काठमाडौँ महानगरपालिकाले यो वर्ष २० हजारभन्दा धेरै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । काठमाडौंका मेयर बालेन्द्र शाह बालेनका अनुसार यो संख्या हालसम्मकै उच्च हो । बालेनले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार नयाँ शैक्षिक सत्रको हालसम्म विवरण बुझाउने विद्यालयको संख्या ४४० पुगेको छ, जसअनुसार १६ हजार ९८० जनाले छात्रवृत्ति पाएका हुन् । अझै पनि केही विद्यालयले विवरण नबुझाएका उनको भनाइ छ ।
महानगरभित्र रहेका अन्य विद्यालयहरूलाई छिटोभन्दा छिटो विवरण पेस गर्नसमेत बालेनले अनुरोध गरेका छन् । यदि तोकिएको समयभित्र विवरण पेस नगरे उक्त विद्यालयलाई ‘बन्द विद्यालय’ मानी काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम दिइएको अनुमति वा स्वीकृति खारेज गर्ने गरी कारबाही गर्ने चेतावनी महानगरपालिकाको छ ।
कानुन कार्यान्वयनकोे पहिलो वर्ष १३ हजार र दोस्रो वर्षमा १९ हजार विद्यार्थीले छात्रवृत्ति पाएका थिए । यस वर्ष कक्षा १ देखि १० सम्मका १६ हजार ९८० र कक्षा ११ का तीन हजार तीन सय दुईजनाले छात्रवृत्ति प्राप्त गरेका छन् । उनीहरूलाई यथाशीघ्र विवरण बुझाउन अनुरोध गर्दै बालेनले विवरण पेस नगर्ने विद्यालयहरू बन्द विद्यालयको रूपमा बुझी शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारवाही गर्ने चेतावनी दिएका छन् । साथै, उनले प्राप्त भएको विवरणको पनि अनुगमन गरिने र फरक पाइएमा कानुनबमोजिम कारबाही हुने बताएका छन् ।
दुर्गमका ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण
काठमाडौं महानगरले दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स वितरण गरेको छ । मंगलबार पहिलो चरणमा देशभरिका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिएको काठमाडौं महानगरका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीले बताए ।
काठमाडौं महानगरपालिकाले प्रदान गरेको एम्बुलेन्सबाट ग्रामीण स्वास्थ्य सेवामा टेवा पुगेको गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरूले बताएका । महानगरपालिकाले वितरण गरेका एम्बुलेन्स लिन मंगलबार राष्ट्रिय सभागृहमा आएका उनीहरूले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर मियाँ भन्छन्, ‘हाम्रा लागि यो ठुलो सहयोग हो ।’ सोलुखुम्बुको सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले भने, ‘यो जनता–जनताबिचको मधुर सम्बन्ध विकासको नमुना हो ।’ बैतडीको सिगास गाउँपालिकाकी उपाध्यक्ष धाना धामी भन्छिन्, ‘एम्बुलेन्स सञ्चालनका लागि कार्यविधि बनाउँछौँ । कार्यविधिले सबैको पहुँचमा समान अवसर दिनेछ ।’
महानगरले आव ०८२/८३ को बजेट तथा कार्यक्रममा व्यवस्था गरेअनुसार देशभरका विभिन्न ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण सुरु गरेको छ । यसअघि आव ०८०/८१ को बजेटमा समेत निरन्तरता दिइएको कार्यक्रमअन्तर्गत नगर सभाको निर्णयबाट ३५ थान ‘बी क्लास’ एम्बुलेन्स खरिद गरी वितरण गर्ने तयारी भएको थियो । बोलपत्र प्रक्रियामार्फत श्री अग्नि इन्करपोरेटेड प्रालिसँग सम्झौता भई आपूर्ति भएका एम्बुलेन्सलाई प्राविधिक निरीक्षण टोलीमार्फत परीक्षण गरी प्रतिवेदन प्राप्त भएपछि वितरण प्रक्रिया अघि बढाइएको हो ।
आव ०८१/८२ मा समेत आठ करोड १० लाख विनियोजन भई सोही गाउँपालिकामा एम्बुलेन्स सहयोग गरिएको र चालू आव ०८२/८३ को नीति तथा कार्यक्रममा पनि निरन्तरता दिइँदै, बजेट शीर्षक नं २५३१२ मा र आठ करोड १० लाख रकम छुट्याइएको छ। महानगरले प्राप्त अनुरोध तथा मापदण्डका आधारमा छनोट भएका गाउँपालिकाका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा आधारभूत अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको हो । एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको छ ।
प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

प्रतिक्रिया