दै यादवलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरिएको छ ।

जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै भने, ‘जेनजी आन्दोलनको क्रममा मुख्यमन्त्रीले राजीनामा दिएको र त्यसअनुसार पार्टीले समर्थन फिर्ता पनि बोलाएको थियो । तर उहाँ नआएपछि यस्तो कदम चाल्न बाध्य भयौँ,’ उनले थपे, ‘जनताको चाहनाअनुसार फिर्ता हुनुपर्नेमा मुख्यमन्त्रीले ढिपी कसेर पदमा बसिरहनु पार्टी हितविपरीत छ ।’
उनका अनुसार दलहरूले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पदमा बसिरहनुको औचित्य छैन । ‘यदि अहिले पनि राजीनामा नदिने हो भने तीस दिनपछि उहाँ स्वाभाविक रूपमा पदमुक्त हुनुहुनेछ, त्यसपछि पुनः बहुमतका आधारमा नयाँ सरकार गठन हुनेछ,’ उनले भने ।
यद्यपि बुधबार दिनभर मुख्यमन्त्री सिंहले राजीनामा बुझाउने चर्चा चले पनि समाचार लेख्दासम्म मुख्यमन्त्रीको राजीनामा प्रदेश प्रमुख कार्यालयमा पुगेको छैन ।
प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

प्रतिक्रिया