सागर केरुङ
विषयको उठान :

मुहङलिङ खेहङलिङ थियो अथवा उँभो पनि भ्वाङ उँधो पनि भ्वाङ अर्थात् महाशून्य थियो। त्यही महाशून्यको बीचमा स्वयं विचार (स्वयम्भू) अर्थात् नदेखिने वायुबतासको देवता (माङ) आठ फन्को घुम्दै आफैंआफ प्रकट भयो। त्यसको भयंकर भुँमरीको टुप्पोबाट बालुवाका मसिना कणहरू निक्ले। त्यो कणले मूलभुँमरीको हावासँग झगडा गर्न थाल्यो। त्यति नै खेर आगोको ठूलो ज्वाला पैदा भयो। जसले आँधीलाई दुई चिरा पार्‍यो। त्यस चिराबाट धागोको पोयाजस्तो एउटा सानो बालक खिजोरा मेन्जोरा देव पैदा भयो। त्यसलाई लिम्बू मुन्धुममा ‘तागेरा निङ्वाभु माङ’ भनिन्छ। यिनै तागेरा निङ्वा?भुमाङले मानिसरूपी पोरोःक्मी यम्भामी देव (माङ)को सृष्टि गरी यस ब्रम्हाण्डको सृष्टि गरे। ‘इक्सादिङ खाम्बेःक्’ अर्थात् घुमिरहने पृथ्वी निर्माण गरे। आकाश, घामजून, तारा, धर्ती, खोलानाला, चराचुरुंगी, कीटपतंग, समुद्र, खोलानाला र जलचर, वनजंगल फूल, पुतली सारा सृष्टि गर्दा पनि संसार सुहाएन। जब समुद्रको लेऊ, अग्निको खरानीबाट लाइक्कुम् फेम्बोसा (लोग्ने) तुङ्गुलिमा सिम्बोसा (स्त्री) मानिस बनाए तब मात्र संसार सुहायो, सुन्दर देखियो। यी ब्रह्माण्डको उत्पत्ति, पृथ्वीको सृष्टि, मान्छे तथा चराचर जगत्का सृष्टिका आख्यानहरु, मुन्धुमहरु याक्थुङ लिम्बु जातिका फेदाङ्मा, साम्बा तथा येबाहरुले अनादिकालदेखि नै गाउँदै आएका छन् । यसरी तिनले ती आख्यानहरुलाई हराउन नदिई जोगाएका पनि छन् । यिनै आख्यानहरुको सँगालो÷समष्टिलाई मुन्धुम भनिन्छ ।मुन्धुम दुइ शब्दको संयोजनबाट ब्युत्पति भएको शब्द हो | ‘मुन’ भन्नाले हल्लिन्नु, चल्नु, चलायमान, गतिशील आदि अर्थ लाग्छ | ‘थुम’ भन्नाले बल, शक्ति भन्ने अर्थ लाग्छ | अद्भुत तर अदृश्य निराकार शक्तिको अर्थाबोधपूर्ण यो ब्रह्माण्डमा उत्पति भएको सारा वस्तुहरु कुनै एक अदृश्य निराकार शक्तिदेखि चलायमान छन् | यसकारण हल्लिरहन्छ वा गतिमान छन् भन्ने बुझिन्छ | मुन्धुमले मुलत चार पक्षलाई समेटेको पाइन्छ | सृष्टि – मुन्धुमले सारा ब्रह्माण्ड, आकाश, पृथ्वी, जल, जीव, पशुपंक्षी र मानव सृष्टिबारे विस्तारमा बताउँछ | संस्कार, संस्कृति – मुन्धुमले संस्कार, संस्कृतिको विकासक्रमबारे वर्णन गर्छ | जीवनपद्दति – मुन्धुमले जीवनपद्दतिको शिलशिला केलाउंछ | धर्म संस्कार एवम् विधि – मुन्धुमले परम्परागत धर्म संस्कार र विधिबारे निर्देशित गर्छ | यी यावत कारणले ब्रह्माण्डको सृष्टिदेखि मानवको विकासक्रमसंगै याक्थुङ लिम्बु आदिवासीको सामाजिक विकासको सजीव इतिहास मुनधुमलाई याक्थुङ समुदायको साझा अनुभवबाट सिध्द् परम्परागत र मौखिक दस्तावेज मानिन्छ | मुन्धुमले मानव जीवनलाई सार्थक र सुरुचिपूर्ण बनाइनुका साथै मानव जीवनलाई सफलतापुर्वक ढंगले डोर्याउदै इमान्दार, चरित्रवान एवम् योग्य नागरिक बन्न प्रेरित गर्छ | सार संक्षेपमा भन्नुपर्दा मिथक र किंवदन्तीले दिएको सार शन्देश नै मुन्धुम हो भन्न सकिन्छ |

मुन्धुमअनुसार जुन दिन सर्वशक्तिमान ईश्वर तागेरा निङ्वाभुमाङले सुली र खरानीले सृष्टिको पहिलो मानिस बनायो र ‘हाऊ’ भनेर बोलाउँदा ‘हाऊ’ भनेर बोल्यो, त्यसरी मानवले सर्वप्रथम वाणी पायो । त्यसपछि केही गुन्गुनाउन थाल्यो र आफूलाई कतै न कतै व्यक्त गर्न थाल्यो । यसरी सृष्टिको पहिलो मानिस ‘मुजिङ्ना खेयङ्ना’ को पालादेखि नै लिम्बू लोकसाहित्यको प्रादुर्भाव भएको पाइन्छ । सृष्टिको पहिलो मानव ‘मुजिङ्ना खेयङ्ना’ र बताससँगको संसर्गबाट जन्मिएको उनको सन्तान ‘सावा युक्पुङ्गेम्बा’ र त्यसका सन्तानहरु ‘तेल्लालामा लाहादङ्ना’ र ‘सुत्छुरु सुहाङ्फेबा’ को पुस्ता पनि हुर्किदै आयो । कालान्तरमा आदिम लिम्बू पुर्खाहरु ‘सावायेहाङ पाङ्भे’ (आदिम लिम्बू गाउँ) मा बसोबास गर्न थाले । यस समयमा प्रशस्त लोकसाहित्य, विकास भयो । लिम्बू लोकसाहित्य भन्नाले लिम्बू लोकआख्यान, लोकनाटक, उखानतुक्का, लोकगीत, लोककथा, लोकसङ्गीत र लोकगाथा, लोकनृत्य जस्ता सम्पूर्ण विद्याहरुको समष्टिगत अर्थ संवहन गर्छ । यिनै लोकसाहित्यलाई याक्थुङहरुले ‘थुङ्साप-पेसाप’ भन्ने गर्छन् | लिम्बु याक्थुङहरुको सामूहिक अनुभव, लोकजीवनको सुख–दुःख, हर्ष–विस्मात, हाँसो, रोदन, जीवन–मरण, आत्मा, लोकको धुकधुकी र जीवनयापनका कर्महरु मुखरित हुँदै एककान, दुइकान, मैदान हुदै फैलिएर आयो | लिम्बू समाज, ज्ञान, विज्ञान, इतिहास, मनोविज्ञान, सभ्यता र पूरै जातीय इतिवृत्ति बुझ्नलाई सर्वप्रथम लिम्बू जातिको मुन्धुम र लोकसाहित्य बुझ्न अपरिहार्य हुन्छ । 

लिम्बु लोक साहित्यको ब्रह्माण्डभित्र लिम्बु लोकवाङ्मयको छुट्टै पहिचान छ | लिम्बु लोक वाङ्मयभित्र पर्ने हाक्पारे, ख्याली, पालाम, ताम्के, तुवा, माङ्साम्लो, पाङ्साम्लो, खाहुन, लालिङ्गेत्/नाम्लिङ्गेत्, माङ्घ, केसाम, खाउ, साक्नात, यक्वा,नुवाप्माहरुको आफ्नैखाले आख्यान परम्पराहरु छन् |लिम्बु जातिका मुन्धुम, आख्यानहरु कृषियुगसंगै सुरु भएको पाइन्छ | कृषीयुगबाटै सुरु भएको लिम्बु लोकवाङ्मयभित्रको अत्यन्तै सुन्दर लोकनृत्यगीत ‘ताम्के’ पनि एक हो |

ताम्के :

‘ताम्मा’ (झाँगिनु-फैलिनु) र ‘केमा’ (तानिनु लगाउनु) बाट दुई शब्दको संयोजन भइ’ताम्के’  भएको हो | ‘तामअके’ शब्दको विशिष्टीकरण गरि समास गर्दाताम्+अके = ‘ताम्के’ भएको देखिन्छ | ताम्के मकै गोड्दा र धान रोप्दा कुसरक्पा नृत्यको कदमसँगै गाइने कृषि गीत हो ।प्राचीन कृषि युगको थालनीमा युवा र युवतीहरूलाई लहरै उभ्याएर सोरोकपा नामक वृद्धले तीन कदम नाच्दै वीस डिग्रीको कोषीय पृथकतामा • लठ्ठी वा घोचाद्वारा युवकहरूलाई डोव वनाउन लाउने र तीन कदम नाच्दै युवतीहरूलाई धान रोप्दै ल्याउन निर्देशन दिदै धान रोपाएर कृषि प्रणालीको थालनी गराएको तथा धान वाली उठाएपछि पाँच, तीन, पाँच कदमले नाच्दै धान झारेको पाइन्छ ।’ त्यसरी नाच्दै रोपाई गराउँदा सुरूमा युवा-यवतीहरूको उत्साह जगाउन सोरोक्पा आफैले नृत्यको तालसँग मिल्ने गरी गीतको प्रारम्भ गरेका थिए ।त्यसरी वृद्धवाट उत्साहित भएकायुवा-युवतीहरू विस्तारै स्वस्फूर्त भएर आफै दोहोरो गीत गाउदै धान रोप्ने युवा-युवतीहरूको अन्तरालसँगै यो क्रम मकै गोड्दा पनि प्रारम्भ भयो । वास्तवमा यही नाच्दै र गाउँदै कृषि व्यवशाय परिचालन गर्ने लिम्बू जातिको लोक परम्परालाई ताम्केभनिन्छ |ताम्केको आख्यानमा विशेष गरेर रोपिएका वा धरतिमा अवतरित गरिएका बीज-वाली विशेषकै सम्मुन्नति र सफलताको कामना गरिएका भर्भावात्मक राग नै अलापिन्छ । तर रोप्ने वा गोडमेलमा संलग्न जोडिहरूमा मनोरन्जनका भावहरू स्फूर्त हुन आएको खण्डमा व्यक्ति विशेषको काम गराइले मुल्याङ्कनवस छेडखानीका गीतहरूले पनि हाना हान गर्ने चलन थियो। छेडखानीको आदानप्रदानमा धान रोप्दा हिलो वा पानी छ्याप्ने र मकै गोड्दा फुक्को माटोले कोदालोवाटै हान्ने जस्तो रोमान्चक क्रियाहरू पनि सँगसँगै अपनाइन्थ्यो । तर त्यसो भए तापनि अन्तमा आएर मेलोमा संलग्न सबै सहभागीहरू लगाइएका वाली वा गोड मेल गरिएका बालिको उत्तम फसल रुत्यसवाट आफू वा वालीधनि सम्पन्न बन्न सकोस् भन्ने कामनाका गीतहरू गाएर नाच्दै मेलोवाट विदावरी लिने गर्थे । ताम्के खेल्ने वीच साइनो सम्वन्ध नलाग्ने भएमा माया, पीरतिको र लाग्ने भएमा काम सम्वन्धिको छेडखानीको गीत प्रारम्भ हुन्छ । युवा वा युवती जसले गीत प्रारम्भ गरे पनि पाँच पंक्तिको गीत एकसरो टुंग्याइन्छ र यतिखेर विश्रामको समय पूरा हन्छ । त्यसपछि पुनः कोदालोको पासो सवैले जुधाउँछन् र ताम्के खेल्ने जोडीहरूले कोदालो फत्त माथि फ्याक्छन् । तर कोदालो भूइँमा नखस्दै च्याप्प समाउनु पर्छ । यदि जोडिमध्ये कुनै एकले खसायो भने अर्कोले एक चपरी माटो उघाएर खसाउनेलाई हिकाउँछ अनि त्यो व्यक्ति हरूवा र अल्छीको गणनामा पर्छ । यसको अर्को आख्यान पनि छ : उहिले धान, कोदो रोप्न र मकै गोड्न युवायुवतीहरूले धेरै नै अल्छी गरे । खेल्ने, शिकार गर्ने जस्ता कार्यमा मात्र उनीहरू तल्लीन हुन थाले । यसले गोड्दागोड्दैको मकै बारी नगोडिने, रोप्दारोप्दैको धानको खेत बाँझिने काम भयो । अन्नअनाज पनि पुग्दो रूपमा फलेन । चाँडै अनिकाल लाग्ने काम भयो । त्यसैले कुसरक्पा नामका एक वृद्धले उपाय निकाले । युवायुवतीलाई गीत गाई गाई, होडबाजी गराई गराई उसले काममा लगायो । रोपाइँ गर्दा एक लहरमा उभ्याएर तीन कदम नाप्दै अर्द्ध गोलाकार फाँटमा एउटा घोचाले डोब बनाउन लगाए र तीन कदम नाच्दै धान रोप्न लगाए । धान पाकेर उठाएपछि फेरि युवायुवतीलाई एक ठाउँ भेला गरेर पाँच कदमले नाप्दै खुट्टाले टेक्दै धान नलबाट झार्न लगाए । गीत र नाचमा बाँधिएर काम गर्दा उनीहरूले घाम डुबेको, काम सकिएको पनि पत्तो पाउन छोडे । यस कार्यले खेतीपातीमा रमाउने, सामूहिक रूपले काम गर्ने भावनाको विकास गयो । अन्नअनाज उत्पादन पनि राम्रो भयो । र, यसरी ताम्के नृत्यगीतको सुरुवात भयो | ताम्के नाच्दा गाउँदा माटोमा उर्बरा शाक्ति होस्, बाली सप्रियोस् र फसल राम्रो होस् भन्ने कामना पनि गरिन्छ । याक्थुङ लिम्बुहरुको सुन्दर नृत्यगीत ‘ताम्के’ लोपोन्मुख अवस्थामा पुगेको छ |

ताम्केको परिभाषा :

धेरै साम्निगेम्बा (Academic) हरुले ताम्के सम्बन्धि परिभाषाहरू दिएको भेटिएको छ |

• विशेष अवशर वसको कृषि व्यवसायको कार्यमा पनि खास गरी धान रोप्दा र मकै गोड्दा कुसरक्पा नृत्यको कदमसँगै गाइने गीत हो | – महाकवी थाम्सुहाङ पुष्प सुब्बा |

• ताम्के धान, कोदो रोप्दा र मकै गोड्दा कुसरक्पा नाचसँग कदम मिलाउँदै छन्दमा गाइन्छ । मकैको एकोहोरे तथा दोहोरे गोडाइमा युवायुवती ताँत लागेर मकै गोड्दै गाईने गीतलाई ताम्के भनिन्छ | – लोकवार्ताकर्मी धनहाङ् सुब्बा |

• ‘ताम्के’ लिम्बू जातिको एक किसिमको मौलिक श्रमगीत हो । धान रोप्दा, कोदो रोप्दा, मकै गोड्दा कुसरक्पा नृत्यसँगै गाइने गीतलाई ‘ताम्के’ गीत भनिन्छ । यसको संरचना २+२+३+२+२+ = १४ अक्षरको हुन्छ । – प्राध्यापक मधुराज केरुङ |

• दम्के खासगरी मकै गोड्दा, बारीको जङ्गल सफा गर्दा कोदालो लिएर पुरुषमहिलाहरूले दल बाँधेर मादलबाँसुरीका साथ नाच्नेगाउने गीतनृत्य हो । यस नृत्यमा कोदालो साटासाट गर्नुका साथै कामको मेलो पनि छिटो सर्छ र थकाइ अनुभव हुँदैन । – आसामिस नेपाली कवि रिजु देवि |

उपरोक्त परिभाषाहरू अध्यन गर्दा लिम्बु लोकवाङ्मयभित्रको गति, यति, लयर चौध अक्षरिय लोकछन्दयुक्त नृत्यगीतलाई ‘ताम्के’ भन्न सकिन्छ |

प्रादुर्भाव :

ताम्केको आख्यानमा कुसरक्पाले गाएपश्चात आधुनिककालमा आइपुग्दा भारत सिक्किमका लिम्बुहरुले ताम्के गाएर प्रस्तुत गरेको पाइन्छ | नेपालमा पहिलोपटक १५ जुलाई २०१९ मा किरात याक्थुङ चुम्लुङ् लिम्बु सांस्कृतिक परिषद केन्द्रीय कार्यसमितिको आयोजना सिसेक्पा तङ्नाम (साउने संक्रान्ति) को अवसरमा चुम्लुङ्हिम ललितपुरमा सागर केरुङको लेखन र सुर्यप्रकाश चेम्जोङको निर्देशनमा मञ्चन भएको नाटक ‘साक्च्योङ्’ मा ताम्के नृत्यगीत प्रयोग भएको थियो | उक्त नाटकमा प्रयोग भएको ताम्के सागर केरुङको शब्द, लय संकलन, यादन सेर्मा र गंगा फियाकको स्वर रहेको थियो | सन् २०२३ मा सागर केरुङको शब्द, लय संकलनमा यादन सेर्मा र गंगा फियाकले गएको ताम्केको वनेम विक्रम फागोको निर्देशनमा म्युजिक भिडियो निर्माण गरि युटुबमार्फत सार्वजनिक भएको छ | सन् २०२४ मा भक्ति आङ्देम्बेको शब्द, लय संकलन र भक्ति आङ्देम्बे र निरंता नेम्बाङको स्वरमा रेकर्डिङ भयो | सोहि ताम्केलाई हाङ् चेम्जोङको निर्देशनमा म्युजिक भिडियो निर्माण गरि युटुबमार्फत सार्वजनिक भएको छ | सुखिम याक्थुङ साम्लो सजुमले १ सेप्टेम्बर २०२० मा अन्तर्राष्ट्रिय ताम्के अनलाइन प्रतियोगिता गरेको थियो | सन् २०१७ मा फक्ताङ्लुङ् सयङ्को आयोजनामा भएको ‘फक्ताङ्लुङ् आइडल सेक्फुङ्-२’ मा पनि हाक्पारे, पालाम, ख्याली हरु संगै ताम्केलाई पनि गाउनुपर्ने गरि व्यवस्थित गरिएको थियो | सन् २०१७ मा मिङ्सो अनलाइनमा युटुब च्यानलमा यासेली योङ्हाङ्को ताम्के सम्बन्धि अन्तर्वार्तामा गएर प्रकाशन गरिएको पाइएको छ |


ताम्के लोकगीत :

मनुखेका सुख, दुःख, पीडा, उमङ्ग र सम्पूर्ण लोकजीवनको अनुभव र अभ्यासलाई समेटिएको कलात्मक साङ्गीतिक अभिव्यक्तिलाई लोकगीत भनिन्छ । यो सरल, बोधगम्य र लोकप्रिय हुन्छ । यसलाई लोक संस्कृतिको अभिन्न अङ्गका रूपमा समेत लिइन्छ ।एउटा पूर्ण लोकगीत हुनका लागि आवश्यक पर्ने अङ्गहरूलाई(संरचनालाई) लोकगीतको तत्वको भनिन्छ । तपशिल लोक गीतको तत्वहरु अध्यन गर्दा ताम्के पनि लोकगीतमा पर्दछ |

भाका – लोकजीवनमा गीत गाउने खास तौरतरिका वा शैली नै भाका हो । लोकगीतको शैली भनेको मुख्यतः लोकगीतको गायन वा कथन शैलि वा तरिका हो । कुनै विषय वा विचारको कथन गर्न अंगालिएको ढङ्ग पिन लोकगीतको शैली हो । भाषै पिच्छे, ठाउँवैपच्छिे भाका फरक हुन सक्छन् । एउटै भाषाका लोकगीतमा पनि फरक ठाउँमा फरक फरक भाका हुनसक्छन् । यस दृष्टिले भाका भनेको लयको सूक्ष्म र स्थानिय वा क्षेत्रगत भेद हो । भाकाले लोकगीतलाई अझ विशिष्ट तुल्याउँदछ । लोकभाकाले स्थानीय ठाउँको, क्षेत्रको प्रतिविम्ब देखाउदछ । जुन ठाउँ, क्षेत्रको लोकभाका हो त्यसले त्यसै ठाउँ, क्षेत्रको पहिचान झल्काउदछ ।

भाषा – अभिव्यक्तिको प्रमुख माध्यम भाषा हो । लोकगीत पनि भाषाका माध्यमबाट प्रकट हुन्छ । त्यसैले लोकगीत पनि एक प्रकारको भाषिक अभिव्यक्ति हो । लोकगीतको  भाषिक अभिव्यक्ति लयात्मक हुन्छ । लोकगीतमा लोकले प्रयोग गर्ने भाषाको प्रयोग भएको हुन्छ  । लोकगीत भाषिक अभिव्यक्तिको कला हो । लोकगीतको उत्पत्ति पनि भाषिक प्रयोगसँगै भएको हो । भाषाविना लोकगीतको रचना असम्भव छ ।

कथ्य –लोकगीतको गायकले लोकगीतमा कुनै न कुनै भाव व्यक्त गरेको हुन्छ । लोकगीतमा कैयौँ अर्थहीन शब्द वा पङ्क्तिहरूको प्रयोग हुन सक्ने भए पनि हरेक लोकगीतमा कुनै न कुनै कथ्य, वा समष्टि भाव व्यक्त भएकै हुन्छ । यसलाई विषय बस्तुको रूपमा लिन सकिन्छ । लोकगीतमा भाव र कथ्यकै माध्यमबाट सन्देश वा जीवन दर्शन समेत उपलब्ध हुन्छ । लोकगीतमा जे भनिन्छ त्यो नै कथ्य वा भाव हो । लोकगीतमा यो वा यस्तै कथ्य हुन्छ भन्न सकिन्न तापनि लोकजीवनका विविध पक्ष, विचार र विश्वासहरू लोकगीतमा कथ्य वा भावका रूपमा व्यक्त भएका हुन्छन् । मायाप्रीति, मिलनविछोड, हर्षविस्मात्, सुखदुःख, मेलापात, खेतीपाती, चाडपर्व, संस्कार, उकालीओराली आदि लोकगीतका कथ्य हुन् ।

लय – लोकगीतमा लय अनिवार्य तत्व हो । दुइ क्रिया विचको समय लय कहलाउँदछ । घडीको सुइको पहिलो झड्का एक सेकेण्डमा भयो र दोस्रो झड्का डेड सेकेन्डमा भयो भने सङ्गीतको भाषामा त्यो लय विग्रिएको मानिन्छ । जव घडिको सुइ प्रत्येक झड्का १ सेकेण्डका दरले बड्छ अर्थात समान रूपमा चल्छ तब सङ्गीतको भाषामा लय मानिन्छ । द्रुत लय, मध्यलय र विलम्बित लय गरी लय मुख्य तीन प्रकारको हुन्छ ]। समयको समान चाललाई लय भनिन्छ ।

ताल – संगीतमा समय नाप्ने साधन वा यन्त्रलाई ताल भनिन्छ । जसरी भाषाको लागि व्याकरणको आवश्यता पर्दछ त्यसै गरी संगीतमा तालको आवश्यकता पर्दछ । समयको नापलाई ताल भनिन्छ ।गायन वादन वा नृत्यको समय नाप्ने क्रियालाई ताल भन्दछन् । ताल विभिन्न प्रकारहरु हुने गर्दछन् |

ताम्के लोकनृत्य :

लोकजीवनमा प्रचलित सांस्कृतिक परम्परा तथा परिपाटीअनुसारको नाच वा लोकनाचलाई लोकनृत्य भनिन्छ | नृत्य लालित्य गुण युक्त कला हो । यसका विभिन्न तत्वहरु रहेका हुन्छन्। लोकनृत्यका संरचक तत्वहरु के के हुन् भनेर यस विषयमा धेरै मन्थन भएको पाइन्छ। पुर्वीय नृत्य शास्त्रमा नृत्यका तत्वका रुपमा गीत, वाद्य र अभिनयलाई लिइएको छ। यी तीन तत्वको त्रिवेणी नै नृत्य हो। भरतले नाटयशास्त्रमा गीत संगीत, अभिनय, रस, नायकनायिका, रंगमंच आदिलाई नृत्यको अनिवार्य तत्व मानेका छन्। केही नृत्यशास्त्रीहरुले भने गीत, वाद्य र अभिनयलाई मात्रै महत्व दिएका छन्।पश्चिमी नृत्य शास्त्रका विश्लेषक वाल्टर सरेलले नृत्यमा ताल र लयको अंगसँग चारी (खुटटाको चाल), अभिनय मुद्रा (हातको चाल), संगीत प्रविधि, गतिशीलता गत्यात्मकता, पाइला (कदम) चाल्नु, गीत, तालिम, पोशाक र गरगहना, स्वरलिपी लगायतलाई तत्वकोरुपमा मानेका छन् | उपरोक्त सबैखाले नृत्य र लोकनृत्यहरु अध्यन गर्दा ‘ताम्के नृत्य’मा लोकनृत्यको मुक्सिहरु (Elements) भेटिन्छ |

ताम्के लोकलय :

लोकगीतमा स्वरगठनलाई लय भनिन्छ र लयको दोस्रो रूप लोकगीत गाउने शैली पनि हो। लोकगीतको सिर्जनामा गेय गुण हुनाका कारण यो विभिन्न लयमा उनिएर लोकको कण्ठ–कण्ठमा पुग्ने गर्छ । यसैकारण लोकगीतमा लोकलयको महत्व हुन्छ । लयहरु भूगोल र जातिको आधारमा हुन्छ | भाकाभित्र स्वर र लय रहेको हुन्छ भने लयभित्र ताल र मात्रा आदि हुन्छ।ताम्केको लय संकलन मात्रै हुन्छ, शृजना हुँदैन | रचयिताले लोकमाससँग तादात्म्य राख्छ र समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै चीज भन्न थाल्ने व्यक्तित्वहीन रचना गर्छ । त्यही रचना लोकको आफ्नो लय हुन्छ, जुन लय परम्परामा गाँसिन्छ र परम्पराले समय—समयमा अनुकूल परिवर्तन गर्दै रहन्छ  । जुन समाजमा परम्परादेखि गाउँदै र चल्दै आएको लय लोक लय हो। लोकलय भनेको  लोक  जीवनको रागात्मक स्वतःस्फूर्त लयात्मक अभिव्यक्ति हो । यसमा लोक जीवनको दुःखसुख, आँसु—हाँसो, आशा—निराशाका साथै लोकका चाल चलन, विधि व्याहार, आस्था र मान्यताहरूको चित्रण हुन्छ । लोकलय कुनै पनि स्थानका जाति, समाजबाट जन्मेको हुन्छ । त्यस लोकलयमा त्यसै स्थानको रहनसहन, चाडपर्व, उत्सव, रीतिरिवाज, संस्कृकितआदिको वर्णन पाईन्छ । लोकलय कुनै पनि जाति, स्थान, समाजको साझा सम्पत्ति हो । ताम्के गीतको लय लिम्बु समुदायको साझा लय हो |

ताम्के लोकपेन्युख:

गाउँघरमा घाँस–दाउरा, पानी पँधेरीहरुमा पानी भर्दा, मेलापात गर्दा र विभिन्न चाडपर्व र उत्सवहरु मनाउँदा लिम्बू–लिम्बूनीहरुले छन्दोबद्ध मौखिक रुपमा वाचन गर्ने साहित्य नै लोकछन्द हो । लोकछन्द सरल र सहज भाषाशैलीमा प्रतिध्वनित भएको हुन्छ । लिम्बूहरुले शदियौंदेखि श्रुतिस्मृतिमा आजतक जीवन्त राख्दै आइरहेका छन् । निश्चित वर्ण र मात्रामा आधारित सुर या लयलाई पेन्युख (छन्द) भनिन्छ | छन्द संस्कृत शब्द हो, जसलाई लिम्बु भाषामा पेन्युखले चिनिन्छ | संस्कृत छन्दको सवैभन्दा प्रचलित प्रयोग पिङ्गल हो, जसअनुसार अनुष्टुप, विद्युन्माला, इन्द्रवज्रा, उपेन्द्रवज्रा, उपजाति, वंशस्थ, स्रग्विणी, स्वागता, भुजङ्गप्रयात, तोटक, द्रुतविलम्बित, वसन्ततिलका, मालिनी, पञ्चचामर, मन्दाक्रान्ता, चित्रवतीहरिणी, चित्रलेखा, शिखरिणी, शार्दूलविक्रीडित, स्रग्धरा, आर्या, शालिनी, ललिता, पृथ्वी र मञ्जुभाषिणी छन्द हुन् । यिनीहरुलाई संस्कृत वा नेपालि साहित्यले नै छन्दको प्रकारका रुपमा मानेका छन् भने लिम्बुमा हाक्पारे, पालाम, ख्याली, ताम्के, तुवा, पाङ्साम्लो, खाहुन, लालिङ्गेत्/नाम्लिङ्गेत्, खा?उ, माङ्घ, नुवाप्मा, हाम्लाक्वा, मुन्धुम लगायत विभिन्न प्रकार छन् | विभिन्न विद्वानहरुको छन्द सम्बन्धि अध्यन र भनाइहरु अध्यन गर्दा ताम्केमा पनि लोकछन्दका तत्वहरु भेटिन्छन |

ताम्केको तत्वहरु :

(क) पेन्युख :ताम्केको महत्वपूर्ण तत्व नै पेन्युख हो |शास्त्रीय तथा लोक वाङमयको पद्धतिले निर्धारण गरिल्याएका लेखन वा वाचन पद्धतिहरूलाइ पेन्युख भनिन्छ | यसमा गति, यति मिल्नुपर्दछ | ताम्के पेन्युख १४ अक्षरको हुन्छ | १४ अक्षरले निर्मित गीतहरू पांच-पांच लहरमा टुंगिन्छन् । गीतको प्रारम्भिक थालनी पछि मकै गोड्दा युवा-युवतीको मिश्रित लहर नहुने हुनाले समुहगत रूपमा युवा समुहले वेग्लै र युवतीको समुहले वेग्लै गाउने गर्छन् । यसमा पनि गीतको प्रारम्भ एक जनावाट हुन्छ र पालाममा जस्तै अरू सहयोगीहरूले उचाल्ने गर्छन् । ताम्के गाउनेले काफिया दोहोर्याउछ | काफिया पछी पनि ‘ए..’ शब्द उचारण हुन्छ  | चुक्सक, केम्फ्रेड, सई र मुक्फ्रेङ्को गणना भएको हुँदैन र गायनको क्रममा आउने ‘ए…!’ अक्षरको छन्दोबढ्द गणना हुदैन | साम्लोको अन्तिम पाउमा प्रयोगमा आएका दोहोरो शब्दहरू भने पंक्तिको अर्थ युक्तका लागि ‘काप्फेक्वा’ नठहरी वर्ण गणनामा परेका हुन्छन् |

(ख) लय :लय ताम्केको महत्वपूर्ण तत्व हुन् र लिम्बु लोकवाङ्मयमा यसको आफ्नैखाले अस्तित्व छ | परम्परादेखि एककान, दुइ कान, थिकमुरा, चक्मुरा, पेम्मुरा हुँदै बाच्दै आएको ताम्के लय भूगोलअनुसार केहि फरक आउन सक्छन् | आधुनिक विज्ञान र प्रविधिको प्रयोगले सिण्डिकेट लगाएता पनि वाद्यवादन परिवर्तन गर्न सकिन्छ तर ताम्केको मौलिकता परिवर्तन गर्न पाइन्दैन |

(ग) आख्यान : ताम्केको मौलिकता आख्यानमा बाँचेको हुन्छ | कृषि गीत भएकोले यसको आख्यान कृषिसंग सम्बन्धित हुन्छ | उपआख्यानहरु बाहेक बिषयवस्तु बङ्ग्याउनु हुदैन | खासगरी रोपिएका, गोडिएका अन्नअनाजहरु घामपानी, हावाहुरी, बाडीपहिरोले नबिगारोस भनेर कामना गरिन्छ | साइनो नालाग्नेहरुविचमा माया प्रीतिका छेडछाडहरु पनि हुने बताइन्छ | दस्त्वावेजकोरुपमा रहने लेखन, गायन वा भिडियो निर्माणमा ताम्केको मौलिकतालाइ ध्यान दिनुपर्दछ | भिडियोहरु निर्माण गर्दा यसको भूगोलललाइ ख्याल गर्नुपर्छ | विशेषगरे यसले फक्ताङ्लुङ् देखिने पहाडी भूगोल, खेतबारीहरुनै उपयुक्त ठान्छ |
निष्कर्ष :

लिम्बू लोकवाङ्मय, लोकसाहित्य, लोकगीत र लोकलयहरुको स्रोत मुन्धुम हो । मुन्धुमको गहिरो अध्यन नगरिकन लोक गीत संगीतहरुको गहिराइमा पुग्न सकिन्दैन | ताम्केको बिषयमा अध्यन नै नगरी भईरहेको लेखन, गायन र भिडियो निर्माण कार्यले ताम्केको मौलिकता मारिरहेको बुझिन्छ |

(लेखक लिम्बु भाषामा सिक्किम अल्पाइन युनिभर्सिटीबाट पहिलो डिग्री गर्ने बिधार्थी हुन)

सन्दर्भ सामग्री :

·काइला बैरागी – नाङ्वा चइत मुन्धुम

·लाओती येहाङ् – आदिवासी लिम्बु जातिको संक्षिप्त परिचय

·थाम्सुहाङ पुष्प सुब्बा – याक्थुङ पेन्युक्खा

·सुब्बा धनहाङ् – लिम्बु लोकवार्ता

·केरुङ सागर – सक्सा नु पेन्युख

·लाओती थाङ्साङ् – मुन्धुम परम बिज्ञान

·केरुङ मधुराज – लिम्बू लोक छन्दको अन्वेषण

·पौड्याल, कृष्णप्रसाद – नृत्यका विशेषताहरु

·आङ्बुङ् डीबि – साम्जिक मुन्धुम (सम्पादक)

·प्रा.डा. रावल बेनी जंगम – लोकगीतको आलोक

·केरुङ सागर – मुन्धुमी लोकनाटक

·बन्धु चुडामणि – नेपाली लोक साहित्य

·केरुङ मधुराज – लिम्बु लोकपधमा केसामको अध्यन

· केरुङ सागर, याक्थुङ साप्सकरेन् साप्मुन्धुम

· चेम्जोङ इमानसिङ, किरात साहित्यको इतिहास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here