

राम मादेन
मुक्कुमलुङ, मुन्धुमी सभ्यता, इतिहास, परम्परा, संस्कृति बोकेको आध्यात्मिक आस्थाको स्थल हो । मुन्धुमीस्थल समाप्त पार्दै हिन्दू धार्मिक प्रसिद्ध धाम पाथिभरा बनाउने प्रत्यक्ष, अप्रत्यक्ष श्रृङ्खलावद्ध प्रपञ्चहरु आन्दोलनको प्रमुख कारकतत्व हुन् । हजारौ वर्षदेखि आध्यात्मिक आस्थाको स्थल मान्दै आएको मुक्कुमलुङमा राज्यसत्ताको संरक्षणमा हिन्दू शक्तिपीठ बनाउने अभिष्ट पूरा गर्न केवलकारलाई सुपर हाइ वे को रूपमा स्थापित गर्ने गुरुयोजना बनेपछि विवाद चरमोत्कर्षमा पुगेको हो।
इम्बिरि याङ्ङ्घाङ्वा क्षेत्र (तमोर खोला) लाई याक्थुङ (लिम्बु) को मुन्धुम विकास भएको ठाउँ हो भन्ने आम विश्वास छ। सभ्यता, इतिहास, संस्कृति, परम्पराको उद्गम थलो भन्ने मुन्धुमविद्हरुको दाबी रहेको छ । मुरिला खारिङला, अमुलुङजङ, खाउः लुङजङ, फड्दुरा केःक्तुरा, कक्कप्लुङ र लुङधुङ जस्ता मुन्धुमी स्थलहरु यही क्षेत्रमा छन्। यसै गरेर असाङ्लुङ, तागेरा निङ्वाभु फुक्को, थाक्याक खिःबो, थाक्केलुङ, मुक्कुमलुङ, अनाअधाःन्, युमा हेना, नाहाङ्मा यकलगायत धेरै मुन्धुममा व्याख्या भएका ठाउँहरु भएकाले मुन्धुमको उत्पत्ति क्षेत्र भन्ने विश्वासलाई पुष्टी गर्दछ । यस क्षेत्रमा रहेका धेरै मुन्धुमी स्थलहरु मध्ये मुक्कुमलुङ महत्त्वपूर्ण स्थल हो । मुन्धुम फलाक्दा याक्थुङ पूजारी फेदाङमा, साम्बा, येबाहरुले मुक्कुमलुङ माङ, सेमुक्तु मुक्तुबो माङ, सेमुक्तु मुक्तुबुङ, मुक्तिगोःक्, चेप्तीगोः क्, मुक्तीफो माङ, आदि विभिन्न नामले पुकारेको पाइन्छ ।
मुन्धुम याक्थुङ (लिम्बु) समाजमा जीवन व्यवस्थापन र सञ्चालनको अनेक ज्ञानगुनका अवधारणा तथा चलन प्रचलनहरुको विवरण, प्रणाली र पद्धतिहरुको जीवन दर्शन हो। ती प्रचलनहरुको बारेमा भाष्य वा मिथक वा परम्परागत विवरण आदि बुझाउन मुन्धुम शब्द प्रयोग गरिएको छ । यसो भन्नुको अर्थ याक्थुङ (लिम्बु) को जीवन दर्शनको निरन्तरतामा विभिन्न आध्यात्मिक शक्ति र मुक्कुमलुङ शक्तिको प्रेरणा मिलिरहेको छ भन्ने आड भरोसा र अगाध विश्वास रहिआएको छ ।
लिम्बुवानका भूमिपूत्र याक्थुङ (लिम्बु) हरुको हजारौ वर्षको अभ्यासमा भाषा, संस्कार, संस्कृति, जीवन जीउने कलाको समग्र रूप मुन्धुमको विकास यही क्षेत्रमा भयो । यस क्षेत्रमा रस्तीवस्ती बसाएर विचरण गर्ने क्रममा प्रायःजसो गाउँठाउँको नामहरु याक्थुङ भाषामा राखिसकेका थिए । मुन्धुममा व्याख्या भएका स्थलहरुको नाकरण मात्र नभई आध्यात्मिक रूपमा प्रत्येक अनुष्ठानहरुमा पुरोहितहरुले फलाक्ने, अगाढ रूपमा श्रद्धा गर्ने र भौतिक रूपमा मान्ने, पुज्ने स्थलहरुको पहिचान गरी उपभोग र प्रयोग गर्दै आएका छन् । वि.स. १८३१ मा सम्झौताबाट पृथ्वी नारायण शाहले नेपालमा गाभेपछि नेपाललाई असली हिस्दुस्तान बनाउनुपर्दछ भन्ने सिद्धान्त अनुरूप लगभग एक सय पचास वर्ष अघिदेखि अतिक्रमण सुरू भयो । मुक्कुमलुङलाई रक्तकाली, पञ्चकाली हुँदै पाथिभरा नामकरण गरियो। हिन्दू देवीदेवताहरु पार्वती, गणेश, सरस्वतीको मूर्तिहरु स्थापना गरेर मुक्कुमलुङको मुन्धुमी सभ्यता विस्थापित भएको छ
मुक्कुमलुङको नामकरण र आध्यात्मिक विश्वास :
मुन्धुम अनुसार मुक्कुमलुङ नामकरण हुन सामान्यतया दुईवटा मिथकहरु छन् । पहिलो, तमोरखोला क्षेत्रको सावा येव्हाङ गाउँमा सावा युक्पुङकेःम्बा नामका एक शिकारी मानव पूर्खा थिए । उसका ४ वटी श्रीमती मध्ये एउटी योसुलुङमा मुक्कुमलुङमा थियो । सावा युक्पुङकेःम्बाको श्रीमती मुक्कुमलुङमाको श्रीमतीले त्यस भेगमा देवीको रूपमा विचरण गर्ने, तान बुन्ने, सभ्यता सिकाउने काम गरिन् । उनैको नामबाट मुक्कुमलुङमा वा मुक्कुमलुङ नाम रहन गयो । दोस्रो, पृथ्वीको सृष्टिकालदेखि नै मुक्कुमलुङ क्षेत्रलाई अलौकिक दैवी शक्ति भएको ढुंगा भएको डाँडाको रूपमा पुकारिन्छ । याक्थुङ (लिम्बु) भाषामा मुक्कुम’ भनेको ‘शक्ति’ र ‘लुङ’ भनेको ‘ढुङ्गा हो । शक्ति भएको डाँडा भएकाले सो क्षेत्रलाई याक्थुङ (लिम्बु) समुदायले ‘माङ युक्ना देन’ (भगवानको वासस्थान) मुक्कुमलुङ भनेर अपरम्पार आस्था, विश्वासको धरोहर मान्दछन् । प्रत्येक पूरोहितहरूले पूजा आजा गर्नुभन्दा पहिले मुक्कुमलुङबाट बल शक्ति मागेर मात्र फलाक्न थाल्छन् । डाँडा वा उच्च हिमाल, पहाडहरुलाई याक्थुङ भाषामा ‘लुङ वा ढुङ्गा’ भनिने हुनाले त्यस भेगमा हिमाल, डाँडाहरुको नामको अन्तिममा ‘लुङ’ जोडिएको छ । ‘लुङ’ मा अलौकिक शक्ति भएको भगवानको वासस्थान भएको पवित्र स्थल हो भन्ने आम विश्वास छ ।

याक्थुङ (लिम्बु) हरु याक्थुङ लाजेमा बसोवास गरेको हजारौं वर्षदेखि मुन्धुमी दर्शन ज्ञानको विकाससंगै मुक्कुमलुङ डाँडालाई आध्यात्मिक शक्ति केन्द्रको रूपमा मान्दै आएका छन् । मुन्धुम परम्परा अनुसार अध्यात्मीक स्थलहरुमा पूजा अर्चना गर्दा देखिने गरी स्थायी संरचनाहरु निर्माण गर्ने प्रचलन छैन। भगवान संरचनामा नभई सृष्टिबाट प्रदत्त स्थलहरुमा दैविक शक्ति हुन्छ भन्ने मुन्धुमी मान्यता छ। ती स्थलहरुलाई मुन्धुममा समेटी पुकार्ने, गुरूशक्ति मान्ने, पुज्ने, आत्मिक शक्ति माग्ने कार्य भइरहेको छ । त्यसकारण ती शक्तिशाली स्थलहरुमा मन्दिर, चैत्य, गुम्बा जस्तो संरचना निर्माण नभएकाले नामकरण नभएको स्थल हो भन्नु मुन्धुमको मान्यता विपरित हुन्छ ।
पुस्तक, लेख, लेखोटहरुको आधारमा मुक्कुमलुङलाई पाथिभरा मान्ने समाजको मनोविज्ञान छ । तर याक्थुङ (लिम्बु) को मुन्धुम मौखिक परम्परामा आधारित छ । मुन्धुमलाई पुस्तौ पुस्तामा मौखिक परम्पराबाट ज्ञान हस्तान्तरण गर्दै लैजाने गर्दछन् । सर्वशक्तिमान तागेरानियाफुमाङको कृपाले बेलाबखतमा देवत्व शक्ति भएका ज्ञानी मानिसको जन्म लिन्छन् भन्ने विश्वास छ । दैविक शक्तिको माध्यमबाट ज्ञानी मानिसलाई अन्तरध्यान वा सपनाबाट ज्ञान शक्ति दिन्छन् । जसले मानव जीवनलाई आवश्यक पर्ने दर्शन, सभ्यता, संस्कृति, परम्परा, आधुनिक विकासको ज्ञान दिन्छन् । जसलाई माङहाङ परम्परा भनिन्छ । आध्यात्मिक मान्यता अनुसार सिद्ध, ज्ञान शक्ति लिएर आएको व्यक्तिले दिने ज्ञान मौखिक हुने भएकाले यसलाई सामान्यतया थुतुरी वेद भन्ने चलन छ। यसैको आधारमा समुदायका तुम्याहाङहरु साम्वा, येवा, फेदाङ्मा, सेवासावाहरुले ज्ञानको प्रवाहमा निरन्तरता दिन्छन् । सिद्ध मानिसको ज्ञान शक्तिबाट मुक्कुमलुङमा पनि युमाको शक्ति भएको ठाउँको रूपमा हजारौं वर्ष पुर्वजहरूले थाहा पाएर मुन्धुममा व्याख्या गर्दै भन्दै, पूज्दै आए । मुक्कुमलुङ युमा माङको अनेकौ शक्ति प्रष्फुटन भएको मध्ये गुरुङको मेडा हराएको कथा एक प्रतिनिधि घटना मात्र हो ।
मुन्धुमभित्र मुक्कुमलुङ
(क) नावा चङ्गःत् मुन्धुम् (सृष्टि मुन्धुम)
मुन्धुममा सृष्टि (नावा चइत) मुन्धुम्ले याक्थुङ जातिको धर्म, दर्शन, संस्कृति, समाज, अर्थ, राजनीति जस्ता पक्षहरुलाई दिशानिर्देश गर्दछ (लिम्बु, २०७५, पृ.२२) । नावाचइःत् मुन्धुम् अर्थात् सृष्टि मुन्धुम्को ७ प्रकाण्डहरु मध्ये इक्सा खाम्बेःक् पोःमा मुन्धुम् अर्थात् ब्रम्हाण्ड र पृथ्वीको उत्पत्तिको मुन्धुममा मुक्कुमलुमा पहाडको उत्पत्ति अरू हिमाल पहाडहरुको उत्पत्ति हुने क्रममा सँगसँगै उत्पत्ति भएको वर्णन भएको पाइन्छ । जसराज लिम्बु पन्धाक (२००३) ले सङ्कलन गर्नु भएको मुजोक्लुङ् खाजोक्लुङ् मुन्धुममा मुक्कुम्लुङ्को उत्पत्ति वर्णन छ । वैरागी काइँला सङ्कलित चइःत् मुन्धुम् (२०६०) मा सृष्टि मुन्धुमहरुमध्ये नावा चइत् अर्थात् सृष्टि वर्णन अन्तर्गत ब्रहमाण्ड र पृथ्वीको उत्पत्तिको मुन्धुम्मा अनगिन्ती हिमाल पहाडको उत्पत्ति हुँदा मुक्कुमलुङ् पनि उत्पत्ति भएको वर्णन आउँदछ ।
(ख) सावा येत्हाङ पोःङमा मुन्धुम
याक्थुङ मुन्धुमअनुसार पहिलो मानव पूर्खा मुजिङ्ना खेयना (मुयना) को छोरा सावा युक्पुङ्गेम्बा धनुकाँड, सुनको छेलो र आफ्ना चार कुकुरहरु कोचो-तना, ख्या-तना, किधि-तना, परा-तना लिएर शिकार खेल्न वन जङ्गलतर्फ लागे। छेलो हान्दै मृग (पेवा) को शिकार खेदै जाँदा एक पर्वतको शिखरमा एक महिला तान बुन्दै गरेको भेटे । त्यही ठाउँमा उनका शिकार मृग र शिकारी कुकुरहरुको पाइला पनि पुगेर अलप भयो। मृग र शिकारी कुकुरहरु सुनको गहनाले धपक्कै बलेकी तरुनीको अगाडि अलप चिनारी गर्दा उनी योसुलुङ्गा मुक्कुम्लुङ्मा भएको थाहा भयो। पछि विशेष मानमनितो र विधि पुऱ्याएपछि तिनै मुक्कुमलुङ्गाले अल्याएका मृग र कुकुरहरु पत्ता लगाउने जुक्ति सिकाइ सोही अनसार गर्दा ती सबै भेटिए । वास्तवमा, तिनै महिला मुन्धुमी पात्रको नाममा यो पर्वतको नाम मुक्कुम्लुङ् रहन गयो भन्ने लोक विश्वास पनि पाइन्छ ।
(ग) फोःङसिङ्ङ्गा मुन्धुम
फेःदाङ्मा, साम्बा, येबा/येमाले कुनै मुन्धुमी अनुष्ठान गर्दा फोर्ड्सिमा (शक्ति आर्जनका लागि पुकारा) गर्दा थुप्रै हिमाल, पर्वत, खोलाहरुको पुकारा गर्दछन् । मुन्धुम अनुसार याग्राङ्सिङ् फोःड्मा मुन्धुम्मा खोला, हिमाल, पहाड आदि शक्ति पीठहरुसँगै मुक्कुमलुङ्को पुकारा गरिन्छ :
यस मुन्धुम् पाठलाई हेर्दा यहाँ खोला, हिमाल, पहाडहरुलाई साम्बा, येबा/येमाहरुले देवी देवताकै रूपमा पुकारा गरेको देखिन्छ जहाँ मुक्कुमलुङ् पर्दछ ।
(घ) तङ्सिङ तक्मा मुन्धुम
याक्थुङ समाजमा फूललाई मानव जीवनको बिम्ब मान्ने मुन्धुमी परम्परा छ । सामाजिक जीवन प्रणालीलाई दिर्घायू सु-स्वास्थ्य एवं समृद्ध राख्ने उद्देश्यले नराम्रा कर्मलाई छेक्ने, कुल्चने, हटाउने अनि राम्रा कुरा कर्मलाई लिने ग्रहणशील बनाउने हो। यी साँङ्केतिक कर्म विधिहरु समेटिएको एक प्रमुख अनुष्ठानलाई ‘तङसिङ तक्मा’ भनिन्छ । यसलाई जातीय देवारी साम्बा विजुवाद्वारा प्रत्येक घर परिवारमा अनिवार्य जस्तै वार्षिक वा त्रिवार्षिक रूपमा सम्पन्न गर्ने प्रचलन थियो र छ । तङसिङ कै अनिवार्य अंगका रूपमा ‘फुड्वा चाङ्मा’ (जीवनफूल जगाउने) कर्म पनि गर्ने गरिन्छ । यो अनुष्ठान गर्दा सहभागी सबै उपकारीहरुको तङसिङ बोकेर साम्बा/विजुवा चोःत्लुङ सिद्धि स्थलतर्फ मुन्धुम वाचनकै विधिवाट यात्रामा निस्कदा मुक्कुमलुङको बाटो हुँदै जाने र फर्कन्छन् । तङसिङ सँगै लगिएको सबै उपकारीहरुको सातो (आत्मा/हंश) लाई सिद्धिस्थलमा पुन्याएर तान्त्रिक विधिद्वारा परिसोधन गरि ल्याईएको सातोलाई उपकारीको शरीरमा प्रवेश गराउने कार्य गरेपछि ‘तङसिङ तक्मा अनुष्ठान’ पूर्ण हुन्छ ।
(ङ) साम सामा मुन्धुम
याक्थुङ (लिम्बु) समाजमा मान्छेको मृत्यु भएपछि साम सामा (सातो/हंस पुन्ऱ्याउने) अनुष्ठान गरिन्छ । जसलाई मृतकको आत्मालाई पितृलोकमा पुन्याई उसैका पितृहरुलाई जिम्मा लाउने संस्कार भनिन्छ । मुन्धुम वाचन यात्रा गर्दा जाने बाटो घरको थान हुँदै मूल खम्बा, चुला, चुलामाथिको भार, धुरी, बलेसी, गाँउको दोबाटो, चौतारी, घारी, जङ्गल, डाँडा लेक हिमाल हुँदै मुक्कुमलुङ् अनि फालेलुङबाट पितृलोक, स्वर्गलोकतर्फ निस्कनु पर्छ । देवारी साम्बा/विजुवाले मृतकको आत्मा बोकेर मुन्धुमी वाचनको माध्यमवाट मृतक आत्मालाई पितृहरुलाई जिम्मा लाएपछि फेरि अघि गएकै बाटो भएर फर्किने कार्य हुन्छ। यसरी फर्कदा फेरि फक्ताङलुङ, फालेलुङ, मुक्कुमलुङ हुदै घरको थानमा आई पुगिन्छ ।
मुन्धुमी आस्थाको स्थल (Sacred Site) मुक्कुमलुङ :
क्याथी एब्सोलन (२०१०) का अनुसार ‘आदिवासी सिद्धान्तमा ज्ञानविज्ञान, विश्व दृष्टिकोण, संस्कृति र परम्पराहरुमा घनिष्ठ रूपमा जरा गाडिएको हुन्छ । आदिवासी समग्र सिद्धान्त भित्र आध्यात्मिक, भावनात्मक, मानसिक, भौतिक तत्वहरु समेटिएको बहु तह र समग्रतामा हेर्नुपर्छ ।
मानव समूहको सभ्यता, इतिहास, संस्कृति, परम्पराहरु कुनै ठाउँसँग जोडिएको हुन्छ । ती ठाउँहरुलाई अन्तरहृदयबाट पवित्र भूमिको रूपमा अन्योन्याश्रित रूपमा एकाकार भई मान्दै, पूज्दै ल्याएका हुन्छन् । ती पवित्र ठाउँहरुसँग उनीहरुको आध्यात्मिक, भौतिक, सामाजिक तथा साँस्कृतिक सम्बन्ध जोड्ने कथा, मिथक, मुन्धुम जोडिएको हुन्छ । त्यस प्रकारको मौखिक, लिखित वा अलिखित परम्परागत अभ्यासको ज्ञान, आस्था, जीवन जिउने कला, दर्शनसँग जोडिने विशेष स्थललाई आध्यात्मिक आस्थाको स्थल (Sacred site) भनिन्छ । यस्तो आध्यात्मिक आस्थाको स्थलको अवधारणा त्यस ठाउँमा पहिलो वस्ती बसाउने आदिवासी परम्परा (Aboriginal Tradition) बाट आएको मानिन्छ । कुनै मानव समूहले आवाद गरेर वस्ती बसाएपछि रहँदा बस्दाको क्रममा लामो अभ्यासबाट वनेका स्थानीय मूल्य मान्यता, ज्ञान परम्पराले स्थापित मान्ने, पूज्ने आध्यात्मिक क्षेत्रहरु नै आस्थाका स्थलहरु हुन् । बौद्धिष्टले लुम्बिनी, क्रिश्चियनको जेरुसेलम, हिन्दूको कॉशी, मुस्लीमले मक्का मदिनालाई आध्यात्मिक आस्थाको स्थल माने झै याक्थुङ (लिम्बु) को मुन्धुम अनुसार सामरिक महत्व बोकेको आस्थाको स्थल मुक्कुमलुङ हो ।
मुक्कुमलुङ याक्थुङ (लिम्बु) आदिवासीहरुको परमपूज्य तागेरानिङवाफुमाङ माङ युक्ना देन (भगवानको वासस्थान) हो भन्ने आध्यात्मिक, भावनात्मक, मानसिक आस्था र विश्वास छ । यही विश्वासका आधारमा त्यस क्षेत्रमा मानव तथा पशु जन्य दिशा पिसाबबाट सफा राख्नुपर्दछ । मुन्धुम अनुसार दुबो, ढुङ्गोलाई पूज्ने, प्राकृतिक संरचनाहरुलाई संरक्षण गर्ने आम विश्वास र जीवन दर्शन छ । जस अनुसार मुन्धुमको मान्यता र दर्शनलाई लत्याउनु मुक्कुमलुङको असली आस्था, विश्वासप्रति अनादर गर्दा माङ साम्बाःन (देवदण्ड) हुन्छ भन्ने आम विश्वास छ । मुक्कुमलुङमा देवदण्डको रूपमा विगतमा बाढी, पैरो, आगलागी, चट्याङ पर्ने, मानवीय क्षतिका दुर्घटना जस्ता धेरै दुःखद घट्नाहरु घटेको विश्वास गरिदै आएको छ। यसले पवित्र आस्थाको स्थल मुक्कुमलुङको मान्यता, परम्परालाई नजर अन्दाज गरी गलत सोच तथा विचार गरिनु हुन्न भन्ने यी घटित घटनाहरूले सन्देश दिन्छ ।
राज्यको अतिक्रमण :
वि.सं. १८३१ मा पृथ्वी नारायण शाहले लिम्बुवान क्षेत्रलाई सम्झौताद्वारा एकीकरण गरेपश्चात् भाषिक, सांस्कृतिक, धार्मिक अतिक्रमण सुरू भयो। एन्टोनियो ग्राम्सी (१९८८) को ‘सांस्कृतिक प्रभुत्ववादी दृष्टिकोण भन्नाले वैचारिक र सांस्कृतिक मान्यताहरु, विचारहरु, अपेक्षाहरु, विश्व दृष्टिकोण र समाजको बाँकी व्यवहारलाई कडा रूपमा प्रभाव पार्न अनुमति दिन्छ ।’ विजयपुरमा मकवानपुरको सेन राज्यको प्रभावका कारण नेपाली भाषीहरु छिटफुट रूपमा प्रवेश भएको बाहेक लिम्बुवानमा याक्थुङ (लिम्बु) हरु मात्र बस्थे। एकीकरणसंगै सेना, प्रहरी, व्यापार व्यावसाय, प्रशासनिक संयन्त्रमा काम गर्ने भनेर अन्य समुदायहरु विधिवत रूपमा प्रवेश गरे । कतिपय ब्राम्हणहरुले केन्द्र सरकारबाट बिर्ता पाएर बसोवास गरे। खस पर्वते भाषालाई नेपाली राष्ट्रिय भाषाको रूपमा फैलाउने काम उनीहरुले गरे । नेपाली भाषीहरुको प्रवेश लिम्बुवानमा एकैपटक नभई छिटफुट रूपमा घुम्दै आएर रैथाने याक्थुङ सुब्बाहरुसँग सरण लिएर वसेको देखिन्छ । उनीहरुको प्रवेशसँगै ती गाउँठाउँको नामहरु खसकरण भएको नभई उनीहरुले आफ्नो सजिलोको लागि प्रयोग गर्ने क्रममा स्थापित हुँदै गयो। यस अर्थमा नेपाली भाषीहरु २०० वर्ष अगाडि वा सो आसपासमा प्रवेश गर्दा मुक्कुमलुङलाई पाथिभरा भन्न थालिएको १ सय पचास वर्ष भन्दा बढी नभएको अनुमान गर्न सकिन्छ ।
लिम्बुवान गोरखा (नेपाल) राज्यमा गाभिएपछि गैरयाक्थुङहरूको आप्रवासन गराउने क्रममा सुब्बाहरुबीच मार्फत किपटमा रैती बसाल्ने प्रतिष्पर्धा चलाउँदै भाषिक, सांस्कृतिक उपनिवेशलाई राज्य संचालनको प्रमुख कडी बनाइयो । प्रशासनिक क्षेत्रमा एकल गोरखा (नेपाली) भाषाको दबदबासँगै मिश्रित बसोबासले याक्थुङ भाषा, संस्कार, संस्कृति, रहन सहनमा विचलन आउन थाल्यो । राज्यको आडमा ऐतिहासिक गाउँ ठाउँका नामहरु अप्रभंशित र परिवर्तित गराउँदै लगे । मुक्कुमलुङलाई पाथिभरा, फक्ताङलुङलाई कुम्भकर्ण, चोमोलुङ्मालाई सगरमाथा, सेवालुङलाई मानाभरा, थाङवालाई तमोर, काङवालाई काबेलीलगायत कैयौलाई खसकरण गरियो ।
नाम मात्र परिवर्तन नभई धार्मिक सांस्कृतिक रूपमा हिन्दू खसकरण गर्दै लगियो । नाम फेर्ने, बिगार्नेदेखि ऐतिहासिक सांस्कृतिक ठाउँहरुलाई खोसेर आफ्नो बनाउने जस्ता कार्यहरु भएका छन् । त्यसमध्ये एक मुख्य मुक्कुमलुङ हो ।
धनकुटाका राणा बडाहाकिम माधव शमशेरले वि.सं. १९९० सालताका मुक्कुमलुङ (तत्कालीन नाम फेरेर पञ्चकाली) मा कालो बोकाको भोग चढाएर पूजा गरेपछि बलि दिने प्रचलन शुरूवात भएको भनाइ छ । त्यहीँदेखि राज्यका स्थानीय प्रशासकहरुको संलग्नतामा मुक्कुमलुङलाई पाथिभरा बनाउने, हिन्दूकरण गर्दै लैजाने क्रम बढेको देखिन्छ । मुक्कुमलुङ जो खास ढुंगालाई छोपेर कालीको मूर्ति, गणेश, सरस्वतीको मूर्तिहरु स्थापना गरियो । मुक्कुमलुङ क्षेत्रभित्र नाम्गेत् भन्ने ठाउँलाई काफ्लेपाटी भनियो। सिमु? इङ थेगुको नाम हटाएर बेलुडाँडा राखियो । प्राकृतिक वस्तु जस्तै दुबो, धूप, अक्षेता, पाती आदि प्रयोग गरेर देवी देवतालाई पूजाआजा गर्नु आदिवासी याक्थुङहरुको चलन हो। तर जब अनेक किसिमका हिन्दू मूर्तिहरु राख्न थालियो, मन्दिर, होमादी भवन, शालिक लगायत मानवनिर्मित भौतिक संरचनाहरु निर्माणपछि मुक्कुमलुङको प्राकृतिक स्वरूप विकृत बन्दैगयो। यसको भर्जिनिटी र पुरातात्विक महत्व समाप्त गरियो ।
वि.सं. २०३७ मा पाथिभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्द्धन समिति नामक गैरसरकारी संस्था स्थापना भयो। यसपछि भने हिन्दूकरण गर्ने कार्य संस्थागत भयो । वि.सं.२०५३ मा सरकारी तहबाट पाथिभरा क्षेत्र विकास समिति गठन आदेश भएपछि सरकारको प्रत्यक्ष संलग्नतामा यसको सम्बर्द्धन गर्ने कार्य प्रारम्भ भयो। यसरी सरकारी र गैरसरकारी दुई संस्थाको बलमा यहाँका रैथाने आदिवासी याक्थुङ समुदायको संलग्नतामा उनीहरुकै परापूर्वकालदेखिको पवित्र धार्मिक स्थल एकपछि अर्को गर्दै अतिक्रमणमा पर्दै गयो ।
मुन्धुमवादीहरूको दाबी र केवलकार :
मुन्धुमी मिथ र आख्यानअनुसार मुक्कुमलुङ याक्थुङ (लिम्बु) को आस्थाको स्थल हो । यस क्षेत्रको विकास मुन्धुमी, मूल्यमान्यता, परम्परा बमोजिम विकास, संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धन हुनुपर्दछ भन्ने मूल मान्यता हो । मुक्कुमलुङ संरक्षणबारे विगतमा केही आवाजहरु मुखरित भए पनि राष्ट्रिय स्तरको मुद्दा बन्न सकेको थिएन । लिम्बुवान क्षेत्रमा भूमि अधिकारबारे काम गर्ने उद्देश्यले लिम्बु समुदायका केही प्रबुद्ध अभियन्ताहरुले वि.सं. २०७६ सालमा लिम्बु थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह स्थापना गरे। समूहले मुक्कुमलुङ, तिम्बुङ पोखरी, मिल्के तिनजुरे जलजलेमा छलफल सञ्चालन गरेको थियो । मुक्कुमलुङमा स्थानीय उत्साही अभियन्ताहरुसंग छलफल गरी वि.सं. २०७७ सालको सुरूमा मुक्कुमलुङ संयुक्त संघर्ष समिति गठन भएको थियो ।
समितिको अडानहरु निम्नानुसार छन् ।
१) मौलिक ऐतिहासिक, मुन्धुमी नाम मुक्कुमलुङ राख्नुपर्ने ।
२) नेपाल सरकारद्वारा २०७५/१२/१८ मा प्रकाशित पाथिभरा क्षेत्रको सीमा खारेज गर्नुपर्ने ।
३) सरकारद्वारा पाथिभरा क्षेत्र विकास समिति गठन आदेश २०५३ खारेज गर्नुपर्ने ।
४) मुन्धुमी परम्परा, मूल्य मान्यताको आधारमा मुक्कुमलुङको विकास, संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्नुपर्ने ।
५) रैथाने आदिवासी अधिकारवालाहरुको सहमति, नेतृत्व, संलग्नतामा राज्यबाट मुक्कुमलुङ क्षेत्र विकास समिति गठन गर्नुपर्ने ।
आन्दोलनरत पक्षको अडानहरुबाट स्पष्ट हुन्छ कि रैथाने मुन्धुमी सभ्यता, धार्मिक, सांस्कृतिक स्थल मुक्कुमलुङलाई हिन्दू धार्मिक अतिक्रमणबाट छुटकारा पाउनु आन्दोलनरत पक्षको प्रधान मुद्दा हो। मुक्कुमलुङ अतिक्रमणमुक्त भएपश्चात् मुन्धुमी मूल्य मान्यता अनुसार आस्थाको स्थल (Sacred Site) को रूपमा विकास अवधारण निर्माण हुन्छ ।









