उत्सवको उद्देश्य लेखक, पाठक र प्रकाशकबीचको दूरी घटाउँदै प्रत्यक्ष संवादको वातावरण निर्माण गर्नु रहेको संयोजक छेवाङ योञ्जनले बताए ।

काठमाडौँ, २० असोज । नेपाली पुस्तक, साहित्य र पठन संस्कृतिलाई केन्द्रमा राख्दै भारतको सिलगढीमा शुक्रबारदेखि दुईदिने ‘हिमाली किताब उत्सव’ आयोजना हुने भएको छ।

हिमाली पब्लिसर्स एण्ड बुकसेलर्स गिल्डको ब्यानरमा हाम्रो किताब घर र सेलेमेण्डर इम्प्रिण्टको विशेष पहलमा हुने उत्सवमा सिक्किम, दार्जिलिङ, कालेबुङ, असम र नेपालका लेखक तथा कविहरू सहभागी हुने आयोजकले जनाएको छ।

उत्सवमा साहित्यिक बहस, कविता वाचन, गजल गायन तथा नाटक प्रदर्शनीसँगै विभिन्न प्रकाशनगृहका नेपाली पुस्तकहरूको प्रदर्शनी तथा बिक्रीसमेत गरिनेछ। कथालय, एकता बुक्स हाउस, द बुक्स, चरित्र प्रकाशन, लालिमा परिवार, बुक–आण्ट, हाम्रो किताबघर, मध्यमार्ग, ज्ञानकला र लालीगुराँसलगायतका प्रकाशन तथा पुस्तक व्यवसायीले सहभागिता जनाउनेछन्।

उत्सवको उद्देश्य लेखक, पाठक र प्रकाशकबीचको दूरी घटाउँदै प्रत्यक्ष संवादको वातावरण निर्माण गर्नु रहेको संयोजक छेवाङ योञ्जनले बताए। उनका अनुसार अनलाइन माध्यमबाट पाठकसँग जोडिए पनि वर्षमा एकपटक प्रत्यक्ष भेटघाट र संवाद गर्ने अवसर सिर्जना गर्न उत्सव आयोजना गरिएको हो।

“साहित्यसँग लगाव राख्नेहरूका लागि यो दसैँअघिको अर्को दसैँ हो। यसपटकको दसैँ किताबसँगै सुरु गर्न चाहन्छौँ,” योञ्जनले भने। उनले पाठकलाई सहज रूपमा पुस्तक उपलब्ध गराउने, छुटसहित किताब बिक्री गर्ने र प्रकाशकहरूलाई सामूहिक रूपमा अघि बढ्न सहयोग गर्ने उद्देश्यसमेत रहेको बताए।

क्षेत्रीय प्रकाशनगृहहरूले आपसी सहकार्य गर्दै पठन संस्कृतिको विकासमा जोड दिनुपर्ने संयोजक राजा पुनियानीले बताए। राष्ट्रिय स्तरका ठूला प्रकाशन गृहको प्रभाव बढिरहेका बेला क्षेत्रीय प्रकाशनगृहहरू सामूहिक रूपमा अघि बढ्नुपर्ने उनको भनाइ छ।

उत्सवमा ‘किताब र समय’, ‘प्रकाशनको घामछाया’, ‘अनुभवमा अनुवाद’, ‘पठन र समाज’ तथा ‘मेचीवारि मेची पारि’ लगायतका विषयमा लेखक, प्रकाशक तथा साहित्यकर्मीबीच बहस हुनेछ।

नेपालका सर्जकलाई केन्द्रमा राखिएको ‘मेचीवारि मेची पारि’ संवादमा प्रकाश थाम्सुहाङ, चन्द्र गुरुङ र पर्वत पोर्तेलसँग प्रवेश हाङ्खिमले संवाद गर्नेछन्। त्यस्तै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा निबन्धकार दीपक सापकोटा, कवि ज्ञानेन्द्र खतिवडा, अधिवक्ता तथा चिन्तक अत्री शर्मा, सम्पादक शिबु छेत्री, कवि डा. खिलानाथ शर्मा र पत्रकार राहुल सम्भवी सिन्हालगायतले समकालीन विषयमा विचार राख्नेछन्।

कविता तथा गजल वाचनलाई समेत विशेष आकर्षणका रूपमा राखिएको उत्सव सिलगढीको गुरुङ बस्तीस्थित भानुभक्त समितिको भवनमा आयोजना हुनेछ।

आयोजकले पुस्तक तथा साहित्यप्रेमी सबैलाई उत्सवमा सहभागी हुन आह्वान गरेको छ ।

प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com