काठमाडौं ।

जेनजी मुभमेन्ट अलायन्स’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गर्दै दबाब पत्र (निवेदन) बुझाएको छ।

अलायन्सले भदौ २३ गतेदेखि सुरु भएको जनेजी आन्दोलनका मुख्य मागहरू भ्रष्टाचार र दण्डहीनताको अन्त्य पूरा गर्न अख्तियारमा निष्पक्ष, स्वतन्त्र र सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै अख्तियारका हालका पदाधिकारीहरूबाट यो कार्य सम्भव नभएको जिकिर गरिएको छ । 

मंगलबार आयोगमा दर्ता गरिएको दबाब पत्रमा भनिएको छ, ‘अख्तियारका प्रमुख आयुक्त र अन्य आयुक्तहरूको नियुक्ति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशमार्फत संसदीय सुनुवाइ विना गरेको थियो, जसले निष्पक्षतामा गम्भीर प्रश्न उठाउँछ।’

पत्रमा प्रमुख आयुक्त राईका काम राजनीतिक रूपमा पक्षपाती रहेको र उनी वाइडबडी घोटालालगायतका विवादमा मुछिएको आरोपसमेत लगाइएको छ। साथै विशेष अदालतले समेत अख्तियारको कार्यप्रणालीमाथि प्रश्न उठाएको भन्दै आयोगको नेतृत्वले जनविश्वास गुमाएको टिप्पणी गरिएको छ।

‘भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा तपाईंको नेतृत्वमा निष्पक्षता सम्भव छैन,’ भन्दै पत्रमा राईलगायत सम्पूर्ण आयुक्तलाई नैतिकताको आधारमा तत्काल राजीनामा दिन आग्रह गरिएको छ।

अलायन्सले देशभरका ३९ जिल्लाका १२ वटा समूहका प्रतिनिधिहरूको हस्ताक्षर सहित यो निवेदन बुझाएको जनाएको छ।

प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com