काठमाडौँ ।

जेनजी आन्दोलनपछि बनेको सरकारप्रति छिमेकी देश भारत उत्साहित छ भने चीन मौन छ । 

जेनजी आन्दोलनमा भू–राजनीतिको प्रभावको चर्चा चलिरहेको छ । जेनजीको आन्दोलनमा बाह्य पक्षको प्रभाव देखिएको पनि चर्चा भइरहेको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुशीला कार्की प्रधानमन्त्री भएपछि विभिन्न तीन वटा भाषामा बधाई तथा शुभकामना दिएका थिए । त्यसपछि उनले औपचारिक कार्यक्रमहरूमार्फत प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै आएका छन् । असोज १७ गतेदेखि भएको वर्षाले नेपालमा भएको क्षतिप्रति पनि मोदी बोलेका थिए । 

यसबाट के बुझ्न सकिन्छ भने वर्तमान सरकारप्रति भारत निकै उत्साहित देखिन्छ । यसबारे परराष्ट्र मामिलाका जानकारहरू नै बताउने गर्छन् । तर अर्को छिमेकी मुलुक चीन भने मौन छ । कार्की प्रधानमन्त्रीमा नियुक्त भएपछि तिब्बती धार्मिक गुरु दलाई लामाले बधाई दिएका थिए । 

आफ्नो बधाइ सन्देशमा दलाई लामाले भनेका थिए, ‘म सन् १९५९ पछि तिब्बतबाट जबरजस्ती भाग्नुपरेपछि तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि नेपाल सरकारले र नेपाली जनताले उपलब्ध गराइ दिएको सुविधाका लागि निकै आभारी छु । वास्तवमै, तिब्बती समुदाय तुलनात्मक रूपमा सानो भए तापनि, नेपालको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान दिइरहेको विश्वास गर्छु ।’

यसलाई चीनले भने गम्भीर रूपमा लिएको छ । र नेपालको परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई लिएर संशय उत्पन्न गराएको छ । चीन मामिलाका जानकार रुपक सापकोटा भन्छन्, ‘दलाई लामाको एउटै अभिव्यक्तिले नेपाल–चीन बिचको सम्बन्धको विषयमा निष्कर्षमा पुग्न सकिँदैन तर चीनलाई एउटा संशय उत्पन्न अवश्य गराएको छ ।’

चीनको स्वशासित क्षेत्र तिब्बत, त्यसको विकास तथा स्थिरताका लागि चीन सदैव चिन्तित रहने र नेपालबाट पनि त्यही अपेक्षा गर्ने सापकोटा बताउँछन् । तर नेपाल एक चीन नीतिप्रति प्रद्धिबद्ध भएको र त्यो नीतिमा कुनै परिवर्तन नआएकाले लामाको अभिव्यक्तिले नेपाल–चीन सम्बन्धमा कुनै असर नपर्ने पनि उनको बुझाइ छ । 

‘चीनले जहिल्यै पनि मौन कूटनीतिले काम गर्छ, नेपालप्रति त्यही कूटनीति उसले अपनाएको छ, भारत भने देखिनेगरी उत्साहित भएको छ,’ सापकोटाले भने । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विदेश मामिला सल्लाहकार रहिसकेका सापकोटा भन्छन्, ‘चीनको तर्फबाट आएको विभिन्न अभिव्यक्तिले पनि चीनले नेपालमा संवैधानिक बाटोबाट समाधान खोजेको देखिन्छ ।’

तर कार्की नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध कसरी अगाडि बढाउँछ, त्यसमा भर पर्ने उनको भनाइ छ । 

नेकपा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली एक वर्षभन्दा बढी समय प्रधानमन्त्री हुँदा पनि औपचारिक रूपमा भारत भ्रमणमा जान सकेनन्, बरु उनी दुई पटक चीन गए । 

आफ्नो अभिव्यक्ति र अडानका कारण भारतसँग ओलीको सम्बन्ध त्यति सुमधुर हुन सकेन, तर चीनसँग भने राम्रो थियो । 

तर पछिल्लो अन्तरिम सरकारसँग चीन टाढिएको छ भने भारत नजिकिएको जानकारहरू बताउँछन् ।  पूर्वराजदूत विजयकान्त कर्ण भन्छन्, ‘भारतले नेपालसँग मात्र होइन, अहिलेको अवस्थामा कुनै पनि छिमेकी राष्ट्रसँग सम्बन्ध बिगार्न चाहेको छैन ।’ नेपालको बदलिँदो परस्थितिमा त झन् भारतले राम्रो सम्बन्ध बनाउन चाहेको कारण यति छिटोछिटो प्रतिक्रिया देखाइरहेको उनको बुझाइ छ । 

ओलीसँग पनि भारतले सम्बन्ध बिगार्न नचाहेको तर ओली आफैँले राम्रो सम्बन्ध बनाउने नसकेको उनको टिप्पणी छ । आफूलाई राष्ट्रवादी देखाउने नाममा ओलीले पटक–पटक भारतको विरोध गरेका कारण सम्बन्ध खराब हुन पुगेको उनले बताए । 

भारतले सम्बन्ध सुधार गर्नकै लागि ओलीलाई भ्रमणमा बोलाउन चाहेको तर आफै चीन गएर ओलीले सम्बन्ध बिगारेको कर्ण तर्क गर्छन् । र अहिलेको सरकारसँग पनि भारतले कुनै पनि मामिलामा सम्बन्ध बिगार्न नचाहेको र सचेत देखिएको पनि उनले बताए । 

तर सापकोटा भने ओली सरकारसँग भारत असहज रूपमा प्रस्तुत भए पनि अहिले उत्साहित देखिएको बताउँछन् । यसबारे जेनजी आन्दोलनपछि भारतीय पूर्वराजदूतहरूका लेख तथा अभिव्यक्तिहरू सुन्दा पढ्दा स्पष्ट हुने उनको भनाइ छ । 
 

प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com