काठमाडौं। राजधानीस्थित कमलपोखरीको बिग मूभिजमा मंगलबार चलचित्र ‘चे’को विशेष प्रदर्शन गरिएको छ। प्रदर्शनीमा चलचित्र विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी फिल्मका संयोजक, चलचित्र निर्माता ज्योतिराज राई, चलचित्र निर्देशक समाजका महासचिव अरुण प्रधान, निर्देशक सागर सुब्बा, याक्थुङ मुन्चइत् चोक् सयङका निवर्तमान अध्यक्ष सूर्यप्रकाश चेम्जोङ लगायतको उपस्थिति रहेको थियो।

पूर्वी नेपालमा बसोबास गर्दै आएका आदिवासी जनजाति याक्थुङ (लिम्बू) समुदायको संस्कृतिमा आधारित चलचित्र ‘चे’ हेर्न राजधानीस्थित याक्थुङ (लिम्बू) समुदायका अगुवा, साँस्कृतिक अभियन्ता, युवा–युवती र बृद्ध–बुद्धासम्म उक्त मल्टिप्लेक्स पुगेका थिए।

भौतिक विकास गर्ने क्रममा प्राकृतिक एवं साँस्कृतिक सम्पदाहरुको बिनास गरिंदा निम्तिने समस्याको कथा भन्ने चलचित्र ‘चे’लाई आर्ट मूभिमा लामो समय काम गरेका सागर केरुङले निर्देशिन गरेका छन्। चलचित्रले विकास निर्माणको क्रममा समाधीस्थलहरुको बिनास गरिएका शन्दर्भ र त्यसले निम्त्याएको समस्यालाई देखाउन खोजेको छ ।

याक्थुङ (लिम्बू) समुदायले भोग्नु परेको समस्यालाई चलचित्र मार्फत आम दर्शकलाई देखाउन खोजेको निर्देशक केरुङले बताए। दुई घन्टा लामो फिल्ममा आधुनिक विकासले निम्त्याएको द्वन्द्वको कथा छ। चलचित्रमा विकासको नाममा प्राकृतिक तथा साँस्कृतिक सम्पदा मास्न खोज्ने र जोगाउन खोज्नेबीचको द्वन्द्व देखाइएको छ।

याक्थुङ (लिम्बू) भाषामा ‘चे’ को अर्थ ‘लास’ हुन्छ। फिल्मले मानिस मरेपछि जमिनमुनि गाड्ने परम्परा बोकेको लिम्बू समुदायको समस्यालाई उजागर गरेको छ। आदिबासी लिम्बू वस्ती पाँचथरका विभिन्न स्थानमा छायाङ्कन गरिएको चलचित्रमा आधुनिक विकासले आदिवासीलाई कसरी लास सरह बनाउदै लगिरहेको छ भन्ने कुरा देखाउन खोजेको छ।

प्रकाशित मिति: २२ आश्विन २०८१, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com