@( sf7d08f}=

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै नेपालमा भएको राजनीतिक परिवर्तनबारे टिप्पणी गर्दै नेपालबारे सन्देश दिएका छन्।

शनिबार मणिपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले नेपालको उदाहरणसहित टिप्पणी गरेका हुन्।

उनले आफ्नो आधिकारिक एक्स ह्यान्डलमा राखिएको भिडिओमा भनेका छन्, ‘आज म मणिपुरको यो भूमिबाट नेपालका मेरा साथीहरूसँग पनि कुरा गर्नेछु। हिमालको काखमा बसेको नेपाल भारतको एक मित्र हो। नजिकको साथी हो। हामी साझा इतिहाससँग, आस्थासँग जोडिएका छौं। सँगै मिलेर अगाडि बढिरहेका छौं।’

उनले थप भनेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पदभार सम्हालेकी सुशीलाजीलाई एक सय चालीस करोड भारतीयको तर्फबाट हार्दिक बधाइ दिन्छु।’

प्रधानमन्त्री कार्कीले नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्गप्रशस्त गर्नेमा आफूलाई विश्वास भएको पनि मोदीले बताए। त्यस्तै कार्की नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा आउनु महिला सशक्तीकरणको एकदमै राम्रो उदाहरण भएको उनले बताए।

‘म आज नेपालका हरेक ती व्यक्तिको सरहाना गर्छु जसले यस्तो अस्थिर माहोलमा पनि लोकतान्त्रिक मूल्यलाई सर्वोपरी राखेका छन्,’ मोदीले भने।

उनले नेपालमा भएको अर्को एक घटनामा धेरै मानिसको ध्यान नगएकाले यसबारे आफूलाई सुनाउने पनि बताए। आन्दोलनपछि नेपालका विभिन्न ठाउँका मानिसहरूले सडक सफाइ गरिरहेको भन्दै उनले यो काम प्रेरणादायी भएको बताए।

‘धेरै मानिसको ध्यान नगएको नेपालको अर्को एक घटनाबारे म यहाँ भन्न चाहन्छु। पछिल्लो दुई-तीन दिनयता नेपालीहरूले सडक सफा र रंगरोगन गरिरहेका छन्। सामाजिक सञ्जालमा आएका उनीहरूका फोटा मैले पनि हेरेको छु। उनीहरूको यो सकारात्मक सोच र काम प्रेरणादायी मात्र होइन, यो नेपालको नवउदयको स्पष्ट संकेत पनि हो।’

उनले नेपाललाई उज्ज्वल भविष्यको शुभकामना पनि दिए।

प्रकाशित मिति: २८ भदौ २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com