काठमाडौँ । लेखक तथा इतिहासकार भगिराज इङ्नामको ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ सार्वजनिक भएको छ । पुस्तकको नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति प्राज्ञ वैरागी काइँला (तिलविक्रम नेम्बाङ)ले शुक्रबार विमोचन गरेका थिए ।
कार्यक्रममा प्राध्यापक डा. बालकृष्ण माबोहाङ, प्राध्यापक डा. दिनेशराज पन्त, डा। कमल तिगेला र याकथुमहिमका अध्यक्ष प्रेम एकतेनले पुस्तकबारे चर्चा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वैरागी काइँलाले इङ्नामको किताबले लिम्बूका ३०० वर्ष पुराना राजनीतिक, सामाजिक, आर्थिक, चालचलन रीतिरिवाजका स्थितिहरूको व्याख्या गरेको बताए ।

लिम्बुहरूले परम्परागत रूपमा मान्दै आएको रीतिथितिका बारेमा बुझ्न ‘लिम्बुवानका ऐतिहासिक दस्ताबेजको संग्रह’ र ‘लिम्बुवानका अभिलेख संग्रह’ अत्यन्त महत्वपूर्ण रहेकाले यो पुस्तकलाई राज्यले नै एउटा सम्पत्तिको रूपमा ग्रहण गर्ने दाबी गरेका थिए

दुईतीन सय वर्ष पुरानो लुकाइएका कागजहरू मागेर दस्ताबेजको रूपमा लेख्नु सामान्य कुरा नभएको काइँलाको भनाइ छ । काइँलाले भने, ‘आफ्नो अभिलेख रीतिथिति र आफ्नो पूर्वअवस्थाको विषयमा म सम्पूर्णलाई पढिदिन आग्रह गर्दछु लिम्बुवानबासी र समग्र नेपालको भूगोल अध्ययन गर्ने व्यक्तिले पनि पढ्नुपर्ने हुन्छ । यो किताब नपढी अपुरो होइन्छ । यो लिम्बू इतिहासको गहना हो ।’

यस्तै, प्राध्यापक डा। पन्तले पनि इङ्नामले दुईवटै पुस्तकमा नेपाल र नेपालीका लागि उपहार दिएको भन्दै यसलाई सम्पत्ति बनाउन आग्रह गरे । इतिहास भाषा र साहित्यका विद्यार्थीले किताबभित्र भएका विषयहरू आफ्ना रुचिअनुसार पढ्नुपर्ने औँल्याए ।

डाक्टर तिगेलाले लिम्बुवानका अभिलेख सङ्ग्रहमा लिम्बुवानका सुवाङ्गीप्रथा, किपणी प्रथा, लालमोहर, लालकिल्लालगायतका विषयहरू समेटेकाले यो पुस्तक निकै नै उपयोगी र इतिहासको महत्वपूर्ण दस्ताबेज रहेको बताए ।

यस्तै, डाक्टर बालकृष्ण मबोहाङले पनि पुस्तकले लिम्बुवानको राजकीय मामिला अध्ययन गर्न, सामाजिक, सांस्कृतिक र राजनीतिक अवस्थाको विषयमा खोजीनीति गर्न महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे ।

पुस्तकका लेखक भगिराज इङ्नामले यो अभिलेख सङ्ग्रहमा ३८२ वटा दस्तावेज सङ्ग्रहित रहेको बताए । लेखक इङ्नाम भन्छन् ‘यो नै पूर्ण रूपमा सबै दस्ताबेज सङ्ग्रह गरिएको पुस्तक भनेर म दाबी गर्न सक्दिनँ । अझै पनि मैले खोजीनीति गर्दा केही सङ्ग्रह र दस्ताबेज फेला परेका छन् । तर धेरै कोसिस गरेँ पाइनँ । म यहाँहरूलाई पनि खोज्न आग्रह गर्छु ।’

उनले ती दस्ताबेज अरूले पनि खोजीनीति गरेर सङ्ग्रहित गर्न आग्रह गरे । इङ्नामकाअनुसार पुस्तकमा सकल स्याहामोहर, सकल लालमोहर, रुक्का शिलालेख, ताम्रपत्र र तिब्बती लिपिका अभिलेखहरू समेटिएको छ ।

इङ्नामले तेह्रथुम जिल्लाको सुवाङ्गीप्रथा २०८० मा सहलेखन गरेका थिए । यस्तै उनको लिम्बू जातिको इतिहास २०७५ मा प्रकाशन भएको थियो । उनको तेस्रो पुस्तक लिम्बुवानका ऐतिहासिक दस्ताबेज संग्रह– २०७७ ले भने मदन पुरस्कार प्राप्त गरेको थियो ।

प्रकाशित मिति: २२ आश्विन २०८१, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com